नियम विपरित कर्मचारी भर्ना

काँग्रेस टुलुटुलु हेरेर नबस्ने

सिराज खान

नेपालगञ्ज । बहुमतको धाक देखाएर कोहलपुर नगरपालिकाले नियम प्रक्रिया बिपरित कर्मचारी भर्ना गरेको आरोप लगाउँदै नेपाली काँग्रेस कोहलपुरले मंगलबार कोहलपुर नगरपालिका र स्वास्थ्य शाखामा तालाबन्दी गरेको छ ।
स्थानीय तहको निर्वाचन सकिए लगत्तै बहुमतको आडमा कोहलपुर नगरपालिका भित्र अबैधानिक क्रियाकलापहरु निरन्तर भैरहेकाले त्यसको बिरोध स्वरुप काँग्रेस आन्दोलनमा उत्रिएको नेपाली काँग्रेस कोहलपुर नगर कमिटीका प्रवक्ता यज्ञ महराले बताए ।

 

उनले एकपछि अर्को गरी निरन्तर नियम र प्रक्रिया बिरुद्ध काम भैरहेकोले आन्दोलनमा उत्रिनु परेको बताए । ‘काँग्रेसले धेरै सही सक्यो अब टुलुटुलु हेरेर बस्न सकिंदैन, हामी अब कडा आन्दोलन गर्छौ’,प्रवक्ता महराले भने ।
नगर स्वास्थ्यमा करार कर्मचारी छनोटका लागि लोकसेवाद्धारा निर्देशित प्रक्रिया अवलम्वन गरिनुपर्ने, कोहलपुर नगरपालिकास्थित ११ नं. वडामा रहेको छोटो दुरीको बसपार्कमा देखिएको अवरोध हटाई निर्माण कार्य तत्काल सुरु गरिनुपर्ने, नगरपालिकाद्धारा हालसम्मको सम्पूर्ण आय ब्यय विवरण सहितको सार्वजनिक सुनुवाई गरिनुपर्ने लगायतका माग राखी कोहलपुर नगरपालिकामा तालाबन्दी गरीएको उनले बताएका छन् ।

कोहलपुर काँग्रेसले राखेका सबै मागहरु पुरा नभएसम्म नगरपालिका र स्वास्थ्य शाखाको तालाबन्दी नखुल्ने नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले बताइन् । उनले पार्टीको कोहलपुर कमिटीले गरेको आन्दोलनलाई जिल्ला कमिटीको पुर्ण समर्थन र सहयोग रहेको बताइन् ।

यसअघि सोमबार पत्रकार सम्मेलन मार्फत कोहलपुर काँग्रेसले नगरपालिकाले बहुमतको आडमा प्रतिपक्षीलाई कुनै पनि काममा वास्ता नगरेको जनाउँदै आन्दोलन गर्नेे चेतावनी दिएको थियो ।
सो बारेमा जानकारी माग्दा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कुनै पनि निर्णय नियम विपरित नगरिएको तथा बहुमतको दंभमा पनि नगरिएको जनाएका छन् । उनले यो तालाबन्दीको कुनै तुक नरहेको पनि बताए ।
असार १३ गते कोहलपुर नगरपालिकाको पाँचौ नगरसभामा विवाद भएपछि कांग्रेसले नगरसभा बहिष्कार गरेको थियो । थारु संग्रहालय राख्ने विषयमा विवाद नगरसभा बहिष्कारको मुख्य कारण थियो ।

टिप्पणी थप्नुहोस्