लेखक संगठनलाई पार्टीको भ्रातृ संगठन बनाएपछि स्वतन्त्रताको औकात कति रहन्छ ?

संवाद :  तीर्थ श्रेष्ठ
प्रस्तुति :  किशोर नेपाल

  • हिजोआज तपाईंको अधिकांश समय विन्ध्यवासिनीमन्दिर परिसरमा वित्नथालेको छ । यसले तपाईको जीवनमा कस्तो परिवर्तन आउन लागेको संकेत गर्छ ?

यसको कुनै विशिष्ट कारण छैन । बाल्यकालमा मन्दिर परिसरमा बसेर पढियो । मैले अक्षरसँग परिचित हुने अवसर यहीँ पाएको हो । यो मेरा लागि यस्तो धाम हो जहाँ मैले अक्षर चिनें र फुटवल खेल्न सिकें । साथीहरु बनाएँ । अनेक उल्का र उपद्रव गर्ने, बदमासी गर्ने काम यहीं भए । पछि, राजनीतिमा अभ्यस्त हुँदै गर्दा पनि यो मन्दिर परिसरको उपयोग गरिएको छ । हाम्रो सांस्कृतिक संस्था पनि यहीं थियो । २०४०–४२ सालदेखि कार्यालय स्थापना गरेर राखिएको । पोखरामा संगीत सम्बन्धी प्रशिक्षण दिने संस्था पनिखोल्यौं । त्यसको कार्यालय पनि यही मन्दिर परिसरमा राख्यौं । पुण्य कमाउने ललक र लालसा होइन मेरो । म अत्यन्त आध्यात्मिक भएर मन्दिर उक्लिएको पनि हैन । विन्ध्यवासिनीको मन्दिर र यसको परिसरलाई कसरी सुन्दर बनाउने भन्ने भावना मात्रै हो मेरो ।

  • तर, तपाईंलाई राम्ररी चिन्ने मानिसहरुले राजनीति सँग तपाईंको विरक्तिलाई पनि मन्दिर सेवा संग जोडेर हेर्ने गरेका छन । राजनीतिक रुपले एक समय पोखराको एकदमै सक्रिय मान्छे हो तीर्थ ।

यसको कारण राजनीति प्रतिको बित्रिष्णा त हुँदै हो । राजनीतिमा जुन किसिमको जोडजाम र चाकरी चल्न थाल्यो, हाम्रा लागि त्यो सहज अवस्था भएन ।हामी आत्मसम्मान र स्वाभिमानका लागि राजनीतिमा लागेका मानिस हौं । त्यसको बिपरित अबस्थामा राजनीतिमा टिक्न कै लागि मात्र त्यस्तो तिकडम गर्ने त कुरै थिएन । हामीले राजनीति आदर्शबाट शुरु गरेका थियौं, सारै प्रष्ट तरिकाले । अहिले त राजनीतिको उद्देश्यहरु नै परिवर्तित हुन थाल्यो । ब्यापारीहरु, जग्गा-दलालहरु र बिभिन्न स्वार्थका संरक्षकहरु राजनीतिमा हावी हुन थाले । राजनीतिको आदर्श नै समाप्त भएको ठाउँमा हामी बसिरहनुकोऔचित्य रहेन ।

राजनीतिमा लागेर सामाजिक विकास निर्माणका काममा लाग्न सकिन्छ कि भन्ने सोच त थियो पहिले देखिनै । आफ्नो ठाउँलाई सुन्दर बनाउने, विकास सम्पन्न बनाउने जुन इच्छा थियो त्यो इच्छा राजनीतिमा लागेर पुरा हुने छाँट देखिएन । काम गर्ने मान्छेलाई ठाउँ पनि चाहिंदो रहेछ । म पोखरा नगरपालिकाको मेयर भएर त्यो काम गर्न पाउने अवसर त छैन । वडा-अध्यक्ष हुने मेरो रुचि हैन । भनेपछि, मेरो विकास गर्ने चाहना, सानै रुपमा भएपनि,यही मन्दिर परिसरमा साकार गर्ने प्रयत्नमा लागेको छु । मनमा पक्कै लागेको छ – केही गरेर देखाउन सकिन्छ ।

  • साहित्यमा यस्तो किसिमको विकल्प खोज्न सकिदैन थियो ?

