देशको बैंश हराएको छ

फोटोः– नेपाली कला साहित्य डट कम प्रतिष्ठान

नेपाली कविता संसारका एक जाज्वलमान नक्षत्र हुन तीर्थ श्रेष्ठ । मानिसका संवेदनशील मनलाई छोएर लयको सारंगी बजाउने तीर्थ त्यसैले सबैका प्रिय छन् । कविता कसरी लेखिन्छ ? तीर्थ आफैलाई पनि थाह छैन यो कुरा । उनको आफ्नो मनमा तिब्र अनूभूति नभएसम्म कविता कागजमा उत्रिन मान्दैन ।

तीर्थ कवितामा सक्रिय छन् । यस अर्थमा कि, कविता र उनका बीच समयको लामो दूरी रहन पाउँदैन । अधिकांश समय विन्ध्यवासिनीको सेवामा लगाएपनि केही समय उनले कविताका लागि सुरक्षित राखेका छन्। विन्ध्यवासिनीको सेवामा उनी जसरी जुटेका छन् त्यसलाई हेर्दा जो कसैले पनि तीर्थको आध्यात्मिक लगावको अन्दाज गरी हाल्दछ । तर, यो सेवामा नियमित खालको धर्म भन्दा पनि आध्यात्मिक चेतना जोडिएको छ । तीर्थको बाल्यकाल विन्ध्यवासिनीको परिसरमा बित्यो । त्यसैले विन्ध्यवासिनी मन्दिर परिसरप्रति निजात्मक भाव जोडियो । अहिले मन्दिरमा समाजसेवागर्दा आन्तरिक आनन्द आउँछ उनलाई ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए तीर्थ । तर, पार्टीभित्रका कतिपय बिसंगत पक्षहरुसँग चित्त नबुझेपछि उनी राजनीतिमा मौन रहे । पार्टीमा सक्रिय छैनन् । सक्रिय हुनेहरुले सहयोगको याचनागर्न छाडेका पनि छैनन् । उनको जीवन साथीभाईलाई सहयोग गर्दैमा बितेकोछ । उनी भन्दछन्,“म अक्षरसंग परिचित भएको यही परिसरमा हो । यही परिसरमा हामीले धेरै गतिविधि गर्‍यौं । पुण्य कमाउने लालशा होइन । मानिसहरु भन्दछन्, मन्दिर परिसरमा यति सक्रिय भएर पनि मन्दिरभित्र कहिल्यै नपस्ने मानिस त तीर्थ नै हो ।”

कविताको कुरागर्दा अहिले कवितामाथि टिप्पणीगर्ने मानिसकै अभाव भएको बताउँछन् तीर्थ । उनी भन्छन्,“नयाँ पुस्तामा कविता त धेरैले लेखे । तर अनुरागीहरु धेरै भएनन् । एकप्रकारको शून्यता छरिएको छ जस्तो लाग्दछ कविताको संसारमा । किनभने, त्यसमा गुन्जन छैन ।”

तीर्थलाई अहिलेका धेरै साहित्यिक गतिविधि मन परेको छैन । लेखकमा देखिएको सेलिब्रिटीहुने उत्कट चाहनाले साहित्यको हित गरेको छैन । प्रकाशक चाहन्छ, उसले जसको पुस्तक छापि रहेकोछ त्यो लेखक सेलिब्रिटी बनोस् । यसप्रकारको प्रबृत्ति सिर्जनात्मक प्रबृत्तिलाई निश्चेत गर्दछ । उनको बिचारमा राजनीतिमा जस्तो साहित्यमा पनि देखिएका चरम गूटगत प्रबृत्तिले कसैको भलो गर्दैन । लेखक संघ राजनीतिक दलसंग आवध्द भएपछि त्यस्तो संघमा बसीरहन तीर्थको मन मानेन ।

‘देशको वैंश हराएको छ’ तीर्थ भन्दछन् । उनीसंगको रोचक अन्तर्वार्ता अर्को पटक । यो पटक हामी प्रस्तुत गर्दैछौं उनका पाँच बिशिष्ट कविता :-

१. सानो हुनुको अर्थ

सगरमाथा जति नै अग्लो भए पनि
त्यसको शिखरको आयतन सानो छ
झन् सानो छ शिखर आरोही मान्छे
त्यसभन्दा पनि सानो छ
त्यहाँ टेकिएको उसको पैताला

