सप्ताह श्रवणमा सभापति

  • किशोर नेपाल

चारदिन देखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमद्भागवत महापुराण श्रवण गर्दैछन । बोलिचालीको भाषामा ‘सप्ताह’ भनिने यो अनुष्ठानको धार्मिक महत्व मात्रै होइन, सामाजिक महत्व पनि उत्तिकै रहेकोछ । सप्ताह श्रवणगरी पुण्य कमाउनका लागि अतिथिहरुलाई निम्त्याइन्छ । प्रसादको ब्यबस्था हुन्छ । सहभागीहरु अनुष्ठानको भब्य आयोजना देखेर प्रभावित हुन्छन । अन्ततः यो लोक पनि सप्रिने र परलोक सप्रिने बाटो पनि खुल्ने वातावरण तयार हुन्छ । कांग्रेस सभापतिव्दारा आयोजित अनुष्ठान भएकाले ‘साइडलाइन’ राजनीतिक वार्ताहुनु स्वाभाविक नै हो । अहिलेका लागि वार्ताको मूल बिषय कांग्रेस एकता नै हो । देउवा बिरोधीहरुको निष्कर्ष छ, देउवाले पार्टी सखाप पारे । देउवा समर्थकहरु रनभुल्लमा परेका छन – यस्तो अवस्थामा छन उनीहरु – हो पनि भन्न नसक्ने र होइन पनि भन्न नसक्ने । के हो, के होइन ? कसरी भन्नु ?

कांग्रेस जति बिरामी छ त्यो भन्दा बढी नै चर्चा छ । यसको रोगको चर्चा गरेर समाचारपत्रका पाना भरिएका छन । रोगको ठहर पनि भै सकेकोछ । तै पनि, उपचार भएको छैन । गूटहरुले भरिएको छ अहिलेको कांग्रेस । शुरुमा नेता रामचन्द्र पौडेलमात्रै सभापति देउवाको हकदार प्रतिपक्ष थिए । अहिले त जो पनि प्रतिपक्ष नै छन । यस्तो अवस्थामा कांग्रेसको नाउ कसरी पार लाग्ने हो ? कसैले भन्न सक्दैन । यति पक्कै भन्न सकिन्छ अहिले कांग्रेसमा देखिएका अनुहारबाट यसको बेडा पार लाग्दैन । कांग्रेस नयाँ बन्न खोज्दैछ । यसलाई राजाको सक्रिय शासनको निरन्तर बिरोधगर्दै आएका ‘ग्य्राण्ड ओल्ड जेन्टलम्यान’ हरुले आ–आफनै खोकिलामा राख्न खोजेका छन ।
कांग्रेसले पछिल्लो चुनावमा निकै ठूलो पराजय बेहोर्यो । संघीय र प्रादेशिक चुनाव बाहेक स्थानीय तहमा समेत परिणाम राम्रो आएन । पराजयको जिम्मेवारी र जवाफदेही आफनो काँधमा लिएर सभापति देउवाले राजिनामादिने साहस गरेका भए उनको महानता देखिने थियो । उनको नाम पनि रहने थियो । सभापतिको अर्को चुनावमा उनी बिकल्पका रुपमा रही रहने थिए । अहिलेको जस्तो कांग्रेसका लागि उनी दायित्व वा बोझहुने थिएनन । देउवाले सोच्नुपर्ने कुरा यति नै हो कि अहिले उनका वरपर जतिपनि समर्थक देखिएका छन ती सबै छटपटाएका आत्माहुन । उनीहरु सबै मानसिक दवाव र तनावमा छन । सबैको मनमा देउवाका दौराको फेर समातेर राजनीतिक सफलता प्राप्तगर्ने चिन्तन रहेको छ । ती सबै भोलिका दिनमा देउवाको राजनीतिको भरोसा होइनन । राजनीतिमा देउवाले अव गर्नुपर्ने योगदान पनि केही छैन । कांग्रेसका डेढ दर्जन नेता र कम्युनिष्टका तीन दर्जन नेताले देशका लागि दिनुपर्ने जति योगदान २०४६ सालको राष्ट्रिय जन–आन्दोलनका समयमा नै दिइ सकेका छन । अब यिनीहरुले गर्नुपर्ने र गर्नसक्ने योगदान केही छैन । २०४६ सालपछिका कांग्रेस र कम्युनिष्टका नेताहरुमा राष्ट्रचिन्तनको भाव शून्य छ । यिनीहरुलाई नयाँ जमानाको नयाँ आग्रहका बारेमा केही थाह छैन । प्रादेशिक सीमानाको निर्धारणगर्दा यिनीहरुले देश र जनताको हितमा होइन, आफनै हितमा कामगरे । सीमा निर्धारणका बेला समावेशी समाज निर्माणको ठूलो अवसर थियो । त्यो अवसर मात्र गुमेन, भविष्यका लागि समेत अप्ठेरो बाँकी रह्यो ।