मैले आख्यान लेख्ने प्रयत्न गरेको हो । आख्यान मेरो स्वभाव संग मिल्ने जस्तो मलाइ लागेन । कविता पनि कुन-कुन विषयमालेख्ने ! कति लेख्ने ? साहित्य पनि, अहिले विश्लेषण गर्ने हो भने, राजनीतिभन्दा राम्रो अवस्थामा छैन । गुटबन्दी बढी छ । एउटा टिम बनाउने, एकले अर्कोलाई उचाल्ने र थचार्ने । यो नकारात्मक प्रवृत्ति साहित्यमा देखा परेको छ । त्यसो त, यी सबैबाट अलग्गै बसेर लेख्न नसकिने होइन।कविता ज्यादैं फुर्सदमा लेख्ने विषय पनि होइन । योजना बनाएर लेख्नुपर्ने र हतारमा लेख्नुपर्ने विषय त हुँदै होइन ।

  • त्यसो भए कविता फुत्त दिमागमा आएको बेलाटिपी हाल्ने…

कति कविता त दिमागमा आयो र लेखियो पनिहोला । तर एउटा सानो कविता लेख्न तीन महिना लाग्यो । मेरा दुई तीन वटा कविता त्यस्ता भए । ती कविता राम्रैमा गनिएपनि । जस्तो, लाहुरे फूलको कविता लेख्दा मलाई झण्डै तीन महिना लाग्यो । हिमाली क्षेत्रका नामहरुको साइजमा आउनलाई मलाई झण्डै तीन महिनानै लाग्यो । कहिलेकाही एउटै बसाईमा दुई चार वटा कविताहरु पनि लेखिएको छ ।

एकथरि मान्छे ढोका खुलेन भने ढकढक गरेर बस्छन र अर्काथरि खुलेन त खुलेन भनेर हिड्छन । म चाहिँ खुलेन त खुलेन भनेर हिड्ने खालको मान्छे भएँ । दुइ-चारवटा कविता कोर्ने प्रयाश गरे । पछिल्लो कालखण्डमा चाहिँ कविता लेख्न अलिकति ‘ग्याप’ आवश्यक छ कि भन्ने लाग्न थालेको छ । एउटै लाइनमा एउटै प्रकारका उही विषय वस्तुमा रुमलिएर बस्ने भन्दा अलिकति फरक होस।

  • अघि तीर्थले एकै पल्टमा ३, ४ वटा कविता लेखेको बतायौ । यस्तो पनि संभव हुँदो रहेछ ?

हुन्छ दाई, यो सम्भव हुन्छ । मैले लम्जुङ्को भुजुङ्गमा सातवटा गीत र दुईवटा कविता एउटै बसाईमा लेखें । एकनासले । एक चोटी धाराप्रवाहमा भावना आएपछि लगातार लेख्दै जाने क्रम अघि बढ्यो । त्यतिबेला लेखिएका गीतहरु रेकर्ड पनिभए । कति मन पराइए। ती गीत एउटै समयमा लेखिएका थिए । संस्मरण लेख्ने क्रममा कहिले कहीं तिथिमितिको खोजी राम्ररी भएन भने घटना तलमाथि हुनसक्छ । यस्तो थाह नभएका कुराको सोधीखोजी गर्नुपर्छ मानिसहरुसँग । कवितामा यस्तो आवश्यकता हुन्छ जस्तो मलाई लाग्दैन ।

  • कविताले यति विधि चर्चा पाएकोछ र पनि यसले खासै महत्व पाएको छैन । कविताको सिर्जनात्मक पक्षलाई तिखार्न सम्यक आलोचना हुनुपर्ने, कवितामाथि छलफल हुनुपर्ने, भाषा शुद्धिकरणमा जोड दिनुपर्ने र शैलिगत विविधता पहिल्याउनु पर्ने काम हुन सकेको छैनन ।किन होला यस्तो तीर्थ ?

