लोकतान्त्रिक प्रहरीको निरंकुश यात्रा

  • सागर शर्मा

असार ११ गते बुधबार प्रदर्शनी मार्गमा दुइजना कवि संगीत स्रोता र रसुवाली कविको गिरफ्तारी राजधानीका बुध्दिजीवी, पत्रकार र नागरिक समाजका भलाद्मीहरुको नजरमा तत्कालै चढ्यो । यी कविहरुले के उत्पात गरेकाले यिनीहरुलाई गिरफ्तार गरिएको थियो त ? गिरफ्तार गर्ने प्रहरीले बतायो : दुबै बिप्लवजीका कार्यकर्ताजस्ता देखिए । प्रहरीको भनाइ आयो : ‘हामी झुक्कियौं ।’

कवि संगीत र कवि रसुवाली गैर न्यायिक हत्याबारे आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेर बाहिरिए लगत्तै प्रहरीको नियन्त्रणमा परेका थिए । कवि संगीत पहिलो पटक पक्राउ परेका थिए । कवि रसुवालीको यो दोस्रो गिरफ्तारी थियो । गिरफ्तारीका बारे हल्लाखल्ला भएपछि केही घण्टापछि दुबै मुक्त भए ।

के प्रहरी झुक्किएकै थियो त ?

घटनाक्रममा जोडिएका प्रहरी स्रोतका अनुसार, गैर न्यायिक हत्याविरुद्धको कार्यक्रममा संगीतले निकै चर्को भाषण गरेका थिए । कार्यक्रममा प्रहरीको सुराकी हुने नै भए । उनको भाषणबारे महानगरीय प्रहरी परिसरहुँदै माथिल्लो निकायसम्म रिर्पोटिङ भयो, ‘विप्लवका नेताको इन्काउन्टरबारे चर्को भाषण गर्ने एक ब्यक्ति शंकास्पद देखिए ।’ माथिबाट आदेश आयो ‘उठाइदेउ ।’ र उठाइदिए प्रहरीले ।

कवि रसुवालीको नाम पहिलेदेखि नै शंकास्पदको सूचीमा थियो । त्यसैले उनलाई उठाउन धेरै सकस गरिरहनु परेन प्रहरीहरुले । तर, संगीत नयाँ थिए ।

पछिल्लो समयमा नेपाल प्रहरीबाट सम्पादन भएका काम र विवादको श्रृंखला बढदै गएका छन । कविहरुको गिरफ्तारीको यो काण्डमा पनि प्रहरी झुक्किएका हैनन् । उनीहरुको यो काम नियोजित हो । यी दुबै कविबारे समयमा नै सामाजिक सञ्जाल र मिडियामा हल्लाखल्ला नभएको भए उनीहरु सजिलै छुटने कुरामा शंका छ । सामाजिक दवावमा परेकाले मात्रै कविजीहरुलाई छाड्न प्रहरी बाध्य भएको हो ।

संगीत स्रोता प्रभावशाली मिडियाका पत्रकार नभएको भए र रसुवालीबारे बेलैमा विरोध नभएको भए उनीहरुले यत्ति चाँडै घामको दर्शन गर्न पाउने थिएनन् ।

प्रहरीको निरंकुश यात्रा

हेर्दा सामान्य देखिए पनि यो घटना कानून कार्यान्वयनगर्ने दायित्व लिएको सुरक्षा संगठनको निरंकुश पथतिरको अग्रगामी पाइलाको बलियो उदाहरण हो ।

असार महिनामा नै प्रहरीसंगको ‘मुठभेडमा मारिएका’ भनिएका नेत्र विक्रम चन्द विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलसंग जोडिएको घटनाक्रम होस् या यूट्यूवर प्रनेश गौतमको गिरफ्तारी होस, घटनाले सुरक्षा संगठनमा मौलाउन थालेको निरंकुशवाद देखाउँछ । बिप्लवको आतंकवादको नाममा जनताका लोकतान्त्रिक अधिकारमाथिको प्रहार प्रत्युत्पादक हुने त निश्चित नै छ ।

