नयाँ कर नीतिको विरोध गर्दै बाँकेका व्यवसायी सडकमा

-सिराज खान

नेपालगञ्ज । सरकारले साउनबाट लागू गर्न लागेको नयाँ कर नीतिको विरोध गर्दै बाँकेका उद्योगी तथा व्यवसायीहरु सडकमा उत्रिएका छन् ।

सो कर नीतिलाई अव्यवहारिक र अबैज्ञानिक बताउँदै बाँकेका उद्योगी व्यवसायीले आइतवारबाट आन्दोलन शुरु गरेका हुन् ।

नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा नेपालगञ्जमा सडकमा उत्रिएका सयौं व्यवसायीहरुले नयाँ करनितिमा भएका प्रावधानहरुको खारेजीको माग गर्दै विभिन्न नाराहरु लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनसहित आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय पुगेका उनिहरुले ती कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदर्शनमा सहभागि व्यवसायीहरुले अव्यवहारिक करहरु खारेज गर, बैंक ब्याजदर घटाउ, नविकरण नभएका फर्महरु तत्काल नविकरण गर, पान नम्बरको अनिवार्यता खारेज गर लगायतका प्लेकार्ड बोकेर सोही नाराहरु लगाएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेललाई ज्ञापन पत्र बुझाउँदै नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले यो कर नीति खारेज नगरिए साना व्यापार, व्यवसाय ध्वस्त हुने दावी गरे ।

उनीहरुले नयाँ कर नितिमा रहेका विभिन्न प्रावधानहरु अव्यवहारिक र अबैज्ञानिक रहेकोले तत्काल सच्याउन माग समेत गरे ।

ज्ञापनपत्र बुझ्दै आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख पौडेलले व्यवसायीका मागलाई सरकारसम्म पुर्याउने बताए । त्यस लगत्तै जिल्ला प्रशासन कार्यालयमा पुगेर व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका थिए ।

उद्योग बाणिज्य संघले सरकारलाई पठाएको ज्ञापन पत्रमा एक हजार भन्दा माथि ज्याला भुक्तानी गर्नु परेमा कामदारको पान नम्बर आवश्यक हुने प्रावधान हटाउनु पर्ने, ढुवानीमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर, खाद्यान्न वस्तुहरुमा लगाइएको मूल्य अभिबृद्धि कर र अग्रिम आयकर हटाउनु पर्ने माग गरिएको छ ।

सोही प्रकारले बैंक ब्याजदर ७ प्रतिशत देखि ९ प्रतिशत सम्म कायम गरिएकोमा घटाउनु पर्ने, एक हजार भन्दा माथिको खरिदमा पान नम्बर आवश्यक भएकोले सो पनि हटाउनु पर्ने र बैंक खाता मार्फत पारिश्रमिक तत्काल भुक्तानी गर्न सम्भव नभएकोले खारेज गर्नुपर्ने तथा नविकरण नभई रहेका ब्यवसायीहरुको फर्मलाई अविलम्ब नविकरण गर्नुपर्ने माग पनि ज्ञापन पत्रमा गरिएको छ ।

टिप्पणी थप्नुहोस्