रुपान्तरणको कालिकभाष्य

२०३९ सालमा किशोर नेपाल भाइको सानो तर अत्यन्त सटिक निबन्धहरुको संग्रह निस्कियो, ‘चिन्ताका क्षणहरु’। यो संग्रहका १४ निबन्धले मलाई त्यही बेला खिचेका थिए, त्यसमा पनि ‘यो काठमाडौं, हाम्रो काठमाडौं’ शीर्षकको निबन्धलाई मैले निकैपटक दोहोर्‍याएर पढेँ। सन्दर्भ पनि सटिक थियो। त्यो बेला म यो काठमाडौं शहरको विषयमा अनेकौं कुरा लेखिबस्थेँ।

म एउटा आत्मस्विकृतिले लेख्छु। मलाई यो निबन्धले निकै प्रभावित पारेको हो। खासगरी, एउटा नागर परिवेश, यसको ‘क्वाँटी’ स्वरुप अनि यसभित्र नाटकीय ढंगले सँगै बसेका विरोधाभासहरुका वर्णनले मलाई खिच्यो। किशोर भाइले ‘रुपान्तरण अनलाइन पत्रिका निकाल्न लागेको छु, यसको कालिक सन्दर्भमा केही शब्द लेखेर पठाइदिनु’ भन्ने प्रस्ताव गरेपछि मैले जतन गरेर राखेका किताबका  संकलनबाट त्यही निबन्ध झिकेर फेरि पढेँ। रुपान्तरण शब्द मात्र होइन, हामीले नित्य भोगेको र आफ्नो समय टुक्र्याएर दिँदै बनाएको बदलिँदो परिस्थिति पनि हो।

आज ३७ वर्षपछि नेपाल शहरमा प्रतिबिम्बित रुपान्तरणको चित्र किशोर भाइले त्यो बेला खिचेका शब्दका कलेवरमा यस्तो छः

‘यो शहरका मान्छे पानी र दूधको सपना देख्छन्। शहरमा दूधको लाइनमा घाम झुल्कन्छ र लोडशेडिङ जस्तै वाटरशेडिङ चलेको बेला मूल फुटेका ढुंगेधारा खोज्दाखोज्दै बिहान सकिन्छ। तर, अधिकांश ढुंगेधाराहरुको स्थिति अपहेलित बूढाको जस्तै छ, जोसँग परिपक्व सल्लाहको बेला मात्र भलाकुसारी गरिन्छ।’

किशोर भाइले बयान गरेको त्यो सुन्दर सानो काठमाडौं नछोडी त्यहीँभित्रै सुरक्षा गार्डका साइरन बजाएर देशका होनहार मानिसहरु कुद्छन्। शहर बाहिर फैलेको छैन, निबन्ध भन्छ। ठीक भन्छ।

अनि फेरि यस्ता वाक्य लेखिएका छन्ः ‘शहर यसका गल्ली र सडकहरु जत्तिकै साँगुरो छ। कस्सिएर हिँड्नेका लागि कहीँबाट कहीँ पुग्न पनि आधा घण्टा लाग्दैन। विमानस्थल त्यहीँ छ र पशुपतिनाथ पनि त्यहीँ छन्। तर पनि यस्तो लाग्छ– काठमाडौं टाढा–टाढासम्म फैलिएको छ र साह्रै विस्तृत छ’ (पृष्ठ ४३)।

यस निबन्धको भाष्य र यसका बिम्बमा देखिने काठमाडौंलाई आजको काठमाडौंसँग तुलना गरेर कस्तो रुपान्तरण भएछ भनेर हेर्दा देखिने चित्र र बोधगम्य भावलाई विचार गर्नुपर्छ। त्यो शहरको आयतन बढेको छैन तर त्यो विशाल शहर भएको छ। निबन्धमा भने जस्ता ठाउँहरु नजिकनजिकै छन्। त्यत्ति नै ठाउँमा, तर आज त्यहाँ सितिमिति पुगिँदैन। त्यत्ति शहरभित्र कुद्न वा अड्किन खर्चिला ब्राण्डका कारहरु आएका छन्। त्यत्ति नै आयतनभित्र कुद्न करोडौं व्यय गरेर कारहरु किनिएका छन्।

किशोर भाइले बयान गरेको त्यो सुन्दर सानो काठमाडौं नछोडी त्यहीँभित्रै सुरक्षा गार्डका साइरन बजाएर देशका होनहार मानिसहरु कुद्छन्। शहर बाहिर फैलेको छैन, निबन्ध भन्छ। ठीक भन्छ। तर, त्यही परिवेशभित्र सानो शहर, राजधानी, नागर संस्कृतिको भ्रम त्यहाँदेखि यहाँसम्म देखिएको जे छ, नेपाल देशको रुपान्तरणको सक्कल हो। यो प्रतीकात्मक हो।

एक वरिष्ठ लेखक, निबन्धकार, पत्रकार र कविले फेरि निकाल्न लागेको डिजिटल पत्रिकाको नाम ‘रुपान्तरण’ हुनु त्यसैले महत्वपूर्ण छ। अबको रुपान्तरणको सही खोजीको एउटा कडीका रुपमा लिएको छु।

सीमित आयतनभित्र कहीँ नपुगी चलायमान हुनु र भएभरका नाटक गर्नु हाम्रो रुपान्तरण भएको छ। बाहिरबाट कुनै जलधारा ‘यो काठमाडौं, हाम्रो काठमाडौं’मा आउने हल्ला र योजनाले निबन्धमा भनेको आयतन त्यत्तिभित्र नै हामीले बेस्सरी खन्यौं। धुलाम्य, खाडल, हिलो र विस्थापनका चित्र त्यही मेलम्ची भनिने प्रतीक्षाको नाम हो। देशैभरि प्रतीक्षाका अपूर्ण स्वरुपहरु देखिन्छन्।

नेपालको भौतिक रुपान्तरण हाम्रो मानसिक रुपान्तरणमा प्रतिबिम्बित हुन्छ। त्यसैले अहिले हामीले खोज्ने रुपान्तरण एक आयामिक मात्र हुनु हुँदैन।

एक वरिष्ठ लेखक, निबन्धकार, पत्रकार र कविले फेरि निकाल्न लागेको डिजिटल पत्रिकाको नाम ‘रुपान्तरण’ हुनु त्यसैले महत्वपूर्ण छ। अबको रुपान्तरणको सही खोजीको एउटा कडीका रुपमा लिएको छु, मैले यसलाई।

शुभकामना!

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री