गुठी विधेयकः सामाजिक विघटनको प्रस्थानबिन्दू

पुरुषोत्तम लम्साल

समाजमा अनेक इकाई हुन्छन् । ती ईकाई मिलेर समूहले आकार पाउँछ । समाज र समाज व्यवस्थामा त्यस्ता समूह स्थायी प्रकृतिको हुन्छ । भन्नका लागि व्यक्तिव्यक्ति मिलेर बनेको समूहको संगठित स्वरुप नै समाज हो । तर यो समूह र समाजको प्रकृतिमा व्यक्ति मात्र प्रधान हुँदैन, व्यवहार, चालचलन, रीति, आवश्यकता, सम्बन्ध सबै आउँछन् । उनीहरु क्रिया, कर्मदेखि उनीहरुलाई कुन तत्वले व्यवस्थित र अनुशाशित बनाइरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । यही व्यवस्थित बनाउने चरणमा अनेक सामाजिक संस्था (Institutions) को निर्माण भइरहेको हुन्छ जसले समाज र सामाजिक ईकाईलाई व्यवस्थित, मर्यादित र धेरै हदसम्म नियन्त्रित गरिरहेको हुन्छ । समाजमा सबैले मनोमानी गर्ने वा गर्न पाउने अवस्थामा समाज संगठित र व्यवस्थित दुबै हुँदैन । त्यो बेला समाजको परिचय र पहिचान छिन्नभिन्न हुन्छ । तात्पर्य, सामाजिक उश्रृंखलताबाट बच्न व्यक्ति समुदायको साहारा लिन्छ र समुदायको यही औचित्य र प्रयत्नले शान्ति, व्यवस्था र अस्तित्व गतिशील भइरहेको हुन्छ । जुन बेला सामाजिक संगठनहरु आफैं धराशायी हुन्छन् वा तिनीहरुलाई दवाव र प्रभावले धराशायी बनाउने क्रियाले गति लिन्छ त्यो बेला सामाजिक अव्यवस्थाको प्रारम्भ हुन्छ र सामाजिक विघटनले डोब खन्छ ।

अनुमान गर्नुहोस् गुठीमा बाँधिएका साँस्कृतिक समुदाय आफ्नो साँस्कृतिक विरासतबाट वञ्चित भए अथवा उनीहरुलाई साँस्कृतिक विरासतबाट जबरजस्ती वञ्चित गराइए ती समुदायको अस्तित्व कहाँ पुग्छ ? तिनीहरुको सामाजिक संरचना कसरी अलगथलग हुन्छ ? पाठकका नाताले तपाईको विमति होला तर आजको मेरो मुख्य चासो यो हो ।

जहाँ उमेर, लिंग, नाता, व्यवसाय, आवास, सम्पत्ति, विशेषाधिकार, सत्ता र काम जस्ता कुरा विविधतामा आधारित रही समायोजन गरिएको हुन्छ त्यही सामाजिक संगठन हो (Social Disarrangements, Fairchild) । यसलाई इलियट र मेरिलले आफ्नो पूर्व निश्चित एवम् मान्य उद्देश्यअनुसार काम गर्ने सामाजिक इकाईको नाम दिएका छन् (Elliot & Merril)  । समाज भनेकै संगठित बानीव्यवहार, मनोभाव अथवा मतैक्यताको योग हो । यही व्यक्ति र सामाजिक सम्बन्धको अर्थपूर्ण मिलन हुन्छ । समाजप्रदत्त व्यक्तिको सामाजिक स्थान र स्थितिभित्र सामाजिक प्रथा (Customs) को नियन्त्रण भइरहेको हुन्छ । यो नियन्त्रण नियमको अधीनमा रहेर हुन्छ वा गरिन्छ । यही परम्पराले सामाजिक गुण प्रदर्शन गरिरहेको हुन्छ, सामाजिक बल र सामाजिक पहिचान निर्माण गरिरहेको हुन्छ । र, विकासको प्रक्रियामा परिवर्तन पनि समाजले आफू अनुकूल गर्दै लगिरहेको हुन्छ । समाजिक संगठन बलियो छ भने त्यो परिवर्तन यूगानुकूल स्थायी हुन्छ, कमजोर छ भने सामाजिक चरित्रमा क्षयीकरण शुरु हुन्छ ।