सरकारले पौडेल प्रकरणलाई अकस्मात भएको घटनाको रुपमा अथ्र्याउँदै पक्राउ गर्न जानेक्रममा आफूहरुमाथि आक्रमण भएकाले सुरक्षाका लागी गोली चलाउँदा मारिएको दावी गरिरहेको छ । तर, घटनाक्रमले त्यस्तो देखाउँदैन ।

पौडेल प्रकरण प्रहरीले कुन हदसम्म जानसक्छ भन्ने दृष्टान्तको प्रदर्शन हो । प्रनेश प्रकरण सरकारविरुद्ध सामाजिक सञ्जालमा बढ्दो आक्रोश नियन्त्रणको परीक्षण हो ।

पौडल घटना मुठमेडको नाममा राज्यले गरेको हत्या नै हो भन्नेमा अव कुनै शंका रहेन । घटनामा सहजै प्रहरीको प्रयोग गरियो ।

हिजोका दिनमा गुण्डा नाइकेको इन्काउन्टर होस् या बालक अपहरणमा संलग्न रहेको आशंकामा समातिएका दुइजना तामाङ युवकको भक्तपुरमा भएको इन्काउन्टर होस् यी सबैको भाषा यस्तै थियो, ‘जवाफी फायरमा मारिएका’ ।

कुनै पनि घटनाक्रमले घटना सुरक्षा संगठनले असल नियत राखेर गरेको जवाफी कारवाहीको क्रममा भएको देखिएको थिएन ।

यी सबै घटना प्रहरीले कानुनी छिद्र प्रयोग गरेर गरेको ‘अपराध’ थियो । तर गुण्डा मारियो त के भयो त ? बालकको अपहरण गरेर हत्या गर्ने मारिए त राम्रै भयो ! भन्दै कानुन पालना गर्ने र गराउने गम्भीर जिम्मेवारी पाएको संगठनको बदमासीलाई स्याबासीमा बदल्नु थियो । त्यसो भएन । उल्टै पोखरामा लागुऔषध प्रयोगकर्तालाई सहजै पक्राउ गर्नसक्ने अवस्था हुँदैहुँदै प्रहरी गोली हान्न हिच्किचाएनन् ।

देख्दा हतियार उठाएर राज्यलाई चुनौती दिइरहेको संगठनमा संलग्न भएको ब्यक्ति मारिएझै देखिए पनि पौडेलको नियोजित हत्या प्रहरीभित्र मौलाउँदै गएको दम्भको डरलाग्दो प्रमाण हो ।

सरकारको चोर बाटो

हिजोदेखि देखिएको तथ्य हो, सरकारको नीति जस्तो हुन्छ सुरक्षा संगठन त्यस्तै हुन्छ । त्यसैले भन्न सकिन्छ, निरंकुशताको लाइनमा प्रहरी मात्र हिडेको हैन, राज्य नै लागेको हो ।

‘हामी विरुद्ध जाने जो कोहीको हालत पौडेलकै जस्तो हुनसक्छ’ सरकारको स्वेच्छाचारीपन र गैर कानुनी कार्यका विरुद्ध सक्रिय भएकाहरुलाई सरकारले प्रहरीमार्फत दिन चाहेको सन्देश यही हो ।

प्रनेश, संगीत स्रोता र रसुवाली कवि विरुद्धको प्रहरी हर्कत संविधानले ग्यारेन्टी गरेको अभिब्यक्ति स्वतन्त्रताको उपभोग खुम्च्याउने र सचेत वर्गमाझ त्रास फैलाउने रणनीतिगत अभ्यास हो । सरकारमा रहेकाहरुले सार्वजनिक मञ्चहरुमा ब्यक्तगर्ने अभिब्यक्तिहरुले समेत यो कुरा देखाइ नै रहेको छ ।

