मार्ने र मर्ने क्रम जारी

  • रोमन आचार्य

काठमाडौं । सरकारले वार्ताको रटानदिन छाडेको छैन । नेपाल कम्युनिष्ट पार्टीका सह अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विप्लव मूलधारमा फर्किनेमा बिश्वस्त देखिन्छन । तर, प्रतिवन्धमा परेर भूमिगत भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव) समूह सरकारसँग निरन्तर मुठभेडको स्थितिमा पुगेको छ । बुधवार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार घटनामा दुई जनाले ज्यान गुमाएका छन् ।

भोजपुर सदरमुकामको हटिया लाइनमा दुई पक्षबीच गोली हानाहान भएको थियो । घटनामा परि प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका निरकुमार राईको मृत्यु भएको हो । प्रजिअ खतिवडाका अनुसार राई विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज हुन् । घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार पछिल्लो समय भोजपुरमा उत्त समूहको शंकास्पद गतिविधि बढेको सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा गोली हानाहानको स्थिति सृजना भएको हो ।

विप्लवको हिंसात्मक गतिविधि

गत जेठ ८ मा प्रहरीको गोली लागेर भोजपुरमा तीर्थराज घिमिरेको मृत्यु भयो । घिमिरे विप्लव समूहका कार्यकर्ता थिए । यसैको विरोधमा विप्लव समूहले २०७६ जेठ १२ गते सोमबार नेपाल बन्दको आव्हान गर्‍यो । बन्दको अघिल्लो दिन नै समूहको योजनामा तब असर पर्‍यो, जब दुई ठाउँमा अनपेक्षित ढंगले वम विष्फोट भयो । धमाधम विप्लवको कार्यकर्ता पक्राउ परे ।

समूहले २०७६ जेठ १२ गते आइतबार राजधानी काठमाडौंको दुई स्थानमा बम विष्फोट गराएको थियो । राजधानीको सुकेधारामा रहेको एक सैलुनमा बम विष्फोट हुँदा तीन जनाले ज्यान गुमाए र तीन जना घाइते भए । यही समूहले त्यसै दिन सिंहदरबार नजिक घट्टेकुलोमा रहेको एउटा घरमा वम विष्फोट गरायो । घटनामा प्रज्ज्वल (विशाल) शाहीको मृत्यु भयो । अर्का एक जना घाइते भए । घाइते रविन केसी हुन् ।
यो समूहले २०७५ फागुन १० गते शुक्रबार साँझ ललितपुर नख्खुचोक नजिक एनसेल टावरमा बम विष्फोट गराएको थियो । उक्त घटनामा सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । विष्फोटमा परि प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका थिए ।

नख्खुमा बम पड्काएसँगै सरकारको प्रतिवन्धमा विप्लव समूह परेको हो । यसैको प्रतिकृया स्वरुप विप्लवले सरकारलाई काउन्टर दिइरहेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार हालसम्म प्रहरी कारवाहीमा विप्लवका २ जना कार्यकर्ताले सर्लाही र भोजपुरमा ज्यान गुमाएका छन् । वम विष्फोटमा परि ५ जना विप्लव कार्यकर्ताले ज्यान गुमाउँदा १ जना निर्दोष सर्वसाधारणको पनि ज्यान गएको छ । हालसम्म ७ जना घाइते भएको तथ्यांक छ । यो समूहले अहिलेसम्म १८ स्थानमा वम विष्फोट, १० स्थानमा आगजनी तथा तोडफोडको घटना गराएको छ । ९५ थान बम निष्कृय भएका छन् ।

सरकारी तथ्यांक

गृह मन्त्रालय स्रोतका अनुसार सरकारले प्रतिवन्ध लगाउनु अगाडि यो समूहका १ सय ९० जना कार्यकर्ता पक्राउ परेका थिए । यी मध्ये १ सय ७२ जना बिरुध्द प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो । सरकारले प्रतिवन्ध लगाएपछि असार २३ गतेसम्ममा ५ सय ७३ जना पक्राउ परिसकेका छन् । यी मध्ये ८१ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । यस्तै ८६ जना अनुसन्धानकै क्रममा रहँदा ५ सय २४ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ३९ जना सोधपुछ पश्चात् छुटेका छन् । यस्तै ३६७ जना मुद्धा दर्ता भई छुटेका छन् । ३ सय ५२ जनाले समूह परित्याग गरेका छन् । स्रोतका अनुसार हालसम्म २३ नाल हतियार बरामद भएको छ । जसमा ए.एम १६–ए२ एक थान बरामद भएको छ । यस्तै एल.एम.जी राईफल, एस.एल.आर एक एक थान तथा राईफल, रिभोलभर तीन तीन थान बरामद भएको छ । समूहबाट एस.एम.जी दुई थान, पेस्तोल ७ थान र घरेलु हतियार ५ थान बरामद भएको छ । विप्लव समूहबाट प्रहरीले हालसम्म ४ सय १७ राउण्ड गोली बरामद गरेको छ ।