साँच्चै नै कविताको उँचाइ बढाउने काम भएका छैनन । भन्दा नमिठो सुनिए पनि यथार्थ यही हो । नेपाली साहित्यमा समीक्षकहरुको साह्रै ठूलो अभाव छ । अझ नयाँ पुस्तामा त टिप्पणी गर्ने मान्छे नै छैनन जस्तो लाग्छ । कहिलेकाही कोही झलाक-झुलुक आउँछन् । एक चोटी लक्ष्मी गौतमका बा आए। अहिले महेश गौतमले अलि-अलि प्रयास गरेको देखिन्छ । एउटा समयमा अभि सुवेदी लाग्नुभयो । कवितालाई समीक्षाको विषयबस्तु बनाएर लेख्ने मान्छे हो उहाँ । त्यसपछि धेरै कम देखिन्छन। अहिले नेपाली साहित्यमा हेर्ने हो भने कृष्ण चन्द्र सिंह प्रधान पछि समालोचनाको क्षेत्रमा खडेरी लागेको छ । भूपि शेरचनको जति चर्चा भयो, उनका समकालीन, त्यति नै राम्रा कविहरुको चर्चा भएन त्यो काल खण्डमा । हरिभक्त कटुवालले कविता लेख्नुभयो । उहाँलाई कविताले भन्दा पनि रक्सीले बढी चर्चामा ल्यायो । उहाँको व्यक्तिगत चरित्र हावी भयो उहाँको कवि-व्यक्तित्वमा ।बाशु शशिलाई सम्झौं – उनले को सँग रक्सी पिए ? त्यसको चर्चा भयो । बाशु शशि कै सृजनाका विषयमा कति चर्चा भए त ? अब यो के प्रवृत्ति हो ? म ठ्याक्कै भन्न सक्दिन।

अहिले एक प्रकारले पव्लिकेशन्सहरुले आख्यानको प्रकाशनलाई महत्व दिएको अवस्था छ । कविता संग्रह त औपचारिकता पूरा गर्न मात्र प्रकाशित गरिन्छ । कविता केही हदमा शिथिल पनि भएको हो । कविता लेखनमा जुन उर्जा हुनुपर्ने थियो त्यो उर्जा नदेखिएको नै हो । पव्लिकेसनहरुले आफूले निकालेको पुस्तक र छापेका लेखकहरुलाई जुन महत्वका साथ प्रस्तुत गर्दछन त्यसलाई मिडियाले महत्व दिने चलन आएको छ । यसले पनि कवितामा प्रभाव पारेको हो । कविता वाचनमा चाहिँ प्रसस्त कार्यक्रमहरु भएका छन् । देख्दा-देख्दै नवराज पराजुली जस्ता नयाँ पुस्ताका कविले देश विदेशमा कविता बाचन गरेर हिडेको सुनिएको र देखिएको छ । कविताको युगै सिद्धियो भन्ने होइन। तर कविता सुन्ने र पढ्ने अभिरुचि कम भएकोछ । कविहरु पनि अहिले हेर्दै जानुभयो भने सकी नसकीआख्यानमा जान खोजे जस्तो, जानका लागि कोशिश गरेको जस्तो देखिन्छ । बजारले आख्यान खोज्यो भनेरै त होला ।

  • आख्यान पनि गतिलो त आएको छैन।

छैन ।

  • आख्यानको विज्ञापन जति गरेपनि, प्रकाशकले आख्यानलाई जति महिमा मण्डित गरे पनि…

गाह्रो कुरा चाहिं के लाग्छ भने साहित्य अन्य उत्पादनमा जस्तो मार्केटिङ्गले मात्र माग अनुसार पूर्ति गर्ने विषय होइन । बस्तुको उत्पादनका दुई कारण छन: उत्पादन भएर वजारमा लगिसकेपछि माग बढ्छ । अर्को हो डिमाण्ड छ भने प्रोडक्सन हुन्छ । साहित्य त्यो विषय होइन । बजारमा यस्तो माग छ, त्यही भएर हामी यस्तो लेख्छौं भन्ने हो भने साहित्यको जुन आदर्श हो, त्यसबाट विषयान्तर हुन्छ ।

  • राजनीतिमा जस्तै साहित्यमा पनि गुटगत स्वार्थले टाउको उठाइरहेको देखिन्छ ।

प्रशस्तै मात्रामा । साहित्यकारहरुमा सेलिव्रेटी बन्ने जुनमोह जागेको छ त्यसले पनि वर्वाद बनाएको छ । प्रकाशकहरुले आफ्ना लेखकहरुलाई सेलिव्रेटीको रुपमा स्थापित गर्न विभिन्न तिकडमको सहारा लिने गर्दछन । यो जुन प्रवृत्ति आएको छ, यसले बिषयलाई बरालेकोछ । मलाई गम्भीर साहित्य र सेलिव्रेटी एक ठाउँमा उभिन सक्ने विषयहो जस्तो लाग्दैन । एउटा राम्रो साधक सेलिव्रेटी बन्नु पर्दछ भन्नेमा विमति छैन। त्यसका लागि अनेकन तिगडम गर्नुपर्छ भन्नेमा पक्कै पनि विमति छ ।

