बालुवाको अवैध उत्खनन रोक्ने माथि सांघातिक आक्रमण

  • सिराज खान (नेपालगञ्ज)

जहाँ पायो त्यहीबाट बालुवा, ढुंगा र गिट्टी निकाल्दा प्राकृतिक वातावरणमा त्यसकोे नराम्रो असर पर्दछ । सामान्य जनताले यो बुझेको छैन । न त सरकारले नै वातावरणको सुरक्षाप्रति जनतालाई सचेत तुल्याउने कुनै अभियान नै चलाएकोछ । प्राकृतिक स्रोतमाथि सबै कब्जा जमाउन चाहन्छन । मानिसमा लोभ बढेको छ । यो लोभले नेपाली समाजलाई कुरुप बनाउँदै लगेकोछ । तर, सबै उस्तै पनि छैनन । केही जन–प्रतिनिधि आफनो कर्तब्यप्रति सचेत छन । उनीहरु बालुवा, ढुंगा र गिट्टीको अवैध उत्खनन रोक्न सँधै प्रयत्नशील रहेकाछन । यसरी यो अबैध काम रोक्न भिडेका जन–प्रतिनिधि हुन बाँके डुडुवा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सगीर खाँ । उनले गिट्टी, बालुवाको अवैध उत्खननगर्नेहरुलाई रोक्न खोज्दा उनीमाथि नै सांघातिक आक्रमण भएको छ ।

जिल्लाका नदी र खोला नालाहरुबाट बालुवा, ढुंगा र गिट्टी निकाल्न पूर्ण रुपमा प्रतिवन्ध लगाईएको बेला केही तस्करहरुले बालुवा, ढुंगा र गिट्टीको निरन्तर उत्खनन गरिरहेको थाहा पाएर तिनलाई रोक्न खोज्दा वडा अध्यक्ष सगीरलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।
डुडुवाको वडा नम्बर ४ मा राप्ती नदीबाट अवैध रुपमा बालुवा गिट्टी र ढुंगा झिक्ने काम गर्दै आएका तस्करहरुको एक समुहले अध्यक्ष खाँ माथि विहिबार रातको समयमा आक्रमण गरेका छन् । रातको समयमा नदीमा जेसीबी प्रयोग गरी केही व्यक्तिहरुले बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न नदीमा पुगेका वडा अध्यक्षमाथि धारिलो हतियार तथा ढुंगा प्रहार गरेर गम्भीर आक्रमण गरिएको थियो । घाइते खाँलाई रातीनै एम्बुलेन्समा हालेर नेपालगञ्ज शिक्षण अस्पतालमा ल्याईएको थियो । हाल उनको उपचार त्यही भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तस्करहरुको आक्रमणबाट खाँको टाउकोमा गम्भीर चोट लागेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको चिकित्सकहरुले बताएका छन् । यता प्रहरीले अध्यक्ष खाँ माथि आक्रमणगर्ने दुई जनालाई पक्राउ गरेको जानकारी बाँकेका प्रहरी प्रमुख वीर बहादुर वलीले दिएकाछन् । पक्राउ पर्नेमा डुडुवा गाँउपालिकाका भोला यादव र दिनेश यादव रहेका छन । अन्य केहीको खोजी भैरहेको प्रहरीले बताएको छ । राती घटना भएको जानकारी पाए लगत्तै नेपालगञ्जबाट प्रहरी टोली पठाएर आक्रमण गर्नेहरुको खोजी गरिएको तथा घाइते वडा अध्यक्षलाई अस्पताल ल्याउन सहयोग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते खाँसंग घट्नाको जानकारी माग्दा उनले केही दिनदेखि रातीको समयमा ठुलो परिमाणमा बालुवा र गिट्टीको अवैध उत्खनन् गरेर आसार्ने कार्य भैरहेको सूुचना आएपछि सो रोक्न गएको बेला त्यहाँ रहेका तस्करहरुले आक्रमण गरेको बताए । उनले खोला नाला उत्खनन्मा रोक लगाईएको मौका छोपेर तस्करहरुले जेसीबीको प्रयोग गरेर उत्खननगर्दै टिपरमा भर्ने कार्य गरिरहेको बेला आफु त्यहाँ पुगेको बताए ।
यस बारेमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीसंग जानकारी माग्दा उनले नदी र खोलाहरुमा उत्खनन् रोकिएको बताए । उनले अहिलेको घटनाबारे अनुसन्धान भैरहेको जनाएका छन् । राप्तीनदीमा अवैध उत्खनन् गर्नेहरुलाई स्थानीय प्रहरी र गाउँपालिकाकै केही जिम्मेवार जनप्रतिनिधिहरुले सहयोग गरिरहेको स्थानीय बासिन्दाको आरोप छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री