कला र जीवन : रंगमञ्चले रातारात परिवर्तन ल्याउँछ भन्नेमा मेरो विश्वास छैन– अनुप बराल

अनुप बराल समकालीन नेपाली नाटक र सिनेमाका प्रबुद्ध निर्देशकका रुपमा परिचित छन्। यी प्रतिभाशाली कलाकारका नाटक यथार्थवादी हुन्छन्। सिनेमामा उनी प्रयोगवादी छन्। अनुप भन्छन्, ‘थिएटरमा प्रयोगात्मक कर्म गर्न धेरै बाँकी छ।’ उनको आफ्नोपन चाहिँ अभिव्यक्तवादी हो। नाटकको एउटा मुख्य धारका प्रतिनिधि कलाकार अनुपका विचारहरु नै उनको पहिचान हो। अनुपसँग रुचि श्रेष्ठको वार्ता :

  • नेपाल सांस्कृतिक हिसाले विविधताको धनी देश हो। नाटकमा थुप्रै प्रयोग भएका छन् यहाँ। तैपनि, नेपाली नाट्यक्षेत्रले किन आफ्नो शैली, धार र प्रवृत्ति स्थापित गर्न सकेको छैन ?

लिपिबद्ध लोकनाटकलाई ‘कन्टेन्ट’ का रुपमा रंगमञ्चमा ल्याएर अभिव्यक्त गर्ने र सँगसँगै लोकनाटकका तत्वहरुलाई आधुनिकीकरण गरेर अहिलेको समयसँग जोड्ने काम त भएका छन्। पछिल्लो समयमा विशेष संस्कृतिसँग जोडिएका नाटक पनि हेर्न पाइएको छ। तर, कुनै ‘फर्म’ लाई समातेर त्यसलाई विशिष्ट पहिचानका रुपमा स्थापित गर्न अभ्यास पुगेको छैन जस्तो लाग्छ। कुनै सर्जकले कुनै एउटा ‘फर्म’ समातेर काम गरिरहेको छ भने त्यसमा लगातार काम गरिरहनुपर्दछ। त्यसरी काम गर्न स्रोत चाहिन्छ। स्रोतको अभाव छ हामीकहाँ। यही कारण हो, विद्यमान परम्पराको अभ्यास गर्ने मानिसहरु लोपोन्मुख छन्। यसमा ग्लोबलाइजेशनपछिको आर्थिक चेतनाको प्रभाव परेको पनि हामी देख्न सक्छौं। हामी पाठ्यक्रममा शेक्सपियरदेखि हेनरिक इब्सेन र आर्थर मिलरसम्म पढ्छौं। हाम्रो पढाइमा मूल रुपले भारतीय संस्कृति र कृतिहरुको प्रभाव छ।

कुनै एउटा शैलीमा काम गर्नका लागि कलाकारले रिसर्चका लागि समय निकाल्नुपर्‍यो। त्यो समयलाई आर्थिक रुपले धान्न सक्ने हैसियत हुनुपर्‍यो।

  • तपाईंको थिटर स्कूलिङ भारतमा भएको हो। त्यहाँ नाटकको पृष्ठभूमि कस्तो हुन्थ्यो ?

त्यतातिर सबै किसिम र शैलीका नाटक पढाइन्छ। बाहिरका विशेषज्ञहरु पनि आएका हुन्छन्। शास्त्रीय र परम्परागत शैलीका जानकार शिक्षकहरु पनि राखिएका हुन्छन्। मेरा लागि त्यो स्वर्णिम अवसर थियो, जहाँ मैले संसारका सबै शैली अध्ययन गर्न पाएँ। नेपाल फर्केर यहाँ केको अभाव रहेछ भनेर हेर्दा थाहा पाएँ कि हामी शैलीलाई समात्दा रहेछौं। तर, हामी त्यसको विकासमा लाग्दा रहेनछौं। शैलीलाई छुँदा मात्रै रहेछौं।