कांग्रेसका धेरजसो नेता र कार्यकर्ताहरु नेपाल बिद्यार्थी संघ, महिला संघ, तरुण दल, किसान संघ लगायतका संगठनहरु भद्रगोल भएको गुनासो गर्दछन । कार्यकर्ताहरुको मूल्यांकन नभएको चिन्ता गर्दछन । यो अस्वाभाबिक होइन । कांग्रेस प्रतिबन्धित अवस्थामा रहेका अवस्थामा पनि गणेशमानजी, किशुनजी र गिरिजा बाबुसंग कार्यकर्ताको गुनासो मूल्यांकनकै हुन्थ्यो । पार्टी संगठनको सुदृढीकरण हुन्थ्यो । त्यतिबेला पनि कांग्रेसका संगठनहरु असरल्ल नै हुन्थे । नेपाल बिद्यार्थी संघ त अहिलेको नेता समाजको पूmटवल ग्राउण्ड नै थियो । अहिले पनि त्यस्तै छ । यो नयाँ कुरा भएन । यसैपनि लोकतान्त्रिक पार्टीको संगठन रोबोट–संचालित हुँदैन । साम्यवादी पार्टीको पारामा लोकतान्त्रिक पार्टी चल्न पनि सक्दैन । कांग्रेसको समस्या यो हुँदै होइन । यसको समस्या के गर्ने ? भन्ने हो । पार्टीले आफना कार्यकर्तालाई ब्यस्तराख्न कुनै कार्यक्रम दिन सकेको छैन । नेता हौं भन्नेहरुको अनुहारमा नेतृत्वको चमक छैन । हिजोका दिनमा बीपी कोइरालाबाट उत्प्रेरणा पाएका कार्यकर्ता निकै कम भएका छन । गणेशमानजी, किशुनजी र गिरिजाप्रसादका राजनीतिक संस्कारबाट प्रभावितहरुको संख्या पनि घटदोछ । अहिलेका नेताहरु ‘प्रसाद’ वितरणमा बिश्वास राख्दछन । यो राजनीतिको छोटो र घटिया बाटो हो ।

अहिले कांग्रेस प्रतिपक्षमा छ । प्रतिपक्ष संख्याले चल्ने होइन । प्रतिपक्ष इस्यूका आधारमा अघि बढनु पर्दछ । अहिलेसम्म प्रतिपक्षले इस्यू उठाएर जनतासंग बिरोधको आड भरोस मांगेको छैन । गुठी बिधेयकमा कांग्रेसले उर्जा देखाए पनि अन्य बिधेयकहरुमा उसको ध्यान गएको छैन । प्रतिपक्षसंग लोकप्रिय भाषामा लोकप्रिय भाषा बोल्ने एकदर्जन सांसद वक्ता पनि छैनन । कांग्रेसको संसदीय प्रचार उत्तिकै फितलो छ । सूक्ष्म हिसावले हेर्ने हो भने, कतिपय अवस्थामा कांग्रेसलाई सरकारी पक्षले जिल्ल्याएको हुन्छ । कतिपय अवस्थामा कांग्रेस र प्रतिपक्षको स्रोत पनि एउटै भएको हुन्छ । पछिल्ला काण्डहरुका सम्बन्धमा बालुवाटार र बूढानीलकण्ठका बीच कनेक्सनको चर्चा चल्यो । यो चर्चा त्यत्तिकै चलेको थिएन । कहीं न कहीं कनेक्सन त थियो नै । काठमाडौ उपत्यकाको घरानिया बर्ग राजनीतिक दलले के सिध्दान्त बोकेको छ ? त्यो हेर्दैन । राजनीतिक दल आफनो लागि कति भरपर्दोछ ? त्यो हेर्छ । त्यो बर्गका लागि अहिलेका कांग्रेस कम्युनिष्ट एकै हुन, जसरी हिजोका कांग्रेस, एमाले र माओवादी एकै थिए । यो गणराज्यका घरानियाँहरुको सोच पैसाले सबैलाई तह लाउन सक्छ भन्ने रहेको छ । नेताहरुलाई पैसा नभै राजनीतिको संचालन सम्भव छैन भन्ने सोचले थिचेको छ ।

कांग्रेसको कुरागर्ने हो भने हिजोका दिनमा अरु पार्टीहरु कांग्रेसको अनुसरण गर्थे । अहिले कांग्रेस अन्य पार्टीको अनुसरणगर्न थालेकोछ । २०४६ सालको राष्ट्रिय जन आन्दोलनसम्म कांग्रेस मूल्य र मान्यताको बाटोमा थियो । त्यसपछिको समय देशका लागि, कांग्रेसका लागि, कम्युनिष्टका लागि र सबैका लागि दुर्दमनीय बन्यो । मूल्य र मान्यतालाई ब्यापार ब्यबसायले थिच्यो । उपभोगवाद र उपयोगवाद समाजको सूत्र बन्यो । यही हो समस्या जसको समाधान कार्यकर्ताहरु नेताहरुको अभिशप्त अनुहारमा खोज्दैछन ।

जे भएपनि, कांग्रेस सभापति शेरबहादुर देउवाको आंगनमा सप्ताहको आयोजन भएको छ । यो आयोजन सबैका लागि अवसर बनोस । हरि अनन्त, हरि कथा अनन्त !!!

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री