परिषद् बस्न असारे विकास बाधक

सप्तरी । चालु आर्थिक वर्षको बजेट सक्ने हतारो सबै स्थानीय तहलाई छ । वर्षदिनभरी हुन नसकेको काम आर्थिक वर्षको अन्तिममा गर्ने थिती नै बसेको छ । यसको प्रत्यक्ष असर स्थानीय तहमा परेको छ । उनीहरुले समयमै गाउँपालिका तथा नगरपालिकामा परिषद बसाउन सकेका छैनन् ।

असारे विकासको चटारो सप्तरीको स्थानी तहमा परेको छ । सबै जनप्रतिनिधिहरु र कर्मचारीको ध्यान बजेट सक्नमा केन्द्रित भएको छ । नतिजामा परिषद बैठक बस्न सकेको छैन । यसैको सिको गरिरहेको छ राजविराज नगरपालिकाले ।

असारमा सक्नुपर्ने कतिपय कामको व्यस्तताका कारण परिषद्को तयारी गर्न नपाएको राजविराज नगरपालिकाका प्रमुख शम्भुकुमार यादव स्विकार गर्छन् । उनले असार मसान्तभित्र परिषद् गर्ने गरी तयारी भइरहेको बताउँछन् ।

संघ सरकारले स्थानीय सरकारलाई असार १० भित्र बजेट ल्याउन निर्देशन दिएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्र अनुसार असार १० भित्रै स्थानीय तहहरुले नगर सभा गरेर बजेट पेश गरिसक्न निर्देशन दिएको थियो ।

तर, सप्तरी जिल्लाका अधिकांश स्थानीय तहले केन्द्रको निर्देशन मानेका छैनन् । १८ स्थानीय तह रहेको स्थानीय तहमा नगरसभा कहिले बस्ने भन्नेमै अन्योलता बढेको छ । नगरसभा जारी रहेका स्थानीय तहमा समेत विवाद बढेको छ ।

जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । राजविराज नगरपालिका लगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । आवश्यक तयारीको अभावमा नगरसभा बस्न नसकेको हो । जनप्रतिनिधि तथा कर्मचारीले समयमै आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो ।

लापारवाहि कतिसम्म भएको छ भने परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् । केही स्थानीय तहले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ ।

१८ वटा स्थानीय तहमध्ये खड्ग नगरपालिकाले सोमबार परिषद् सम्पन्न गरेको छ भने सुरुङ्गा नगरपालिकाको मङ्गलबार परिषद् सम्पन्न भएको छ । डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णसवरण र रुपनी गाउँपालिकामा परिषद् शुरु भएको सम्बन्धित नगरप्रमुखले जानकारी दिएका छन् ।

परिषद् शुरु भएको रुपनी गाउँपालिकाको वडा नं ३, ४ र ५ का वडाध्यक्ष र सदस्यले परिषद् बहिष्कार गरेको वडा नं ४ का वडाध्यक्ष छेदी इशरले बताए। परिषद् अगाडि हुनुपर्ने विभिन्न समितिको बैठक नबसी आवश्यक विधि र प्रक्रिया पूरा नगरी हतारमा परिषद् गरिएकाले बहिष्कार गरिएको वडाध्यक्ष इशरले बताए।

अन्य स्थानीय तहमा परिषद् हुननसकेको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ । परिषद् ढिला हुँदा चालू आर्थिक वर्षको विकास निर्माणका योजना प्रभावित हुने जिल्ला समन्वय समिति सप्तरीका निमित्त जिल्ला समन्वय अधिकारी नवराज खडकाले बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐनअनुसार परिषद् नभए केन्द्रबाट आउने अनुदानको रकम कटौती हुनसक्ने उनको भनाइ छ । ऐनमा आर्थिक वर्षको असार १० गते स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

कञ्चनरुप नगरपालिकामा मङ्गलबार नीति तथा कार्यक्रम पारित भएको नगरप्रमुख वसन्त मिश्रले जानकारी दिएका छन् । उनले आगामी असार १८ गते नगर परिषद गर्ने योजना रहेको बताए। आवश्यक तयारी पूरा नभएकाले परिषद् गर्न नसकिएको उनको भनाइ छ ।

कर्मचारी नबसेका कारण सप्तकोशी नगरपालिकाले परिषद् गर्न सकेन । तीन दिनको बिदा लिए पनि सात दिनपछि सोमबार मात्र प्रमुख प्रशासकीय अधिकृत बासुदेव रेग्मी कार्यालयमा हाजिर भएका कारण परिषद्को तयारी गर्न नसकिएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्माले जानकारी दिए ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले समयमा परिषद् गर्नुपर्ने महत्व नबुझेकाले असार १० गतेभित्र परिषद् गर्न बेवास्ता गरेको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षका प्रत्यासी जयप्रकाश ठाकुरले बताए । परिषद् गर्न नसकेका स्थानीय तहले असार मसान्तभित्र परिषद् गर्ने गरी आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ ।

राष्ट्रिय समाचार समितिको सहयोगमा

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री