त्यहाँबाट देखिने दृश्य छ विशाल
त्यस अर्थमा छ उँचो हुनुको सार्थकता
त्यस अर्थमा उँचो हुनुको महानता
उँचो हुनुको अर्थ आत्मकेन्द्रित हुनु होइन
उँचो हुनुको अर्थ अहंकारको बादलले ढाकिनु पनि होइन
उँचो हुनुको अर्थ पग्लेर फेदीसम्म पुग्नु हो
बाफ बनेर आकाश जस्तै अनन्त हुनु हो

आफूलाई उँचो ठान्नेहरु सबै अग्ला हुँदैनन्
कुर्सीमाथि चढेर कोही सगरमाथा हुँदैन
सिंहासनमा बस्दैमा कोही लिलिपुट मन महान् हुँदैन

सानो हुँदैमा शिखर टेक्ने पैताला सानो हुँदैन
विनम्रताले नुहेको हाँगा हावाले उडाएको चंगा झैं हुँदैन

२. ढुंगा

युगौंअघि
चंगेज खानको घोडाले कुल्चिएर
हिँड्दा पनि म उस्तै थिएँ
युगौंपछि तिमीले देवता बनाएर
मन्दिरमा सजाउँदा पनि म उस्तै छु
कहिले तिमीले मलाई हतियार बनायौ
र खेद्यौ दुस्मनहरु
कहिले तिमीले पर्खाल बनायौ
र बनायौ सिमानाहरु
कहिले तिमीले मलाई कुँद्यौ र देवता बनायौ
र गुनगुनायौ प्रार्थना र कामनाहरु
कहिले मन्दिरको जग बनायौ
र मलाई अँध्यारोमा पारेर आफू जगमगायौ
घर बनायौ र सुरक्षित बास ठड्यायौ

म त ढुंगा हुँ
तिम्रो दृष्टिमा सम्वेदना शून्य

कुनै निर्जन पहराको छहराले
निरन्तर म्वाइँ खाइरहन्थ्यो मलाई
म त्यहीँ ठीक थिएँ
मान्छेको बस्तीमा ढुंगा हुनु पनि
अभिशाप हुँदो रहेछ
तिमीले बनाएको देवताको पनि
अर्थ नहुँदो रहेछ

३. चाबी

तिम्रो हृदयको कोठा सानो होस्
त्यो सानो कोठाको ढोकामा
लागेको होस् सानो ताला
र त्यो ताला खोल्ने सानो चाबी म हुन सकूँ
मलाई यत्ति भए पुग्छ
बस् यत्ति भए पुग्छ

४.  बोनसाई

प्रिय पिपल!
गमलामा ल्याएर कोचिदिएको छु
सम्भावित तिम्रो सम्पूर्ण आयतनलाई
र जल चढाएको छु

तिमी त्यतै कतै थियौ
कठोर चट्टानमा थियौ
मैले तिमीलाई
मल सहितको मलिलो माटो दिएको छु
हेर्न सक्ने र भ्याइने जति आकाश दिएको छु
तिम्रो हाँगामा उपद्रो मच्चाउन पाउनेछैनन् चराहरुले
तिमीलाई छियाछिया पार्न पाउनेछैनन् बन्चराहरुले
तिमी माथिको आक्रमणको सम्पूर्ण सम्भावनालाई रोकिदिएको छु

प्रिय पिपल
तिमीलाई ल्याएर
गमलामा कोचिदिएको छु
र प्रतिदिन जल चढाएको छु

५. प्रेमको पुस्तक

तिमी थियौ
म थिएँ
हामीमाथि अनन्त आकाश थियो
मधुर वर्षात् थियो
प्राप्तिअप्राप्तिको हिसाब थिएन
तिम्रो र मेरोको कुनै किताब थिएन

एकाएक आँधी आयो
एकाएक पहाड खडा भयो
व्यवधानले टाउको उठायो
मबाट तिमी ओझेल भयौ
तिमीबाट म ओझेल भएँ
यसरी नहोस् भन्ने कुराको प्रारम्भ भयो

अहिले पनि म सम्झन्छु
सिसौका बोटहरु
र नदी तटका अनन्तलाग्दा क्षणहरु

तिमी छौ
म पनि छु
हामीसँग ती दिनहरु छैनन्
तर ती दिनहरुभन्दा प्रीतिकर छन्
ती दिनका सम्झनाहरु

त्यसैको उज्यालोमा
पढिरहेछु
प्रेमको पुस्तक

twitter:- Tirtha Shestha @tirtha61520714

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री