जनतालाई खर्पनमा बोकेर हिड्न तयार छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।

राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गरेका छन् । “विगतका शासकहरुको अदुरदर्शीता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन”, ओली भने, “अहिले आफ्नो लागीभन्दा देशको स्वार्थलाई माथी राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन ।”

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकुल समय भएको बताएका छन् ।

“हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ’’ ओलीले भने, “ यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं । ”

ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिड्न तयार भएको उल्लेख गरेका छन् ।

“देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिड्न तयार छु’’ ओलीले भने ।

ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालनगर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री