नेपालगन्ज प्लाष्टिक मुक्त शहर बन्ने

सिराज खान

नेपालगञ्ज । बजारभरी जताततै प्लाष्टिकका झोला र अन्य सामग्रीहरु फालाफाल भएको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिकाले शहरलाई प्लाष्टिक मुक्त बनाउने उद्घोष गरेको छ । प्लाष्टिकको प्रयोगले नालाहरु थुनिनुका साथै फोहोरका कारण विभिन्न प्रकारका रोगहरु समेत फैलिन सक्ने भएकोले विहीबार मात्रै सम्पन्न भएको पाँचौ नगरसभाले नेपालगञ्जलाई प्लाष्टिक मुक्त शहर बनाउने निर्णय गरेर अभियान चलाउने जनाएको छ ।
देशकै सबैभन्दा पुरानो शहर नेपालगञ्जलाई प्लाष्टिक मुक्त शहर बनाउने निर्णय गर्दै यो अभियानलाई उच्च प्राथमिकता दिने निर्णय नगरसभाले सर्वसम्मत रुपमा गरेको उपमहानगरका प्रमुख डा. धवल शमसेर राणाले बताए । उनले प्लाष्टिकको विकल्पका रुपमा कपडाको झोला र अन्य सामग्रीलाई प्रयोगमा ल्याउन शहरमा अभियान चलाइने बताए ।

यस्तै आगामी आर्थिक बर्षदेखि काम सुरु गर्ने गरी नगर विकास कोषको सहयोगमा बागेश्वरी मन्दिर नजिक अत्याधुनिक शपिङ्ग कम्प्लेक्स निर्माण गर्ने ठुलो योजनालाई पनि नगरसभाले पास गरेको छ । ७० करोड बढीको उक्त परियोजनालाई नगरसभाले लामो छलफल पछि पारित गरेको थियो । भूमिगत पार्किङ्ग सहितको सात तले उक्त कम्प्लेक्सले नेपालगञ्जलाई महानगरको ‘सिम्बोलिक’ पूर्वाधारका रुपमा प्रतिनिधित्व गर्ने प्रमुख राणाले बताए ।

महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क जस्ता परियोजनाको पूर्णताले नगरलाई सुन्दर बनाएको नगर प्रमुख डा. राणाले जनाए ।

नौ दिनको छलफलपछि २ अर्ब २८ करोड ८५ लाख ५४ हजार रुपैयाँको बजेट पारित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाको पाँचौ नगरसभा विहिबार सम्पन्न भएको छ । असार १० गते शुरु भएको उपमहानगरपालिकाको पाँचौ नगरसभाव्दारा प्रस्ताव गरिएको २ अर्ब २८ करोड ८५ लाख ५४ हजार रुपैयाँको बजेट पारित गर्नुका साथै आगामी आर्थिक बर्षका लागि विभिन्न योजनाहरु पास गरेको उपमहानगरका उप प्रमुख उमा थापाले जानकारी दिइन । उनले करको दर वा दायरा नभई संकलनको दायरा बढाइएको पनि जानकारी दिइन् ।

टिप्पणी थप्नुहोस्