  • यी गूटहरु चाहिँ पुरानै छन कि नयाँ बनेका छन् ? साहित्यमा राजनीतिको खोजी कति गरिन्छ ? मैले समाचारमा पढेको थिएँ, प्रगतिशील साहित्यकारहरुको गूट फुट्यो । लोकतान्त्रिक साहित्यकारहरुको गुट गैर लोकतान्त्रिकले अपहरण गरे । अहिले साहित्यकारहरुको गुट नै छैन। यो के हो ? तपाईंले यसलाई कसरी हेर्नु भएको छ ?

अहिले तीन-चार प्रकारका गुट देखियो । राजनीतिले रेखाङ्कन गरेको गुट त पहिले देखि नै थियो । एक थरि प्रगतिशील लेखक संघमा जाने, अर्का थरी प्रजातान्त्रिक भन्दै नेपाली लेखक संघमा जाने गरेका थिए । प्रगतिशील लेखक संघमा जानेहरुमा राजनीतिको रंग एकदमै गाढा देखियो । डेमोक्र्याट्सहरुको समुह नेपाली लेखक संघमा लागे । त्यसमा कतिपय साँच्चैका डेमोक्र्याट्सहरु गोलबन्द भएका छन् । राजनीतिमा लागेर दुःख पाएका र साहित्यमा पनि त्यति कै दुःख गरेका धेरै मानिसहरु त्यतिकै छुटेका छन् । तपाईकै कुरा गरौं , तपाई त नेपाली लेखक संघमा हुनुहुन्न। हरि अधिकारी पनि हुनुहुन्न । अरु थुप्रो लेखकहरु छन् । म पनि थिएँ शुरुमा । संघमा मेरो आपत्ति भनेको केही साथीहरु यसलाई नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा अघि बढाउन चाहन्थे । लेखक संघ कसरी पार्टीको भ्रातृ संगठन बन्न सक्छ ? मेरो विमति यसैमा रह्यो । होला, मेरो बैचारिक सक्रियता कुनै पार्टीमा होला । तर मेरो लेखन त स्वतन्त्र हो नि ! मैले पनि वामपन्थीले जस्तै स्वतन्त्र लेखनमा विश्वास नगरेर निश्चित दर्शन र सिद्धान्तमा रहेर लेख्न थाले भने तिनीहरु र म मा अन्तर कहाँ रह्यो र ? जस्तो कम्युनिष्टहरुले लेनिनको लासलाई बचाएर राखे ।

चीनमा क्रान्ति गरिसकेपछि जताततै माओत्सेतुङ चाहिने भयो नि । कलमको टुप्पा देखि लिएर जताततै व्यक्तिपूजाको परम्परा आयो । त्यो र हामीले गरेको मूर्ति पूजामा के फरक छ ? हाम्रो हालत पनि त्यही हुन्छ । साहित्यमा लागेकाहरुले आफूलाई लोकतन्त्रवादी भन्ने, स्वतन्त्र लेखनको पक्षमा वकालत गर्ने तर लेखकहरुको संगठनलाई पार्टीको भ्रातृ संगठन बनाएर जाने हो भने स्वतन्त्रताको औकात कति रहन्छ ? यहीकारण हो, लेखक संघसँग मेरो त्यत्रो ठूलो मित्रता भएन । हुँदै भएन भन्न त नमिल्ला । केन्द्रिय उपाध्यक्ष सम्म भएको हूँ । त्यहाँ पनि पार्टीको भ्रातृ संगठन बनाउने नबनाउने विवाद उठ्यो । दोस्रो, देशको निश्चित भूगोलको हिसावले मानिसलाई हावीबनाउने प्रयास भयो । जस्तो, नेपाली लेखक संघलाई एकचोटी झापाली लेखक संघ पनि भनियो । झापा कै मात्र११ जना लेखक केन्द्रिय समितिमा थिए । जातिय आधारमा पनि गुटबन्दी भयो । पुस्ताको आधारमा गुट बन्यो । ४० को दशकमा उदाएकाले ५० को दशकमा उदाएकालाई नगन्ने प्रवृत्ति देखियो । जुन प्रवृत्ति के का निम्ति ? भन्दा सृजनाको आधारमा उभिएर भन्दा चर्चाको आधारमा स्थापित हुने विकृत मानसिकता भएका मानिसलाई गुट तर्फ हिडाएको छ । ५० वर्ष अघि मैले कविता लेखेको छु भने आखिर कविता त कवितै हुन्छ । अहिले नभएको कवितालाई कविता बनाउँदैमा अबको १० वर्षपछि त्यो कविता रहन्छ र ? सृजना माथि विश्वास भए गुटमाथि विश्वास गरिरहन जरुरी छैन ।

