कान्जी हाउस कि बधशाला ?

कान्जी हाउसमा खान नपाएर मरेको एक गाई ।

सिराज खान

नेपालगन्ज। नेपालगन्ज उप महानगर पालिकाको लापरवाही र गैर जिम्मेवार कार्यले गर्दा छाडा पशुहरुको उचित व्यवस्थापनका लागि बनाईएको कान्जी हाउस नै पशुहरुको मृत्युशालामा परिणत भएको छ ।

उपमहानगरपालिकाले पुरैनाको बिर्तामा बनाएको कान्जी हाउसमा पशुहरुले पर्याप्त खानेकुरा पाएका छैनन । अत्याधिक गर्मीको मौसममा गाई-गोरुको राम्रो हेरचाह नहुदा गत एक महिना यता मात्र दर्जन बढी गाईहरु मरेका छन् ।

नगरका विभिन्न स्थानबाट समातेर त्यहाँ पुरयाईएका छाडा पशुहरुको कुनै हेरचाह नगरिनुका साथै लामो समयसम्म उनिहरुलाई खानेकुरा समेत नदिंदा त्यहाँ रहेका गाई एकपछि अर्को गरि मरिरहेको स्थानीयले जनाएका छन् ।

कान्जी हाउसमा अहिले १ सय ७० वटा गाई रहेका छन् भने ४ वटा घोडा–खच्चड पनि राखिएका छन् । त्यहाँ रहेका १ सय ७० वटा गाईहरुमध्ये तीन वटा गाई ढलेका छन् । एउटा गाई मर्ने अवस्थामा पुगेको छ । गत एक महिना यता मात्र गर्मी र खान नपाएर दर्जन बढी गाईहरु मरेको स्थानीय दिपक यादवले बताए । कान्जी हाउसमा थुनिएका गाईहरुको कुनै पनि हेरचाह र रेखदेख नगरिएको उनले बताए ।

कान्जी हाउसको राम्रो व्यवस्थापन गर्नको लागि उपमहानगरपालिकाले माघको दोस्रो साताबाटै दुई जना कर्मचारी खटाएको भएपनि ती कर्मचारीले कुनै रेखदेख नगरेको र पर्याप्त मात्रामा खाना नदिएको कारण गाई मर्ने क्रम जारी रहेको यादवको भनाई छ ।
उपमहानगरपालिकाले छाडा पशुको संरक्षणको लागि बनाएको कान्जी हाउस अहिले गौ हत्या हाउसमा परिणत भइरहेको स्थानीयको भनाई छ ।

उपमहानगरपालिकाले नगरको विभिन्न सडकमा छाडा रुपमा छाडिएका गाई लगायतका पशुहरुलाई नियन्त्रणमा लिई कान्जी हाउसमा राख्दै आएको छ । कँंजी हाउसमा राखिएका मध्ये तीनवटा गाईहरु अहिले मरेको अवस्थामा हुँदाहुँदै पनि नउठाईएकोले कुहिएर दुर्गन्ध फैलिएको छ । सो दुर्गन्धले वरिपरिको बस्तीलाई समस्या परेको स्थानीयको गुनासो छ । मरेको गाईको दुर्गन्धकाबाट अन्य रोग फैलिन सक्ने र सो रोगबाट अन्य गाईहरुसमेत प्रभावित हुने भएकाले अन्य गाईहरु पनि मर्न सक्ने स्थानियले बताएका छन् ।

काँजी हाउसमा रहेका गाईहरुको खानपिन र अन्य आवश्यकता पुरा गर्न तत्काल कदम उठाउनु पर्ने माग नगरका विभिन्न मानवअधिकारवादी संघसंस्थाले अघि सारेका छन् । सो बारेमा अनुगमन गरेर सत्य तथ्य पत्ता लगाउने उनिहरुले जनाएका छन् ।

टिप्पणी थप्नुहोस्