जस्तै, पोखरातिर बालन शैली लोप हुने स्थितिमा छ। पूर्वको धान नाचमा धिमालको संस्कृति छ। भोजपुरीहरुको शैली विदेशिया छ। यी सबै शैलीमा छ हाम्रो मौलिकता। यसको विकासका लागि विभिन्न शैलीमा समर्पित भएर लाग्ने व्यक्तिहरु चाहिन्छन्। तर, यी शैली विकसित गर्न हामीसँग पर्याप्त स्रोत र दर्शक छैनन्। सरकारले सहयोग गर्दैन। कुनै एउटा शैलीमा काम गर्नका लागि कलाकारले रिसर्चका लागि समय निकाल्नुपर्‍यो। त्यो समयलाई आर्थिक रुपले धान्न सक्ने हैसियत हुनुपर्‍यो। सरकार वा सम्बद्ध संस्था/प्रतिष्ठानहरुले यसबारे चासो लिएका छैनन्। यसो भनुँ,  मैले चासो लिएको देखेको छैन। राज्यको सांस्कृतिक दृष्टिकोण नै छैन।

अहिले त हामी रंगमञ्चमा दुईथरी अभ्यास गरिराखेका छौं। कस्तो नाटक आउँदा कति दर्शक आउँछन् भन्नेमा ध्याउन्न छ हाम्रो।

  • भारतीय रंगमञ्चको अभ्यासले मौलिकतालाई कसरी धानेको छ ?

त्यहाँ दुवै किसिमको रंगमञ्च छ। शास्त्रीय रंगमञ्च एकातिर छ भने अर्कोतिर पश्चिमी प्रभावमा ढालिएका रंगमञ्च छन्। पछिल्लो समय समकालीन रंगमञ्चमा मल्टिमिडियाको प्रयोग भइरहेको छ। विभिन्न विधाहरुको भञ्जन भएको छ। नाटक परफर्मेन्स हो कि, कविता या उपन्यास हो भन्ने वैचारिक मन्थन शुरु भएको छ। यो बेग्लै अभ्यास हो। आफ्नै प्रदेशमा बसेर अभ्यास गरिरहनुभएका कलाकारहरु हुनुहुन्छ। मणिपुरका रतन केएम हुनुहुन्छ। उहाँ मणिपुरमा नै बसेर नाटकको विकासमा लाग्नुभएको छ। उहाँले मणिपुरको थाङ्ग्टा मार्सल आर्टलाई अभिव्यक्तिको माध्यम बनाउने गर्नुभएको छ। दक्षिण भारतका केएम पनिक्करले कथकली र कुडियाटम शैलीलाई पूर्वीय नाट्यशास्त्र अनुसार रंगमञ्चमा विकसित गर्नुभएको छ।

सानो छँदा आमाको निधन भयो। उहाँलाई चक डस्टर थाहा थियो र पनि स्कूल जान पाउनुभएन। गोठालो जानुहुन्थ्यो। घरबाट अँगार बोकेर लानुहुन्थ्यो।

हामीकहाँ एउटा शैली विकास गर्न अध्ययनकै कमी पनि छ। नाटकको अध्ययन–अध्यापन विश्वविद्यालय तहमा हुने हो। त्यहाँ यसको अध्यापन भोकेसनल सब्जेक्टको रुपमा हुन्छ। यसबाट विषयवस्तुमा पकड पनि हुँदैन र बृहत् ज्ञान हासिल पनि हुन सक्दैन। यत्ति कारणले हामी पछि परेका छौं। हामी थिएटरमा शैली डेभलप गर्न खोजिरहेका छौं। तर, त्यसले मूर्त रुप लिइसकेको छैन।

  • बुँदागत रुपमा भन्नुपर्दा  हाम्रो शैली विकसित नहुनुका कारण के हुन्?