लाचार नेतृत्व, नीरिह संगठन

पौडेल इन्काउन्टर होस् या प्रहरीको साख गिराइरहेका अन्य घटनाक्रम, यसबारे संगठनको निर्णायक तहका अधिकारीहरुसँग अनौपचारिक कुराकानी गर्दा भेटिने तथ्य हो – प्रहरी संगठन राजनीतिक स्वार्थका अगाडि नीरिह बन्दै गएको छ ।

सिधै प्रधानमन्त्रीको मातहतमा पुगेको राष्ट्रिय अनुसन्धान विभागले कानुनको दफा पल्टाएर मात्र निर्देशन पालना गर्छ भन्ने त कल्पनै नगरौं ।
सत्ताले जे भने पनि कानुनको दफा पल्टाएर यो कानुनसम्मत हो त्यो कानुन विपरित हो भन्नसक्ने क्षमता राख्नुपर्ने लोकतान्त्रिक मुलुकको प्रहरी संगठनको नेतृत्वको नैतिक बल पञ्चायतकालीन समयको भन्दा भिन्न देखिदैन ।

नागरिक सुरक्षासँग प्रत्यक्ष जोडिने प्रहरी संगठनका सदस्यको गतिविधि र नेतृत्वकर्ताको भूमिकाले संगठनका लागि कानुनको दफा भन्दा सत्ताको निर्देशन प्रमुख भएको प्रष्टै हुन्छ ।

कुनै पनि नागरिकले कानुनको सिमा नाघेको हकमा बाहेक अन्य अवस्थामा दुख नपाउन भनेर राज्यले मुलुकी अपराध संहिता बनाइदिएको छ । जहाँ कसलाई कुन आधारमा नियन्त्रणमा लिने, कुन आधारमा पक्राउ गर्ने र कुन आधारमा मुद्दा प्रकृयामा लैजाने भन्ने प्रष्टै उल्लेख छ ।

तर प्रहरी संगठनको नेतृत्व अहिले कानुनको दफा अनुसार हैन, सत्तामा रहेका राजनीतिक नेतृत्वको तजबीज अनुसार परिचालित भइरहेको छ । लोकतान्त्रिक पद्धती अंगालेको मुलुकमा यस्तो कल्पना समेत गर्न सकिन्न ।

जव नेतृत्व कमजोर हुन्छ, संगठन आफैं कमजोर हुन्छ । संगठन कमजोर भएपछि त्यसका सदस्यले चाहेर मात्र केही हुन्न । त्यसमा पनि माथिल्लो तहको आदेश शिरोपर गर्नैपर्ने प्रहरी जस्तो संगठनमा नेतृत्वकर्ताको इच्छाविपरित कुनै काम गर्न सम्भव नै हुन्न ।

कमजोर छवि र कमजोर पृष्ठभूमि भएकाहरु सहजै गल्छन् । हिजोगरेका बदमासीका कारण उनीहरु चाहेर पनि कानुन विपरितका निर्देशन ‘हुन्न’ भन्ने हिम्मत गर्न सक्दैनन् । क्षमताको आधार भन्दा पनि आर्शिवादको आधारमा नेतृत्व पाएकाहरुले हिजोका आर्शिवादकर्ताको आदेशमा झन् कसरी नाई भन्न सक्छन् र ! त्यसैले अहिले लोकतान्त्रिक मुलुकको मूल्य र मान्यता अनुसार परिचालित हुनुपर्ने प्रहरीले समातेको निरंकुशता र स्वेच्छाचारिताको मूल कारक सत्ताको स्वार्थ त हो नै, संगठनका नेतृत्वकर्ताको पद केन्द्रित स्वार्थ र लाचारी पनि हो ।

अहिले बढिरहेको प्रहरीको निरंकुश कदमको दोष जति सिंहदरवारका नेतृत्वकर्ताको थाप्लोमा जान्छ उत्तिकै दोष प्रहरी प्रधान कार्यालय नक्सालमा प्रमुखको कुर्सीमा बिराजमान ब्यक्तिको थाप्लोमा पनि जान्छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री