  • साहित्यलाई राजनीतिबाट मुक्त गर्नुपर्छ भन्ने नारा र साहित्य सृजनाले जनताको पक्षमा काम गर्नुपर्छ भन्ने नारा सँगसँगै हिडेजस्तो देखिन्छ । तपाईलाई कस्तो लाग्छ ?

कसैको व्यक्तिगत पीडा प्रकारान्तरले समाज कै पीडा हो । समाजबाट बाहेक भएर त्यो अनुभव आएको त होइन । कही कतै आन्दोलन भयो या राम्रो काम भयो भने तपाईं हर्षित बन्नु भयो । त्यो हर्ष समाज कै अंग भएकाले तपाईंमा आएको हो । जंगलमा बसेको भए त्यो हर्ष वा पीडाको अनुभव तपाईंलाई हुँदैन थियो होला । भनेपछि एउटा व्यक्तिको अनुभुति र व्यक्तिको चिन्तन समाजबाट पृथक हुनै सक्दैन….

  • तपाईंले किसानलाई देखेर आउने भाव र एउटा प्रगतिशिल लेखकले किसानलाई देखेर आउने भाव एउटै हैन र ?

एउटै हो ।

  • फेरी त्यसमा ट्याग किन लगाउनु पर्‍यो ? कविता त कवितै हो नि ?

मलाई कस्तो लाग्छ भने प्रगतिशील नबनेका, माक्र्सवाद माथि विश्वास राख्नेहरुको त्यहाँ पनि एउटा घेरा छ । जो प्रगतिशील लेखक संघको घेराभित्र कैद भएर बस्नु भएको छ उहाँहरु सृजनात्मक दृष्टिकोणले कति बलियो हुनुहुन्छ ? प्रगतिशील संघको घेराभन्दा बाहिर बसेका माक्र्सवाद माथि विश्वास राख्नेहरु बलिया पनि छन् नि । संस्थाहरुको अहिलेको अवस्था के देखियो भने गतिविधिहरुको आयोजना, सृजनात्मक वातावरणको निर्माण भन्दा पनि अमुकअमुक व्यक्तिहरुलाई कसरी उठाउन सकिन्छ, स्थापित गर्न सकिन्छ भन्नेमा ध्यान देखियो ।

प्रगतिशील जनकवि भनेपछि गोकुल जोशी । उनी साँच्चै राम्रा कवि हुन् त ? गोकुल जोशीलाई जनकविको रुपमा स्थापित गर्न यत्रो ठूलो प्रयत्न हुँदाहुँदै पनि किनआम मानिसहरुको बीचमा उनी जनकविका रुपमा स्थापित हुन सकेनन ? उभ्याएर मात्रै हुने भए त उनी उभिइ सक्थे नि ! साँच्चै भन्ने हो भने दुई तिहाइको सरकारबाट उनी स्थापित भइ सक्थे । उनको नाममा पुरस्कार स्थापना हुन्थ्यो होला । एकेडेमी बन्थ्यो होला । कवि शिरोमणि कै घोषणा हुन्थ्यो होला । तर सकिदो रहेनछ । जुन व्यक्तिलाई तपाईंले स्थापित गर्न खोज्नु भएको छ त्यो सँग गुणहरु रहेनछ भने तपाईंको प्रयासले मात्र स्थापित हुन सक्दो रहेनछ । गोकुल जोशीलाई हेरेर हामी यो सत्य संग साक्षात्कार गर्न पाउँछौ । त्यसका बाबजुद पनि मानिसहरु किन लागिरहेका छन् ! सृजना भन्दा बलियो लेखकको अरु कुनै सम्पत्ति हुँदैन । लेखक स्थापित हुने त उसको सृजनाले मात्र हो ।