विप्लवको माग

यो समूहले २०७२ असोज ३ मा जारी भएको नेपालको संविधान खारेजीको माग गरेको छ । समूहले वर्तमान संविधानलाई ‘जबर्जस्त नेपाली जनतामाथि लादेको बोझ’ को संज्ञा दिएको छ । जनयुद्ध, जन–आन्दोलन, माओवादी र संसदवादी दलबीच विस्तृत शान्ति सम्झौता भएको समूहले ठहर गर्दै संविधानले ‘जनयुद्ध र शान्ति सम्झौताले अस्वीकार गरेको संसदीय व्यवस्थालाई नै पुनस्र्थापनागर्ने काम गरेको’ आरोप लगाएको छ । उसले यो कार्यलाई सीधा अग्रगमन, परिवर्तन र जन–अधिकारका विरुद्ध भएकाले पार्टी पूर्ण रूपले अस्वीकारगर्ने विज्ञप्ति निकालेको थियो । संघीय लोकतान्त्रिक व्यवस्थाको ठूलो उपलव्धि अर्थात् निर्वाचन वहिष्कार गर्‍यो ।

समूहले एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा अगाडि सारेर ‘नयाँ जनवादी क्रान्तिको पुल पार गर्दै वैज्ञानिक समाजवाद स्थापना’को लक्ष्य राखेको छ । शहरिया मध्यम वर्गको समर्थनमा नयाँ शैलीको क्रान्ति, राष्ट्रिय स्वाधीनता माथिको सङ्कट निवारण, नेपाली भूमि लिपुलेकलाई व्यापारी प्रयोजनका लागि प्रयोग गर्ने सझौताको खारेजी, कम्युनिस्ट पार्टी र सरकारसँग सन्तुलित सम्बन्ध तथा पुँजीवादी देशहरूसँग सङ्घर्ष र सन्तुलनको नीति बनाएको छ । विप्लव समूहले दाल, चामल लगायतका दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशत सहुलियत दिन सरकार समक्ष ज्ञापनपत्र बुझाएको तीन वर्ष वितेको छ ।

सुस्त सुरक्षा प्रशासन

समूहले निरन्तर आफ्नो हिंसात्मक गतिविधि सञ्चालन गरिरहँदा सरकार मुकदर्शक बनेको छ । गृहमन्त्री रामबहादुर थापा बादल संसदको रोष्टममा उभिएर विप्लवले चार कम्पनीको सेना बनाएको ‘घोषणा’ गरीरहेका छन् । विप्लव समूहले जनसरकारका रुपमा जनपरिषद् नामक संस्था गठन गरेको दाबी गरिरहेको छ । वादलले विप्लवको निसानामा उपत्यका परेको भन्दै विप्लवले गराएको विष्फोटमा नागरिकको मृत्यु नभइ उसका कार्यकर्ताको मात्र मृत्यु भएको दाबी गरेका थिए ।

आन्तरिक सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र ‘ब्याक फोर्स’का रुपमा सशस्त्र प्रहरी छ । आवश्यक्ता अनुसार ‘टेक्निकल’ सपोर्टका रुपमा नेपाली सेना पनि छ । संभावित सुरक्षा चुनौतीको विश्लेषण गरी सरकारलाई पूर्वसूचना उपलब्ध गराउन गुप्तचर निकाय छ । तर, गुप्तचर संस्थाहरु आफ्नो क्षमता अनुसार काम गर्न सकिरहेका छैनन् ।

आफ्नो कार्यकर्ता मारिएसँगै विप्लव समूहले १३ गतेलाई नेपाल बन्दको आवहान गरेको थियो । यसअघी पनि अराजक गतिविधि गर्दै आएको समूहले निम्त्याउन सक्ने जोखिमको बारेमा सुरक्षा निकायबीच गहन छलफल र त्यसलाई रोक्ने तयारी हुनुपर्‍थ्यो । तर, त्यसो हुन सकेन । परिणाम अघिल्लो महिनाको १२ गते चार जनाले ज्यान गुमाउनु पर्‍यो । त्यो घटना सिंहदरवार र नेकपाको कार्यालयलाई निशाना बनाएर गरिएजस्तो देखिन्थ्यो । तर, गुप्तचर निकाय यसबारे वेखबर रहे । विस्फोटस्थलमा भेटिएको पर्चाको आधारमा मात्रै प्रहरीले विप्लवको संलग्नता रहेको थाहा पायो । राष्ट्रिय अनुसन्धान विभागका पूर्व अधिकारीहरु नै गुप्तचर संस्थाको फेलिएर प्लान भएको स्विकार गर्छन् । यो समस्या समाधान गर्न गृह प्रशासन नतिजामुखी रणनीति बनाएर काम गर्नु ढिला गर्न हुँदैन ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री