अभ्यासको कमी। लामो समयसम्म एउटै शैलीमा रहेर काम गर्न नसक्नु वा त्यसका लागि वातावरण नहुनु। युरोपियन देश र रुसमा १२/१३ वर्षको उमेरदेखि ब्याले नृत्यको अभ्यास शुरु गर्छन्। भारतमा कथकली नृत्य पारिवारिक कला हो। हामीकहाँ त्यस्तो सांस्कृतिक उत्तराधिकार छैन।

शैली विकासका लागि यस्तो स्पेस चाहियो, जहाँ नियमित अभ्यास गर्न पाइयोस्। रंगकर्मीहरुमा पनि त्याग र समर्पण भाव चाहियो। अहिले त हामी रंगमञ्चमा दुईथरी अभ्यास गरिराखेका छौं। कस्तो नाटक आउँदा कति दर्शक आउँछन् भन्नेमा ध्याउन्न छ हाम्रो। आत्म–विकासका लागि प्रयोग गर्ने प्रवृत्ति देखिँदैन । दर्शक आउने सम्भावनालाई रिस्क जोनमा राखेर कलाकारको आर्टिस्टिक ग्रोथका लागि प्रयोग भइरहेको छ।

  • सृजनाको प्रक्रिया, सिकाइ र सृजनाबीचका सम्बन्धलाई कसरी हेर्नुहुन्छ ?

सृजना कसैले सिकाउन सक्दैन। सृजनाको जन्मको कारण व्यक्तिमा रहेको अन्तर्निहित प्रतिभा हो। व्यक्तिले आफ्नो रचनात्मक संसारको निर्माण कसरी गर्दछ? उसको सृजनालाई यसैले निश्चित गर्छ। कुनै पनि मानिस सुसंस्कृत घरमा हुर्किएको छ भने, सानैदेखि राम्राराम्रा पुस्तक पढ्न पाएको छ भने, यसले त्यो मानिसको कल्पना शक्तिमा प्रशस्त ठाउँ छोडिदिन्छ। समाज, आर्थिक अवस्था र देशको राजनीतिलाई आफ्नै तरिकाले बुझिरहनुभएको छ भने तपाईंमा सिर्जनात्मक भिजन निर्माण गर्ने क्षमता बढी हुन्छ। सिर्जनात्मकतालाई संसारका कुनै पनि महान् विश्वविद्यालयले सिकाउन सक्दैन। वातावरण चाहिँ बनाउन सक्दछ।

एक्टर्स स्टुडियो निर्माणको एउटा ध्येय रंगकर्मीहरुमा बढदो एकाकी भावलाई तोडनु थियो। एक्टर्स स्टुडियोमा हामीले इन्टर डिसिप्लेनरी कोर्स शुरु गर्‍यौं। विभिन्न विधामा काम गरी रहेका मानिसहरु एक ठाउँमा आए भने एकले अर्कालाई धेरै कुरा सिकाउन सक्छन्।

  • मानिसमा सिर्जनात्मकताको प्रवेश कसरी हुन्छ? इनबोर्न ट्यालेन्टमा विश्वास गर्नुहुन्छ?

जति धेरै कल्पना गर्न सक्यो उपयोग त्यसैको गर्ने हो। आफूमा कल्पनाशक्ति नहुनेले सिर्जना गर्नै सक्दैन। अभ्यास र अध्ययनको जुगलबन्दी हो सिर्जना। इनबोर्न ट्यालेन्टमा मेरो विश्वास छैन। कोही पनि आमाको कोखबाट संगीतकार वा कलाकार हुन्छु भनेर जन्मेको हुँदैन। मेरै घरको कुरा– मेरो बुवा जुन पारिवारिक पृष्ठभूमिमा जन्मिनुभयो, त्यहाँ कोही कलाकार थिएन। सानो छँदा आमाको निधन भयो। उहाँलाई चक डस्टर थाहा थियो र पनि स्कूल जान पाउनुभएन। गोठालो जानुहुन्थ्यो। घरबाट अँगार बोकेर लानुहुन्थ्यो। पहाडका ढुंगामा चित्र बनाएर नै उहाँले सिक्नुभयो। उहाँले बनाएको चित्र देखेर अरु लोभिए। त्यसरी कलाकार बन्नुभयो मेरो बुवा। यसबाटै थाहा हुन्छ,  रहर मात्रैले केही हुँदैन, अभ्यास जरुरी छ।

नाटकको नाममा हामी कहिले उपन्यासतिर हल्लिइरहेका छौं, कहिले कविता मञ्चन गरिरहेका छौं। त्यसको कारण यत्ति हो कि हामीसँग नाटक छैन।

  • सिक्ने र सिर्जनात्मक प्रक्रियामा अरु शैलीको कला र नाटकमा कति फरक छ?

