प्रम ओली अब कमेडियन !

– आरती शर्मा
काठमाडौं। कामचलाउ प्रधानमन्त्री केपी ओलीको भद्दा र क्षुद्र भाषणले उनको रुपान्तरण चटकेका रुपमा भएकोछ । सार्वजनिक कार्यक्रममा नेता कार्यकर्तालाई सम्बोधनगर्दा उनको ‘बडी ल्याङ्वेज’ र हास्य मन्तव्यले उनलाई कमेडियन सावित गरेको छ ।

पदीय गरिमा बिर्सेर ओलीले दिएका क्षुद्र मन्तव्यलाई प्रबुद्धवर्ग एवं बुद्धिजीविले ‘मनोरञ्जक’ भएको टिप्पणी गरेका छन । केही नेता कार्यकर्ता बाहेक अन्य व्यक्तिले उनको भाषणलाई ‘सस्तो लोकप्रियता’ कमाउने ट्रीकको संज्ञा दिएका छन् ।

समाजशास्त्री निर्मला ढकाललाई प्रधानमन्त्री ओलीको भाषण रुचिकर लागेको छैन । सामाजिक सञ्जालमा उनी लेख्छिन, प्रधानमन्त्रीज्युको मूर्खताले ‘जनयुध्दको घाउ’ पनि नेपाली जनताका लागि सानो सावित भए जस्तो लाग्न थाल्यो ! यही पाराले त सात बल्ड्याङ् खाने निश्चित छ है !

वीर अस्पतालका बरिष्ठ कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले प्रधानमन्त्री ओलीको भाषण शेयर गर्दै लेखेका छन, आजको कपिल शर्मा शो फ्लप हुने भो । त्यस्तै भाइरोलोजिष्ट डा. लुना भट्टको सुझाव छ, यी बा (केपी ओली) लाई दिन भरिको एकोहोरो प्रबचन वा लाइभमा धित मर्ने गरी बोल्न दिए हुने ।

पत्रकार राजाराम गौतमको दृष्टिमा पनि कामचलाउ प्रधानमन्त्री केपी ओलीको भाषण कपिल शर्माको शो हेरे जस्तै छ । उनले पनि सामाजिक सञ्जालमा लेखेका छन, कामचलाउ प्रधानमन्त्रीज्यू, अदालतले चिने पनि नचिने पनि जनताले चाहीं नेपाली राजनीतिका ‘चार्ली च्याप्लिन’ भनेर चिनी सके ! मज्जा आयो, भाषण सुनेर ‘कपिल शो’ हेरेजस्तै ।

नेपाल सरकारका पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले स्ट्याण्ड अप कमेडी ! सिजन २ ! अपार सफलता साथ !! भन्दै संक्षिप्त तर चोटिलो टिप्पणी गरेका छन् । त्यस्तै पूर्व अर्थ सचिव शान्तराज सुबेदीको टिप्पणी छ, जनतालाई निःशुल्क मनोरञ्जन तर वाक्कै लाग्दो !