नेपालगञ्जमा पिउने पानीको संकट

पानी उद्योगले प्रशोधन गरेको पानीको विक्री बितरण गरिंदै ।

सिराज खान

नेपालगञ्ज । नेपालगञ्ज नगरभित्र बाक्लो जनसंख्या भएको क्षेत्रमा जताततै पानी प्रशोधन गर्ने उद्योगहरु खोल्ने अनुमति दिईएपछि ती क्षेत्रमा पिउने पानीको संकट उत्पन्न भएको छ ।

गर्मीको बेला पानीको सतह घट्ने गरेको हुँदा पानी प्रशोधन उद्योगले धेरै पानी तान्ने गरी बोरिंग गरेर पानी तानिरहेकोले सो वरिपरिका क्षेत्रमा जमिनबाट पानीनै आउन छाडेर पिउने पानीको संकट उत्पन्न भएको स्थानीयले जनाएका छन् ।

शहरको घना बस्ती भित्रका पानी उद्योगहरुका कारण विभिन्न स्थानमा पिउने पानीको संकट आएको वडा नम्बर ११ का स्थानीय गयास सिद्दिकीले बताए । उनले पानी उद्योगकै कारण हाते नलमा पानीनै आउन छाडेपछि समस्या भएको जनाए ।

पानी उद्योगका कारण नगरका भित्री बस्तीहरुमा पिउने पानीको संकट गहिरिएको गुनासो आएपछि नेपालगञ्ज उपमहानगरपालिकाले त्यस्ता पानी उद्योग बन्द गर्ने निर्णय गरेको छ । ती उद्योगलाई घनाबस्तीबाट बाहिर एकान्त र खुला ठाउँमा तत्काल सार्न निर्देशन जारी गरिसकिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुसार, पानीको समस्या भएर गुनासा आएका क्षेत्रमा रहेका उद्योगलाई तत्काल सार्ने प्रक्रियाका लागि आवश्यक निर्देशन दिइ सकिएको छ ।

जथाभावी पानी उद्योग खोल्न इजाजत दिईएकोले नै नगरका विभिन्न क्षेत्रमा खानेपानीको संकट गहिरिएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले बताए । ‘उक्त कुराको जानकारी सम्बन्धित निकायहरुलाई पठाएका छौं’, घना बस्ती विचका उद्योगलाई अब केही दिन भित्रै बाहिर सारि सक्नुपर्नेछं।’ प्याकुरेलले भने ।

पानी उद्योग संघ बाँकेका पूर्व अध्यक्ष रचना श्रेष्ठले पानी उद्योगका लागि अनुमति दिंदा नै सबै कुरा बिचार गर्नु पर्ने जनाएकी छन् । जथाभावी उद्योग सञ्चालनको इजाजत दिइँदा अहिले यो समस्या आएको उनको भनाई छ । नेपालगञ्जमा खानेपानी संस्थानले वितरण गरेको पानीमा फोहोर मिसिएको पटक पटक पाईएपछि प्रशोधित पानीको माग अत्याधिक बढेको छ । सोही कारणले हाल नेपालगञ्ज र सो वरिपरि करिब ४० वटा पानी उद्योग सञ्चालनमा रहेका छन् ।

टिप्पणी थप्नुहोस्