अहिले त जो सत्ताको नजिक छ, जो निहित स्वार्थको नजिक छ त्यो ठूलो मान्छे भएको छ । एकेडेमिसियन भएको छ । चाहे कांग्रेसको पालामा होस, चाहे कम्युनिष्टको पालामा । तपाईंले माथि परिभाषित गरेजस्तो मान्छे प्रज्ञा प्रतिष्ठानले नदेखेको कति भयो भन्नुहोस् त । तपाईं आफै पनि निराशाको विन्दुमा पुग्नु भयो र संगीत नाटक एकेडमीको सदस्य सचिवको पद छाडेर हिड्नु भयो ।

एउटै मान्छे १२ वर्षसम्म प्रज्ञा प्रतिष्ठानमा विराजमान भयो ।उसलाई लेखक भनेर कति मानिसहरुले चिने त ?! प्रतिष्ठानको कुलपति हुन वा उपकुलपति हुन वा भनौं सदस्य–सचिव हुन श्रष्टा हुनु आबश्यक रहेन । श्रष्टा भएर त्यहाँ जाँदा जस्तो सम्मान हुनु पर्दछ , हिजो माधव घिमिरेको जस्तो सम्मान थियो अथवा हिजो लैनसिंह वाङ्देलको जस्तो सम्मान थियो अथवा बैरागी काइलालाई जुन सम्मान दिइएकोे थियो, आज त्यो अवस्था छैन । त्यसले प्रतिष्ठानलाई बलियो बनाउन योगदान पुगेको छ त ? यो त राज्यले एकेडेमीको भरपूर दुरुपयोग गरेको हो । यसलाई भर्ती केन्द्रको रुपमा अगाडि बढाइएको छ । भर्ती केन्द्रहरुबाट प्रधानमन्त्रीले भने जस्तो समृद्ध नेपाल बनाउन त योगदान पुग्दैन ।

  • यो त एकप्रकारले प्रतिष्ठानहरुको पतनको प्रारम्भ पनि हो नि, हैन ? वास्तविक लेखक, वास्तविक सर्जक , वास्तविक कवि, वास्तविक समालोचक एकेडेमी बाहिर छन । एकेडेमीमा चाहीं ‘विथफुलफोर्स’ छ, भरिभराउ । यो पतन हैन र ?

यो एकेडेमी या संस्थाहरुको मात्रै पतन हैन । यो राज्यको पतन हो । सरकारको पतन हो ।

  • कहिले सम्म यसरी चलिरहन्छ ?

जबसम्म राजनीतिमा सबल मानिसहरुको उपस्थिति हुँदैन । मलाई के लाग्छ भने जब सम्म मान्छे आफैमा बलियो हुँदैन, तबसम्म केही हुँदैन । मानिस आफूप्रति विश्वस्त छ, आफ्नो उद्देश्य प्रति पूर्ण समर्पित छ, उसले आफ्नो निश्चित बाटो देखेको छ र मुलुकको समृद्धिका लागि गर्नुपर्ने कार्यको विषयमा उ संग निश्चित परिकल्पना छ भने त्यो मान्छेले सिस्टम बलियो बनाउछ । कमजोर मान्छे आफू बलियो हुनखोज्छ , बलियो मान्छेले सिस्टम बलियो बनाउन खोज्छ । अहिलेको अवस्था भनेको कमजोर मानिस सत्तामा हावीभएको अबस्था हो ।सत्ताको नेतृत्व उनीहरुले गरेका छन् । उनीहरुलाई आफ्नो कमजोरी थाहा छ । उनीहरु बलियो हुनका लागि कमजोर कडी जम्मा गरेर आफू बलियो हुन खोजी रहेका छन ।

  • तत्काल यसको समाधान देखिएको छैन ?

तत्कालत समाधान छैन । हालै देशमा तीन तहको चुनावभयो । पहिले स्थानीयतहको चुनाव भयो । मेरो वडामा ७० वर्षका बुढाहरु समेत चुनाव लड्न लालयित भए । मेरो क्षेत्रमा नगरका सभासदको उमेर ५० को सेरोफेरोमा छ । मैले कसरी विश्वास गर्ने अब युवाहरु राजनीतिमा आउन सक्छन् ? यो अवस्था देख्दा त मलाई यो देशमा हराएको वस्तु भनेको बैंस रहेछ भन्ने लाग्यो । जुनदेशमा बैंस हराउँछ नि, त्यो देशमा फुल फुल्छन् , घाम लाग्छ । तर त्यो देशका मानिसको ओठमा मुस्कान फुल्दैन ।