धेरै फरक छ। नाटक दुई पटक जन्मिन्छ भन्छौं हामी। एकपटक लेखकले जन्माउँछ र अर्को पटक रंगमञ्चमा यसको पुनर्जन्म हुन्छ। उपन्यास लेख्दा समूह चाहिँदैन। घरैमा बसेर लेख्दा हुन्छ। चित्रकला पनि त्यस्तै हो। क्यानभास, कुची र रङ लिएर जहाँ गएर कोर्दा पनि हुन्छ। तर, नाटकले निश्चित समूहको माग गर्दछ। रंगमञ्च परिवर्तनको संवाहक हो। तर, यसले रातारात परिवर्तन ल्याउँछ भन्नेमा मेरो विश्वास छैन। कलाको कुनै पनि फर्मले रातारात परिवर्तन ल्याउन सक्दैन। तर, यसको असर दीर्घकालीन हुन्छ।

  • निर्देशकहरु आफू सुरक्षित रहन लोकप्रिय विदेशी नाटक गर्छन् भन्ने आरोप पनि लाग्ने गरेको छ। के भन्नुहुन्छ?

नाटकको नाममा हामी कहिले उपन्यासतिर हल्लिइरहेका छौं, कहिले कविता मञ्चन गरिरहेका छौं। त्यसको कारण यत्ति हो कि हामीसँग नाटक छैन। नाटक लेख्दा त्यसको बुनोटमा पकड हुनुपर्दछ। कथावस्तुलाई कसरी चाखलाग्दो बनाउने? लेखकले आफ्नो भोगाइलाई कसरी ल्याउँछ? नाटकमा उसको क्षमता कति छ? उसको अभ्यास कति छ?  यो कुराले नै नाटकको क्राफ्टिङ निश्चित गर्छ। यहाँ रंगकर्मीहरुको दोहोरो जिम्मेवारी छ। एकातिर, नाटक र रंगमञ्चका बारेमा दर्शकलाई शिक्षित बनाउनुछ भने अर्कोतिर नाटकको अभिनेता, अभिनेत्री र निर्देशकका रुपमा आफूलाई स्थापित गर्नु पनि छ। हामीमाथि बजारलाई डोहोर्‍याउनुपर्ने दायित्व छ।

मेरै कुरा गरौं। ममाथि विदेशी नाटक मात्रै गरेको आरोप लागिरहेको हुन्छ। तर, पछिल्लो समयमा मैले ९५ प्रतिशत नेपाली नाटक गरेको छु। विदेशी नाटकको तुलनामा नेपाली नाटकको चर्चा कम हुन्छ। हामीले हाम्रो लेखकीय धरातल पनि बुझनुपर्ने हुन्छ।

  • अहिलेको समयमा हाम्रो समाजलाई कस्तो खालका कथा सुनाउनु आश्यक देख्नुभएको छ?

हामीसँग थुप्रै कथा छन्। त्यसको एक अंश पनि हामीले लेख्न र देखाउन सकेका छैनौं। संस्कृतिसँग जोडिएका कथा। अहिलेको समयमा हामीले भोगिरहेका समस्यासँग कथाहरुको सान्दर्भिकता जोडेर नयाँ आयाम दिन सकिन्छ। लोककथाहरुमा सामयिक सन्दर्भ जोड्नु आवश्यक छ। सीमान्तकृत समूहहरु समस्या भोगिरहेका छन्। आवाज उठाउन सकिरहेका छैनन्। सेक्सुअल ह्यारेसमेन्ट र मोलेस्टेशनका कुराहरु किन चल्छ मानिसको दिमागमा? यस्ता कुरा छन् मानिसको संवेदनालाई छुने। पात्रहरु नरुँदा पनि दर्शक रुने। प्रयोगहरु भएका छन्। तर, लेखनको दृष्टिकोणबाट त्यो आलोकाँचो नै छ। समाज बुझने लेखक चाहिएको छ।