प्रस्तावित गुठी विधेयक अक्षरशः अध्ययन गर्नेले सहजै अनुमान लगाउन सक्छ यो सामाजिक साँस्कृतिक चरित्र क्षयीकरण गर्ने नियतले आएको छ । यही क्षयीकरणमा सामाजिक प्रक्रियाहरु एकआपसमा छिन्नभिन्न हुन थाल्दछन् । यो वा त्यो रुपमा प्रतिस्पर्धाले स्थान पाउँदछ र द्वन्द्वले आकार लिन्छ । सामाजिक द्वन्द्व घनिभूत हुँदै जाँदा समाज पनि विघटनको बाटोमा जान्छ ।
सामुदायिक भावनाबाट प्रेरित रहेर सामुदायिक इच्छापूर्ति÷उद्देश्य प्राप्तका लागि बन्ने सामाजिक इकाई गुठी हो भनेर बुझ्छु म । यसलाई परम्परागत नेपाली समाजको सामाजिक संगठनकै एउटा रुपमा बुझ्दा पनि हुन्छ । यसमा उनीहरुको आफ्नै अनुशासन हुन्छ, श्रम र श्रम विभाजन हुन्छ, आफ्नै नियम र शैली हुन्छ जुन उनीहरुले अनुभव गरेको अवस्थामा परिवर्तन पनि हुँदै जान्छन् वा गइरहेका हुन्छन् । प्रस्तावित विधेयकले त्यही थितिमाथि जबरजस्ती राजनीतिक हस्तक्षेप गर्ने ध्येय बोकेकाले त्यो सामाजिक विघटनको कडी बन्नसक्दछ भन्ने हो ।

आध्यात्मिकता भनेको जप, तप ध्यान मात्र होइन, यो आत्मिक सम्बन्धको कोमलता पनि हो । सामूहिकताको स्वभाव पनि हो । हामी जुन भौतिकवाद भन्छौं त्यसमा धर्म, विश्वास, आस्था, सामाजिक सम्बन्धभन्दा आधुनिक सुख प्राप्ति प्रधान हुन्छ । सामाजिक जीवनबाट रीतिरिवाज, परम्परा, प्रथाहरुबाट सम्बन्ध टुट्दै जान्छ । सामाजिक दर्शन कम हुँदै जान्छ । सामाजिक दर्शनलाई टिकाइ राख्न सामाजिक संगठन असफल हुँदै जाँदा भौतिकवाद हावी हुँदै जान्छ । वैज्ञानिक दृष्टिकोण खोज्ने ध्याउन्नमा सामाजिक महत्व गौण हुँदै जाँदा सामाजिक साँस्कृतिक पहिचानको पनि दशा आरम्भ हुन्छ । हामी कति व्यवहारिक (Practical) छौं वा हामी कति प्राविधिक (Technical) छौं भन्ने प्रतिष्पर्धामा त्यो सामाजिक साँस्कृतिक पहिचानको स्थान हुँदैन । हो ठीक यही अवस्थामा सामाजिक विघटन र साँस्कृतिक पहिचानको संकट तीब्र हुन्छ भन्ने मेरो ठहर हो । अजासु प्रवृत्तिका एकजना मन्त्रीले गुठीलाई फगत सामन्तवादको अवशेष बताएर गुठीबारे आफ्नो ज्ञान र नियत छताछुल्ल बनाइदिएकाले यो विषयमा धेरै नलेखौं । यसैलाई एलियट र मेरिलले सम्बन्धको अभावमा हुने सामाजिक विश्रृंखलता भनेका होलान् (सामाजिक विघटन, १९५० हार्पर एण्ड ब्रोस, पृष्ठ २९)