  • तपाईंको भनाईमा पुस्तान्तरण भएन। त्यहाँ पुग्न बुढै हुनुपर्‍यो ।

हो नि । हामीले अन्य देशमा देखेका छौं । नेताहरु ३०, ३५वर्षमा आउँछन राष्ट्रप्रमुखको रुपमा । हामीचाहिँ७० वर्षै पुग्नुपर्ने ? वृद्ध भत्ता खाएर मात्र देशको वागडोर सम्हाल्नु पर्ने ? म ६० लाग्न लागे । मेरो भनाई अब मेरा उमेरका मानिसहरुले राजनीति सरक्क छोड्दिनु पर्दछ । नेतृत्व नयाँ पंक्तिमा दिनु पर्दछ । हामी आफू पनि गर्न सकिरहेका छैनौं …

  • तपाईं जस्तै अपरिग्रहीचाहिँ को होलान त ?

अपरिग्रहीको कुनामा म धकेलिएको हुँ । देशका लागि मैले देखेका सपनाहरु कार्यन्वयन गर्न सक्छु कि भन्ने चाहिं लाग्थ्यो । तर वातावरण नै त्यस्तो हुन सकेन । म नेताहरु सम्म पनि पुगेको थिएँ । उनीहरुले मलाई देखे देखेनन् अर्को कुरा भयो । उनीहरुले देखेका भए टिपोट गर्थे होलान् । पुग्नु एउटा कुरा हो । उनीहरुको दृष्टिमा पर्नु अर्को कुरा । उनीहरुलाई आवश्यक परेको बेलामाउपलव्ध भइयो । उनीहरुको दृष्टिमा म उपलव्ध पात्र भइन ।

  • त्यो तपाईंको सोचाई मात्रपो हो कि ? अलिक पछि उपयोगको पात्र बन्नु हुन्थ्यो कि ? किनभने राजनीति त जहिले पनि संभावनाको खेल हो नि ?

संभावनाको खेल त हो । तर तपाईंसँग जतिवेला उर्जा हुन्छ सम्भावनाको खेल त्यतिबेला खेल्न मजा आउँछ । करेन्ट आएको बेलामा स्विचथिच्यो भने बल्ब बल्छ । लो भोल्टेज भएको बेलामा स्विच थिच्न थाल्यो भने बत्ती बल्दैन । सुशिल कोइरालाको त्यही भयो नि त ।
त्यो उहाँको व्यक्तिगत दुर्भाग्य हो । सुशिल कोइरालाको नाममा मुलुकले भोगेको दुर्भाग्य हो ।गोरु पनि सधै जोतिन्न नि !मानिसमा उर्जा भएको समयमा अवसर काम लाग्ने हो ।

  • तपाईंले अध्यात्म पनि इन्कार गर्नुभएको छ । म पूरै अध्यात्मिक होइन, मात्र विन्ध्यवासिनीको मन्दिरलाई व्यवस्थापन गर्न लागेको भन्नुहुन्छ । साहित्यमा कन्सन्ट्रेसन भइरहेको छ कि छैन तपाईंको ?

जति हुनुपर्ने त्यति छैन । लेख्ने हुटहुटी छ । अहिले केही छोटा कविताहरु लेखिरहेको छु । अब मन्त्र नै त नभनौं तर, झट्ट सुन्दा तपाईंलाई सम्झन पनि समय नलाग्ने कुनै एउटा पंक्ति भएपनि मनमा बस्न सक्ने कविता लेख्ने मेरोे प्रयास छ । अहिले पनि त्यही प्रयासमा छु ।

  • अलिक लामो कविताको योजना बनाइरहनु भएको हो?