यता आएर, हामीले साहित्यकारलाई नाटक लेख्न घचघच्याउन थालेका छौं। यो राम्रो संकेत हो। नाटकमा के चाहिन्छ? त्यो निर्देशकलाई थाह हुन्छ। निर्देशक र लेखकको जोडी मिल्यो भने राम्रो नाटक निस्किन सक्छ। यसका लागि पनि वातावरण चाहिन्छ। यस्तो वातावरण जहाँ हामी आइडिया शेयर गर्न सक्छौं। लोकशैलीका नाटकमा यथार्थवादी शैलीको प्रयोग भयो भने नजान्ने मानिसले बनाएको अमूर्त चित्रकारिता जस्तो हुन्छ।

अहिले केही निर्देशक कलाको अलगअलग स्वरुपलाई थिएटरसँग जोडेर गजबको मिश्रणमा अभिव्यक्त गर्ने चलन बढेको छ। आफ्नो समयलाई चिनेर पक्रिएर पनि नाटक लेख्न थालिएको छ।

  • काठमाडौंमा बसेर रंगमञ्चमा लागेका र काठमाडौं बाहिरका रंगकर्मीमा के फरक पाउनुहुन्छ?

भिन्नता छ। मैले देखेको छु। काठमाडौंबाहिर प्रायः गोदामघरमा स्टेज बनाइएको हुन्छ। विद्यालयको अभिभावक दिवसमा नाटक देखाइन्छ। कोठामा नाटक देखाउनुपर्ने बाध्यता हुन्छ। रंगकर्मीहरुको बुझाइ पनि सीमित हुन्छ। त्रिभुवन विश्वविद्यालयले निकालेको किताव नै उहाँहरुको बुझाइको आधार होला। काठमाडौंमा नियमित रंगमञ्च छन्। नाटकमाथि यसको सम्पूर्णतामा छलफल गर्न पाउँछन्। बाहिर हल नै हुँदैनन् भने लाइटमाथि लेख्ने र खेल्ने त कुरै आएन। काठमाडौंको गतिविधिबाट प्रेरित भएर अहिले झापा, धरान, जनकपुर र पोखरामा थिएटर बनाइएको छ। सुर्खेतमा बनाउने कुरा छ।

  • रंगमञ्चमा प्रयोगधर्मी काम कत्तिको भइराखेको छ? तपाईं आफैलाई प्रयोग गर्न मन लागेको कुनै जनर, स्टाइल वा स्टोरी लाइन छ?

छैन। गर्न धेरै बाँकी छ। अहिले केही निर्देशक कलाको अलगअलग स्वरुपलाई थिएटरसँग जोडेर गजबको मिश्रणमा अभिव्यक्त गर्ने चलन बढेको छ। आफ्नो समयलाई चिनेर पक्रिएर पनि नाटक लेख्न थालिएको छ। यो राम्रो संकेत हो। तर, आफ्नो पहिचान र मौलिकतालाई बोकेर अहिलेको समयलाई प्रतिनिधित्व गर्ने जुन काम हामीले गर्नुपर्ने हो, त्यो काम गर्न बाँकी नै छ।

जहाँसम्म मेरो कुरा छ, मलाई कन्टेन्टले नै जनर बनाउन प्रेरित गर्दछ। म कहिलेकाहीँ यथार्थवादी नाटकमा काम गर्न चाहन्छु, तर त्यसलाई ‘एक्सप्रेसनिज्म’मा व्यक्त गर्दछु। यथार्थवादी नाटकको सीमा हुन्छ। प्रेमपिण्ड नाटक जुन शैलीमा लेखिएको छ त्यो अहिलेको समयमा प्रभावकारी नहुन सक्दछ।

  • कहिले महशूस गर्नुभयो थिटरसँगको विशेष लगाव?

