भक्तपुरका स्थानीय तहमा बजेट कति ?

भक्तपुर । भक्तपुर आफैंमा उपत्यकाको महत्वपूर्ण स्थान हो । धार्मिक, सांस्कृतिक, भौगोलिक र ऐतिहासिक रुपले नेपालकै प्रख्यात भक्तपुरमा ४ वटा नगरपालिका छन् ।

भक्तपुर, चाँगुनारायण, मध्यपुर थिमी र सुर्यविनायक भक्तपुरका नगरपालिकाहरु हुन । सरकारले गत जेठ मा आर्थिक बर्ष २०७६ र २०७७ को बार्षिक बजेट बिनियोजन गरि सकेको छ ।

यसैबीच सबैजसो स्थानीय तहले पनि प्राप्त बजेट अनुसार विभिन्न स्थानिय स्तरका प्राथमिकताका आधारमा बजेट बाँडफाड गरिसकेका छन् । कतिपय स्थानीय तहहरु सरकारको आर्थिक नीतिप्रति सन्तुष्ट छन् त कतिपयले गुनासो गरिरहेका छन् ।

भक्तपुरका तीन नगरपालिकाले आ–आफ्नो नीति तथा कार्यक्रम अनुरुप आ.ब २०७६/०७७ को बार्षिक बजेट बाँडफाँड गरिसकेका छन् भने मध्यपुर थिमी नगरपालिकाले नीति तथा कार्यक्रम निर्माण गरेको छैन ।

विभिन्न नगरले आफ्ना प्रमुख आवश्यक्तालाई आफ्नै ढंगबाट पुरा गर्ने योजना निर्माण गरेका छन् । चार नगरपालिकाले कुन कुन कुरालाई प्राथमिकतामा राखेका छन भनेर यहाँ उल्लेख गरिएको छ ।

चाँगुनारायण नगरपालिका
कुल बजेट– १ अर्ब ४१ करोड ८० लाख ४१ हजार
बजेट बिनियोजनका मुख्य शिर्षक
विकास- ८३ करोड
चालु खर्च– ३१ करोड
शसक्त अनुदान–२७ करोड

नगरपालिकाले मुख्य प्राथमिकतामा सडकलाई राखेको छ । जसको लागि २३ करोड बजेट बिनियोजन गरेको छ । नगरपालिकाका मेयर सोम प्रसाद मिश्रका अनुसार यो रकम नगर विकासका लागि निकै नै कम हो ।

उनी भन्छन, ‘नगरले तय गरेका नीति तथा कार्यक्रम अनि विनियोजित बजेट सफल रुपमा सम्पादन गर्न संघीय शासन व्यवस्था राम्रोसंग संचालन होस् र संविधानको मर्म अनुरुप सरकारले राज्यव्यवस्था संचालन गरोस,’ उनले भने, नगरको विकासका लागि त बजेट निकै कम हो ८३ करोड होइन ८३ अर्ब भए पनि पुग्दैन बिस्तारै प्रमुख आवश्यक्ताहरुलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेका छौं ।’

भक्तपुर नगरपालिका
कुल बजेट (केन्द्र र प्रदेशसहित)–२ अर्ब १३ करोड १० लाख
विनियोजनका मुख्य शिर्षक
बिकास-७२ करोड ९१ लाख चालु खर्च ८० करोड ९० लाख ( कार्यालय संचालन, अनुदान, मेसिनरी तथा औजार खरिद , बिशेस पूर्वाधार निर्माण अन्य विविध)–५९ करोड

नगरपालिकाका मेयर सुनिल प्रजापतिका अनुसार नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदालाई नगरको मुख्य प्राथमिकतामा राखेको छ ।

मेयर प्रजापति भन्छन, ‘सरकारले भक्तपुर नगरपालिकालाई कम बजेट दियो, अन्य नगरपालिकाको तुलनामा हाम्रो नगरपालिकालाई प्रदेश सरकारले पनि कम वास्ता गरेजस्तो लाग्यो, भुकम्प गएको बेला क्षति पुगेका महत्वपुर्ण धार्मिक सम्पदाहरुको पुनर्निर्माण गर्ने कुरालाई सरकारले बिर्सेजस्तो लग्यो,’ उनले अघि भने, ‘अर्को महत्वपुर्ण कुरा हामी हाम्रा विकास निर्माण कार्यलाई उपभोक्ता समितिमार्फत नै सम्पादन गर्दछौ, कुनै ठेक्का खोल्ने गरेका छैनौं । यसो गर्नाले काम पारदर्शी र गुणस्तरीय हुने गर्दछ ।’

