टेकोमा उभिएको अस्तित्व (भक्तपुर ग्यालरी)

  • रुचि श्रेष्ठ

काठमाडौं- उपत्यकाका तीनै शहरका टोलटोल र गल्लीगल्लीका घरहरु टेकोमा अडिएका छन् । यी गल्लीहरुले नै उपत्यकाका तीन शहरको मौलिकता थेगेको छ । भुईंचालोपछि यी घरहरु टेकोको भरमा अडिएकाछन् । यी घरमा बस्ने परिवारहरुका आर्थिक, सामाजिक र सांस्कृतिक दिनचर्या यिनै टेकोहरुको सेरोफेरोमा घुमिरहेको छ । टेकोहरुलाई गल्लीका यी घरहरुले आत्मसात गरिसकेकाछन् । त्यसैगरी, जसरी, यहाँका हरेक घरको दैलोमा रहेका भीमसेनका मूर्तिहरुलाई धर्मनिरपेक्ष संकेतका रुपमा स्वीकार गरेको छ ।

वि.सं. २०७२ साल बैशाख १२ गते आएको भुईंचालोपछिका चार बर्ष बितिसकेका छन । बिपत्तिले देश, समुदाय र लिङ्गको आधारमा कसैसंग कुनै किसिमको भेदभाव गर्दैन । यो बिपत्तिको प्रकृति हो । मानिसको पनि प्रकृति हो, अस्तित्वको लागि संघर्ष गर्नु । यो संघर्षमा प्राथमिकता परिवर्तन भइरहन्छन् । कहिले अस्तित्वको लागि ज्यान जोगाउने संघर्ष, कहिले सामुदायिक अधिकारको संघर्ष । कहिले भाषाका लागि त कहिले स्वाभिमानको लागि । काठमाडांै, भक्तपुर र पाटनका पुराना गल्ली टेकोको भरमा आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन् । भूकम्प आएको केही महिनासम्म यी गल्लीहरु दिउँसै ख्याकले तर्साउने घरजस्तै सुनसान हुनेगथ्र्यो । बिस्तारै पसल खुल्नथाले, चहलपहल बढ्नथाल्यो । चिया, खाजाबाट शुरु भएर सिद्रा, फल–फूल, कपडा र गहनासम्मकै व्यापारले गति लिनथाल्यो । चाडपर्व र उत्सवको बाजा बज्न थाल्यो । मानिसको दैनिकी सामान्य बन्न थाल्यो । गल्लीहरुले आफ्नो अस्तित्व जोगाए ।

बिपत्ति र त्यसले निम्त्याएका समस्यासँग जुझ्न र त्यसबाट बाहिर निस्कन ठूलो मनोबल र साहस चाहिन्छ । भूकम्प पछि फेरी तिब्र गतीमा मौलाएर जीवन्त भएका यी गल्लीहरुले त्यही मनोबल र साहसको परिचय दिएका छन् ।
तर, कहिले सम्म ?
अर्को झट्का नआए सम्म ?
के यी गल्लीहरुलाई थाहा छ ?
अर्को झट्का कहिले आउने छ ?
प्रत्येक रात के सोचेर निदाइरहेका छन् यी गल्लीहरु ?
कस्तो आश्वासन दिइरहेकाछन् एक अर्कालाई ?
अनि, के यी गल्लीहरु एक अर्काका मात्रै हुन् त ?
यी गल्लीहरुमा हिड्दा,
यी टेकोहरुलाई देखेर पनि,
हाम्रो सम्बेदना किन अभिव्यक्तिबिहीन छ ?
हामी कस्तो समाजमा बाँचिरहेका छौँ ?
के सम्बेदना बिनाको संघर्षले मानिसको अस्तित्व जोगाउन सक्छ ?

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री