सर्जकलाई कुनै एउटा कुराले ठ्याक्कै प्रभाव पार्‍यो भन्न सकिँदैन। पोखरामा मेरो घर नजीकै सिनेमा घर थियो। सानैदेखि सिनेमामा लगाव थियो। त्यतिबेला अमिताभ बच्चनको एंग्री यंग म्यान अवतारबाट म प्रभावित थिएँ। त्यसले समाजका खराब मानिस, भ्रष्टाचारी र सामन्तवादीलाई लुटेर गरीबलाई पैसा बाँडिदिएको देख्दा आफू पनि त्यस्तै एण्टी हिरो बन्न पाए हुन्थ्यो भन्ने लाग्दथ्यो। कसरी बन्ने थाहा थिएन। मेरो मावली घर थियो वालिङमा। हजुरबुवा पहिलेका राजाको दरबारमा काम गर्नुहुन्थ्यो। दरबारमा म बिना रोकटोक सोझै जान पाउँथे। त्यहीँ मैले पहिलो पटक ग्रामोफोन देखेँ। त्यसका बारेमा मेरा मनमा अनेक जिज्ञासा र तर्कना उठे। ग्रामोफोनका पछाडि कस्तो मान्छे होला? कसरी गीत गाउँछ होला जस्ता। पोखरामा विभिन्न सांस्कृतिक कार्यक्रम भइरहने। कहिले बालुङ्ग, कहिले बाघजात्रा र कहिले दायमासा नाच। त्यसमा पात्रहरुले लगाउने पोशाक–परिधान, मखुण्डो र गहनामा चुम्बकीय शक्ति हुन्थ्यो। म ती जात्राहरु मनाइने दिन जात्रा हेर्नका लागि स्कूल नै जान्नथेँ। म त्यही जात्राको, त्यही कार्यक्रमको संसारमा घुस्दथेँ र रमाउँथेँ।

बुवा कलाकार। घरमा साहित्यकारहरु आइरहनुहुने। उहाँहरु कविता मञ्चन गर्नुहुन्थ्यो। घरको छेउमा सरुभक्त दाइहरु नाटक रिहर्सल गर्न आउनुहुन्थ्यो। म साथीहरुलाई छाडेर लुकीलुकी रिहर्सल हेर्न जान्थे। मैले १३ वर्षकै उमेरदेखि नाटक खेल्न थालेको हो। २०४५ सालमा सरुभक्त दाइको नाटक ‘ताण्डव नृत्य र अजम्बरी भायलिन’ प्रदर्शनका लागि काठमाडौं लिएर आएका थियौं। नाटकमा मेरो भूमिका र अभिनयको तारिफ भयो। पत्र–पत्रिकामा पनि राम्रो लेखियो। त्यसबेला मलाई लाग्यो, ‘हो म कलाकार भएछु।’ मेरो खोजीको माध्यम रंगमञ्च रहेछ।

  • काठमाडौंमा थिटरका दर्शकको कमी छैन। नयाँ नाटक के आउँदैछ? बजारमा चासो हुन्छ। नाटकका दर्शक फिल्मको तुलनामा संवेदनशील पनि छन्। अब, समयको माग पूरा गर्न थिटरलाई आलोचनात्मक हिसाले हेर्ने बेला भइसकेन र? अनि, तपाईंको प्रेरणाको स्रोत किन हो रंगमञ्च?

तपाईंले सोधेको प्रश्नको जवाफ हो ‘त्यस्तो समय’ भइसक्यो। रंगमञ्चलाई आलोचनात्मक हिसाबले नहेर्ने हो भने हामी ‘मपाईंत्व’ मा फस्छौं। आफनो काम हेर्‍यो, आफ्नै साथीभाइले ताली बजाउँछन्। गमक्क पर्‍यो। आफ्नो ‘कम्फर्ट जोन’मा बस्यो। कलामा जीवन्त बाँच्न चाहनेले प्रतिरोधी हुनुपर्दछ। आफनै प्रतिरोधमा पनि उभिन सक्ने हुनुपर्छ। त्यसो भएन भने म एउटा सीमित घेराको बन्दी हुन्छु। मलाई थिएटर मन पर्दछ। थिएटरमा मैले आफ्नो कुरा राम्रोसँग भन्न सक्छु। थिएटर मेरो आवश्यकता हो। खुशी, कुण्ठा, आशा, निराशा सबै अभिव्यक्त गर्न मलाई थिएटर चाहिन्छ। थिएटर मेरो भाषा हो।

टिप्पणी थप्नुहोस्