उनले भने, ‘विश्व सम्पदा सुचीमा रहेका सम्पदालाई निरन्तर मर्मत र संरक्षणको आवश्यक्ता छ जनताको साथ र सहयोगले ८३ वटा सम्पदाको पुनर्निर्माण गरिसकेका छौ ४० बढी सम्पदाहरु निर्माणको क्रममा छन् ।’

मेयर प्रजापतिको विचारमा सरकारले भक्तपुरमा रहेका सम्पदा संरक्षणको लागि बिशेस बजेट छुट्टाउनु पर्दछ । अन्य सानातिना बिकासका लगि जनताको साथ र सहयोग नगरपालिकाले पाएकै छ ।

उनले भने, ‘अझै पनि श्रोत र साधनको कमि छ जुन जुटाउन निकै कठिन परिरहेको छ, यसमा केन्द्र र प्रदेश सरकारको विशेष ध्यान जाओस भक्तपुरको मात्रै पहिचानको कुरा होइन भक्तपुरमा रहेका कला संस्कृति र सम्पदाले सिंगो नेपालकै प्रतिनिधित्व गर्दछ । सरकारले बहुमत भनिरहनु भन्दा सुशासन र स्थानीय विकासमा जोड दिएको राम्रो हुन्छ ।’

सुर्यविनायक नगरपालिका

कुल बजेट– रु १ अर्व ३० करोड

विनियोजनका मुख्य शिर्षक

चालुतर्फ-रु ११ करोड २८ लाख
सामाजिक सुरक्षा–रु ८ करोड ९९ लाख
विषयगत शाखा – रु ५ करोड १० लाख
शसर्त कार्यका लागि– रु ३५ करोड ४३ लाख
पुँजिगततर्फ–रु ६९ करोड २० लाख

नगरपालिकाकि उपमेयर जुना बस्नेतका अनुसार नगरले मुख्य प्राथमिकताको रुपमा सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लाइ राखेको छ । नगरपालिका नयाँ हो त्यसैले बिकासका लागि चुनौतीहरु निकै रहेका छन् तरपनि जनताको साथ र सहयोगले निरन्तर लागि रहेका छौं ।

सरकारप्रति असन्तुष्टी जनाउँदै उनि भन्छिन,‘सरकारले हामीलाई सौताको व्यवहार गर्‍यो, आर्थिक होस या अन्य रुपमा कार्यालय भाडामा चलिरहेको छ । सेवाग्राहीलाइ छिटोछरितो सुबिधा दिनका लागि निकै कठिन भइरहेको छ, कर्मचारी अभाब छ ।’

‘सरकार मात्रै सरकार चलाउनका लागि भयो संघीय सरकारको मर्म अनुरुप काम भएन । सरकारले नयाँ बनेका नगरपालिकाहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्ने हो तर केन्द्र तथा प्रदेश सरकारको यसमा खासै ध्यान गएको जस्तो अनुभूति भएन’, उनले भनिन, ‘प्रदेश सरकारले पहिले नगरपालिकाकै खातामा पैसा रकमान्तर गरि नगरपालिकाबाट योजना सम्पादन हुने गर्दथ्यो तर अहिले प्रदेशले उपलब्ध गराउने भनिएको २५ करोड रकम प्रदेशबाट नै खर्च गर्ने कुरा आएको छ यसो गर्दा कसरी मान्यता रहयो स्थानीय सरकारको ? प्रदेश सरकारले कसरी गर्छ त काम भएको नभएको अनुगमन यसमा विशोष् ध्यान दिनु जरुरी छ ।’

मध्यपुर थिमी

मध्यपुर थिमी नगरपालिका भक्तपुरका अन्य नगरपालिका भन्दा तुलनात्मक रुपमा सानो नगरपालिका हो । भक्तपुर जिल्लाका तिनवटै नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम तयार गरि पारित भए अनुसार बजेट प्राथमिकताहरु क्रमिक रुपमा बजेट बाँडफाड गरि सकेका छन् ।

तर यस नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तय गरेको छैन । राजनीतिक रुपमा हेर्ने हो भने मध्यपुर थिमी नगरपालिका मिश्रित समीकरण भएको नगरपालिका हो ।

नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ हुन् ,जो तत्कालिन नेकपा एमाले बाट मेयर पदमा निर्वाचित भएका थिए भने उपमेयर अन्जना देवी मथिकर्मी हुन् उनि नेपाली कांग्रेसबाट बिजयी भयाकी हुन् ।

उपमेयरका अनुसार सम्पूर्ण स्रोतको ब्यबस्थापन हुँदाहुँदै पनि मेयरसापको कारणले नीति तथा कार्यक्रम तय हुन सकेको छैन नगर समितिको बैठक बस्न नसेकोको कारणले असार मसान्त बित्न लाग्दा पनि बजेट बाँडफाड हुन सकेन ।’

टिप्पणी थप्नुहोस्