स्तरोन्नति भएको पत्तै पाएनन जनताले

तस्विरमा: भद्रपुर भन्सार अगाडी सामान लिएर आएका राँगा गाडीहरु
  • झापा संबाददाता

भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भएको १० महिना लाग्यो । यो अवधिसम्मको अवस्था हेर्दा नाम मात्रको स्तरोन्नति देखिन्छ ।

गत भदौ १७ गते अर्थमन्त्री युवराज खतिवडाले यो भन्सारको स्तरोन्नति भएको घोषणा गरेका थिए । उनले घोषणा भएको चार, पाँच महिनामै व्यवस्थित भवनसहित मेची पुल सञ्चालनमा ल्याउन पहल गरिने उद्घोष समेत गरेका थिए ।

तर अहिले भन्सार भवन अगाडि राँगा गाडीको लर्को लागेकोछ । व्यापारीहरु पुल सञ्चालनमा नआइदिनाले राँगा गाडीमा महँगोमा सामान ओसार्न बाध्य छन् भने अर्कोतिर भौतिक पूर्वाधारबिना नै भन्सारको “स्तरोन्नति” भएको छ ।

यो भन्सार यसअघि छोटी भन्सारको रुपमा रहेको थियो । २०३९ सालमा स्थापना भएको भन्सार कार्यालय यस अघि मेची भन्सार कार्यालय काँकडभिट्टा मातहत थियो ।

यसबीच मेची पुल बन्यो । झापावासीको आकांक्षा पूरा भयो । अब भारतसंगको व्यापारिक सम्बन्ध पनि सुदृढ हुन्छ भन्ने आशा जाग्यो । यसैबीच, भन्सारको स्तरोन्नति भयो । तर, यसको अनुभव न व्यापारीले गर्न पाए, न त्यहाँ काम गर्ने कर्मचारीले नै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा मेची पुल उद्घाटन गर्दै भनेका थिए, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मेरो नजिकको मित्र भएकोले सीधै उनी सँग कुरा गरेर केही दिनमै पुल सञ्चालनमा ल्याउनेछु ।’

नेपाल–भारत सीमा अन्र्तगत भद्रपुरस्थित मेची पुल उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यसो भनिरहँदा यहाँका वासिन्दा र व्यापारी निकै आशावादी भएका थिए ।

पुलको उद्घाटन भयो । मान्छे र दुई पांग्रेबाहेक अरु सवारी साधन पुलबाट एकदमै कम मात्रामा आवत जावत हुने गरेकोछ । ब्यापारीहरुले बगरको बाटो हुँदै राँगा गाडीबाटै सामान आयात र निर्यात गर्ने गरेकाछन । अब बर्खाको मौसम शुरु भएसँगै बगर बाट पनि आवत–जावत गर्न सम्भव छैन ।

भन्सारको स्तरोन्नति गरे पनि जमिन अधिग्रहण र भौतिक पूर्वाधारको बिकासमा चासो दिन ढिलाई गरेको भद्रपुर भन्सार प्रमुख फणीन्द्र खतिवडाले बताए । ‘मुख्य समस्या पूर्वाधारको हो, जाँच पासको लागि छुट्टै स्थान छैन,’ खतिवडाले भने, ‘कार्यालय सञ्चालनका लागि भवनको समस्या छ । पछिल्ला दिनमा स्थानिय जनप्रतिनिधि, व्यापारी र उद्योगपतिसँग मिलेर पहल गरेका छौँ ।’

हालको भन्सारदेखि उत्तर तर्पmको १० बिघा जमिन अधिग्रहण गर्न सम्पूर्ण प्रक्रिया पूरा गरेर भन्सार विभाग पठाइसकेको उनले बताए । मन्त्रिपरिषद्ले जग्गा अधिग्रहण स्वीकृत गरिसकेको र अब छिटै जमिन खरिद प्रक्रियामा लागिने पनि खतिवडाले बताए ।

भद्रपुर भन्सार कार्यालयको मातहतमा ५ ओटा छोटी भन्सार छन् । ति मध्ये २ वटा केचना र खुमरखोद हाल सञ्चालनमा छन् । भद्रपुर भन्सारबाट निकासी हुने भनेका मुख्यतया चाउचाउ र चिया हुन् । आयातमा भने चियाका लागि चाहिने कच्चा पदार्थ, तयारी फलाम, लुगाकपडा आदि नै मुख्य छन् ।

भन्सारको बार्षिक लक्ष्य १५ करोड र मासिक डेढ करोड रुपैयाँ छ । १० महिनाको अवधिमा लक्ष्यअनुरुप नै राजस्व संकलन भएको खतिवडाले बताए । राजस्व तथ्यांक हेर्दा भदौ, असोज र कार्तिकमा मासिक लक्ष्य भन्दा बढी राजस्व संकलन भएको छ भने मंसिर, पुस र माघमा लक्ष्य नै भेटिएको छैन । त्यसैगरी पछिल्ला महिनामा लक्ष्य बराबरी देखिएको छ ।

भारतको बिहार र पश्चिम बंगाल सँग जोडिएको भद्रपुर प्रशस्त सम्भावना बोकेको नाका भए पनि सडक निकास नहुनाले सोचे अनुरुप सञ्चालनमा आउन नसकेको स्थानिय व्यापारीहरु बताउँछन् । भन्सार कार्यालयसम्म २ वटा राँगा गाडीबाट सामान ल्याए बापत भारतीय ८ सय रुपैँया भाडा दिनु परेको गुनासो फलामका भाँडा बेच्ने भद्रपुरका व्यापारी संजय शर्माको थियो ।

‘बाटो नभएकाले गाडीमा सामान ल्याउन संभावना छैन । प्रधानमन्त्रीले पुल त उद्घाटन गरे । तरस्थायी बाटो सञ्चालनका लागि भारत सरकारसँग पहल गरेनन’, शर्मा बताउँछन् ।

टिप्पणी थप्नुहोस्