त्यो चाहिं होइन । एक दुई चोटि लामो कविता लेख्ने प्रयास चाहिँ गरे । तर भय चाहिँ के छ भने कवितालाई तन्काउँदा त्यो खुकुलो हुन्छ । जस्तो कुनैगाउँमा बुढी आमाले आँगनमा बसेर गुन्द्रीबुन्दै गरेको बेलामा एउटा दृश्य देखिन्छ । बुढी आमाले त्यो गुन्द्रि बुन्नका निम्ति राखिने लठ्ठालाई ढ्याक ढ्याक हानेर कम्प्याक्ट नबनाए सम्म गुन्द्री बलियो र मजबुत हुँदैन । त्यसमा बुढी आमाको बल पुगेन भने गुन्द्री फ्याङ्लो हुन्छ । मलाई लाग्छ कविता पनि त्यही हो । कवितालाई हामी कति मजबुत ढंगले लेख्छौं, कति कम्प्याक्ट बनाउँछौं त्यसको अर्थ हुन्छ । कवितामा कम्प्याक्टनेस चाहिन्छ । यो मेरो कमजोरी पनि हुन सक्छ कि कवितालाई लामो र श्रृङ्खला वद्ध ढंगले प्रस्तुत गर्ने हिचकिचाउँछु । मजबूत लेख्ने सामथ्र्य नभएकोले पनि होला । कविता लामो हुने कि छोटो हुने भन्ने वहस आवश्यक छ जस्तो मलाई लाग्दैन। कविता अन्ततः कविता नै हो ।

  • लामो कविताभन्दा एउटै कथालाई खण्डकाव्यको रुपमा लक्ष्मीप्रसाद देवकोटाले मुना–मदन लेखेजस्तै त्यस्तै गद्य विधामा खण्डकाव्य बन्छ कि बन्दैन ?

बन्न सक्दैन भन्ने हैन बन्छ । त्यसमा मैले चाहिँ प्रयत्न गरेको छैन । प्रयत्न गरेपनि हुन सक्छ कि सक्दैन ? त्यो बेलामा थाहा होला । मेरो चाहिँ छोटोमा आफूलाई अभिव्यक्त गर्ने बानी नै भयो ।

  • गद्यलेखनमाकतिको रुचि छ तपाईंको ?

रुचि हुँदै नभएको हैन । केही हदसम्म छ । मलाई व्यक्तिमाथि लेख्न मन पर्छ । मैले केही लेखेको पनि छु । पोखराका धेरै मानिसहरु माथि लेखेको छु मैले । अर्को मलाई संस्मरण लेख्न मन पर्छ ।

  • केही योजना छ त्यसमा?

अहिले अम्बर गुरुङमाथि संस्मरण लेखिरहेको छु । अम्बर स्मृति भनेर लेखिरहेको छु । मैले लेखिरहने भन्दा लामै हुन्छ होला त्यो ।

  • संस्मरणहरुको संकलन निकल्ने संभावना छ ?

अलिक समय लाग्छ ।

  • तीर्थ श्रेष्ठ असन्तुष्टिको भुँग्रोमाथि बसेको छ भन्दा के हुन्छ ?

होइन । म अध्यारोको बीचमा उज्यालोको खोजिमा बसेको….

  • निसासिएको वा कहालिएको भन्नपनि सकिन्छ ?

त्यति निराश भइसक्ने अवस्थामा पुगेको छैन । तर मुलुकमा वेथितिको अवस्था यहीगतिमा बढ्दै जाने हो भने म मात्रै हैन धेरै मानिसहरु निसासिनेछन् । लगभग-लगभग ३ करोड जनसंख्यामा १ करोड विदेशमा छन् । झण्डै ४०, ५० लाख राजनीतिक कार्यकर्ता छन् सबै पार्टीका जोड्ने हो भने । बुढाबुढी र बालबच्चाको हिसाव गर्नुभयो भने अरु ५० लाख होलान् । यो मुलुकमाकृयाशिल जनशक्ति अत्यन्त थोरै छ । त्यसमा पनि साँच्चै मुलुकका निम्ति केही गर्छु भन्नेलाई हेर्ने हो भने अझ न्युन छ । यो डर लाग्दो स्थिति होइन ? मेरो कुरा सबभन्दा पहिले यी वेथितिहरुलाई उजागर गर्नुपर्छ र उजागर गरिसकेपछि थिति बसाउन सकिन्छ । कमजोरी नै थाहा पाइएन भने त बलियो कसरी हुने !

  • पुस्तान्तरण भएको छैन । हामी यसमा कल्पना गरिरहेका छौं आगामी संघर्षमा तुफान ल्याउन तीर्थ श्रेष्ठको योगदानकति हुन्छ ?

मेरो उमेर र गतिलाई हेर्दा मैले गर्ने प्रयत्न र त्यसले पार्ने प्रभाव धेरै ठूलो छ जस्तो मलाई लाग्दैन । सानोतिनो आयतनमा अहिले पनि म जनता संगै जोडिएर काम गरिरहेको छु । ऊर्जा अझै पनि पर्याप्त बाँकी छ ।

टिप्पणी थप्नुहोस्