सामाजिक ढाँचालाई अस्थायी रुपमै सही, तोडिदिए वा छिन्नभिन्न गरिदिएपछि सामाजिक विघटन आरम्भ हुने हो । त्यसको स्थानमा नयाँ ढाँचा त ढिलो चाँडो बन्ला तर त्यसले पूर्ववत् मूल्यमान्यता आत्मसाथ गर्छ कि गर्दैन भन्ने यकीन हुँदैन । पुरानो, जीर्ण, रुग्ण घर ढल्नु र ढाल्नु पनि राम्रो हो, रुढ सामाजिक संरचना विघटन गर्नु पनि राम्रो हो तर रोगको निदान र उपचारको विधि यो हो भन्ने यकीन नै नभई घाउमाथि करौंती चलाउँदा व्यक्तिको मृत्यु निश्चित हुन्छ जो फर्केर आउँदैन । अर्थात् समाज र संस्कृतिलाई नयाँ जीवन दिन पनि त्यसको विश्वासिलो र भरपर्दो नयाँ खाका आउन पर्दछ । चिकित्सकले लहडमा वा जबरजस्ती कैंची चलाउँदा के भयो भर्खरैको ओम अस्पताल प्रकरण हेर्दा भएन ? गुठी विधेयक यस्तै जबरजस्ती कैंची चलाउन खोजिएको नयाँ दृष्टान्त हो ।

साँस्कृतिक सामाजिक नियममा राज्यको, शाषकको हस्तक्षेप हुँदा गडबढी स्वभाविक हुन्छ । पशुपतिनाथको पूजारी प्रकरण नै यसको उदाहरण हो । अझ त्यसमा नियत पनि फोहोरी देखियो भने त्यसले संकट पैदा गर्छ । संगठित र एकीकृत सामाजिक सम्बन्ध छिन्नभिन्न बनाउन बद्नियतपूर्वक राज्य वा सत्ता वा अन्य कुनै तत्वले अग्रसरता देखायो भने त्यसभित्र सामाजिक विघटनको षड्यन्त्र छ भन्न असजिलो मान्न हुँदैन ।

आदर्श र विचारको अन्तरभित्र रुढ र नवीनता स्वभाविक हुन्छ । द्वन्द्व हुने नै यिनीहरुको बीचमा हो । तर यो द्वन्द्वको एउटा पक्ष कहीं प्राचीनताको नामोनिशान मेटाउन पर्दछ भनेर मुखरित हुन्छ त कहीं सामाजिक संरचना खल्बल्याएपछि त्यसभित्र आफूले हैकम जमाउने प्रपञ्च लिएर उठिरहेको पनि हुन्छ । यो संघर्षमा दुबैको हार वा दुबैको जीत सम्भव छैन । यदि सामाजिक सम्बन्ध टुट्यो भने सामाजिक विघटनको चरण आश्चर्य हुँदैन । यसको फाइदा लिन ढोकामा र्‍याल काडेर बसिरहेका धार्मिक समूहहरु सधैं तयार छँदैछन् ।
स्थायी सामाजिक साँस्कृतिक संगठनको हस्तान्तरणको क्रममा एउटा पुस्ताले अर्को पुस्तालाई आफ्नो अनुभवको आधारमा विद्यमान समस्या र बेथितीमा गर्नपर्ने सुधारका विषयमा मार्गनिर्देश गर्दा मात्र सामाजिक विघटनको खतरा कम हुने हो । कुनै नयाँ संस्था र तत्वले जबरजस्ती त्यसमा हस्तक्षेप गर्दा विघटनको खतरा झन् चुलिन्छ नै । एउटा जाती, बर्ग, धर्म, सम्प्रदायको संरचनामा, उसको आस्था, आदर्श र विश्वासमा फरक समूहको हस्तक्षेप र प्रवेश आफैंमा विघटनकारी प्रतीत हुन्छ । त्यो हस्तक्षेप र प्रवेश सुधारको गुञ्जायशमा आउँदैन स्वार्थसिद्दीको हेतु आउँछ ।

सामाजिक विघटनबारे रबर्ट ई. फेरिस भन्छन् अरुको नक्कल गर्नु, समुदायको पवित्र हितलाई क्षय गरिदिनु, सामुदायिक स्वतन्त्रता र सामुदायिक अधिकारमा हस्तक्षेप गर्नु, परस्पर अविश्वास पैदा गर्नु र अशान्तिको तत्व (Unrest Phenomena) रोप्नु वा विकास गरिदिनु पनि विघटनलाई मलजल गर्नु हो । प्रस्तावित विधेयकमा नियत यही देखिन्छ ।

कर्तव्यभन्दा अधिकारमाथि बल, स्थिति र क्रियामा समन्वयभन्दा विग्रह, सार्वजनिक हित र रुचीमा सामाजिकताभन्दा राजनीतिक चरित्र आत्मसाथ गर्दा, सामाजिक यन्त्र र प्रतीकको व्यवस्थापनभन्दा तिनमा गड्बडी ल्याउँदा, दृढ सामाजिक नियन्त्रणको स्थानमा सामाजिक नियन्त्रणको परम्परागत व्यवस्थामा खल्बली ल्याउँदा, सामाजिक नियमको सम्मानको स्थानमा उपेक्षाभाव प्रदर्शन गर्दा, व्यक्ति र समाजबीच समन्वयको स्थानमा विरोध र संघर्ष पैदा गर्दा, सामाजिक अंकहरुलाई एकीकृत र सुदृढ गर्नुको स्थानमा विभाजन गरी कमजोर धरातल विकास गर्दा सामाजिक साँस्कृतिक विघटनलाई निमन्त्रण पुग्छ । प्रस्तावित विधेयक त्यही निमनत्रणको दस्तावेज जस्तो देखिन्छ।

सँस्कृति भौतिक तत्व होइन । त्यसैले यो पदार्थ जस्तो तुरुन्त रुपान्तरण वा परिवर्तन हुँदैन । सँस्कृति अपनाउनु र नयाँ मोबाइलमा अभ्यस्त हुनुबीच त्यही अन्तर हुन्छ । त्यसरी नै नयाँ मोबाइल तुरुन्त फेरेर नयाँ मोडलको नयाँ एप्पल वा एण्ड्रोइड लिएको जस्तो साँस्कृतिक रुपान्तरण वा परिवर्तन सम्भव हुँदैन । मोबाइलको उपयोग जसरी सँस्कृतिको उपयोग सम्झनु र त्यसलाई अपनाउनु सरल र सहज हुँदैन । यस्तो अभ्यासले साँस्कृतिक विलम्व पैदा गर्छ र अन्ततः तत् तत् समाज र समूहमा विघटनको खतरा निम्त्याउँछ । विधेयकको विपक्षमा उभिएको ठूलो पंक्तिले यही खतरा महशुस गरेको हुनपर्छ ।

अहिलेको संकट आकस्मिक हो वा संचित ? कुनै भयङ्कर दुर्घटना, विपत्ति वा प्रकोप, युद्ध वा बिग्रहको अवस्थामा सामाजिक विघटन स्वभावतः हुन्छ नै । त्यो बेला समाजका लाखौं व्यक्तिको सोच, जीवनशैलीमा आकस्मिक परिवर्तन पनि हुन्छ । बाध्यकारी जस्तै हो यो जहाँ ‘एडजस्ट’ नभइ सुख्खै छैन । जस्तो गणतन्त्र, धर्मनिरपेक्षता, भूकम्प आदि । तर अहिले प्रस्तावित गुठी विधेयक संचित संकटको कडीसँग जोडिएका पर्याप्त आधार र तथ्य देखिन्छन् । सामाजिक साँस्कृति मूल्यमा आघात पार्न स्वार्थ समूहहरुको ठूलो प्रयत्न भित्रभित्र भइरहेको रहेछ भन्न विधेयकको सम्बन्धमा सामाजिक संस्थाहरुसँग संवाद र अन्तक्रिया गर्न नचाहेबाट स्पष्ट हुन्छ ।

मुद्दा सामाजिक समस्याको सिद्धान्त होइन । भौगोलिक पनि होइन । भौतिक उत्कर्षताको परिणाम पनि होइन । यो साम्प्रदायिक, जातिवादी, क्षेत्रवादी, भाषावादी एवम् प्राचीन परम्परावादी कडीसँग जोडिएको देखिन्छ । रुढ र अव्यवस्थाको छेको लिएर ठूलो सामाजिक संरचनाको नाभीमै प्रहार गर्न विधेयक केन्द्रित देखिन्छ । पुरानो समिति, संयन्त्र र नयाँ संस्थागत संरचनामा घर्षण हुँदा नचाहेर पनि सामाजिक मूल्यमा ह्रास आउँछ र यसैले सामाजिक साँस्कृतिक विघटनको दिशा लिन्छ । ढिलो चाँढो मात्र हो, हुन्छ । अतः सामाजिक मूल्यमाथि प्रहार केन्द्रित गर्ने गरी आएको प्रस्तावित विधेयक साँस्कृतिक विघटनको कारक बन्नसक्छ ।

टिप्पणी थप्नुहोस्