डाक्टरलाई ज्यानकै डर

नमुना तस्विर

-आरती शर्मा

दिउँसो शव परीक्षण गरिरहेका डा. दिनेश उपाध्यायमाथि डडेलधुरा, अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएका युवाले हातपात गरे । अहिले डा. उपाध्याय विक्षिप्तजस्तै छन ।

हातपातपछि ९ जना डाक्टरले असुरक्षा भएको जनाउँदै अस्पताल छाडेका छन । सेवा ठप्प छ । १० असारमा महोत्तरी जिल्ला अस्पतालका चिकित्सक असुरक्षा भएको जनाउँदै सेवा बन्द गरेर हडतालमा उत्रिएका छन ।

७ असारमा सुन्दर हरैंचा, मोरंगकी प्रीति कोइरालाको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरवाही भन्दै आफन्तले बिराट नर्सिङ होममा तोडफोडको प्रयास गरे । चिकित्सकहरु जीउ जोगाउन लुके ।

३१ जेठ २०७६ मा गीता ताम्राकारको शल्यक्रियाका क्रममा मृत्यु भयो । डडेल्धुरा जिल्ला अस्पतालका डाक्टरको लापरवाही भन्दै आफन्तले हुलदंगा मच्चाए । डाक्टरमाथि आक्रमणको प्रयास भयो । १४ जेठ २०७६ डा. बन्दना अधिकारीमाथि राती १० बजे हेटौंडा अस्पतालको आकस्मिक कक्षमा दुर्व्यवहार र अभद्र व्यवहार भयो ।

विरामीको ज्यान जोगाउँदै आएका नेपालका डाक्टरहरुलाई अहिले आफ्नै ज्यान जोगाउनु पर्ने अवस्था सिर्जना भएको छ । दुई महिना यता आधा दर्जन भन्दा बढी अस्पतालमा हुलदंगा मच्चिएको छ । तोडफोड भएको छ ।

चिकित्सकहरुको जीउज्यानको सुरक्षाको माग गर्दै युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेत सहितको टोलीले गत आइतबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र समेत बुझाएको छ ।

नेपालमा चिकित्सा शास्त्र (एमबीबीएस) अध्ययनका लागि एक जना विद्यार्थीले औसत रु ४० लाख खर्च गर्छन । मुलुक भरका २१ मेडिकल कलेजले हरेक वर्ष एमबीबीएसका दुई हजार र दन्त चिकित्सा (बीडीएस )का करीब पाँचसय डाक्टरहरु उत्पादन गर्छन ।

यी डाक्टरहरु विरामी जाँच्न सक्ने हैसियतमा उभ्याइएका हुन्छन । तीमध्ये कतिपय पटक पटक लाइसेन्स परीक्षामा सहभागी भएर जेनतेन पाससम्म भएका हुन्छन । यकिन तथ्यांक नभए पनि चिकित्सा शिक्षामा बार्षिक झण्डै ११ अर्बको कारोबार हुने विज्ञहरुको अनुमान छ ।

अर्बौं कारोबार, ज्यानको डर

डाक्टरमाथि हातपात भएको घटनाप्रति नेपाल चिकित्सक संघले हरेक साताजस्तो विज्ञप्ति प्रकाशित गरि ‘घोर भत्र्सना एव ंनिन्दा’ गर्ने गर्छ । पर्याप्त मात्रामा सुरक्षाको प्रत्याभूति नगराएसम्म सेवा प्रवाहमा गम्भिर असर पुग्ने र यसको जिम्मेवार स्थानीय प्रशासन र नेतृत्व नै हुने भन्दै चिकित्सक आन्दोलित हुन्छन ।

घटनामा संलग्न दोषीहरु माथि छानबिन गरी कानूनी कारवाही नगरिए कुनै पनि सेवाप्रवाह गर्न नसक्ने तथा स्थानीय सुरक्षा निकाय रमिते बन्ने घटनाले समग्र स्वास्थ्य क्षेत्रलाई नै असुरक्षित बनाएको ठहर चिकित्सक संघले गरेको छ ।

चिकित्सक माथि भइरहेका सृङखलाबद्ध आक्रमणको घटनाप्रति चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ । अस्पतालका चिकित्सकहरुको जीवन रक्षाका लागि संघ जस्तोसुकै अप्रिय कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

गुण्डागर्दीको शैली अपनाएर असुरक्षित वातावरण सिर्जना गर्ने दोषी उपर कानूनी कारवाहीन भएसम्म स्वास्थ्य सेवाको प्रवाहमा नफर्कने चिकित्सकहरुको अडानपछि डडेलधुरा अस्पतालमा तीन दिनदेखि सेवा ठप्प छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलनरत छन । संघले त्यसमा ऐक्यबद्धता जाहेर गरेको छ ।

यस खालका घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउनका लागि हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी बिना धरौटी जेल चलान को प्रावधान समावेश गरेर कारवाही प्रक्रिया अगाडी बढाउने संघले आग्रह गरिरहेको छ ।

डाक्टर नै कसुरदार

जहाँ कसुर हुन्छ त्यहाँ दण्ड हुन्छ । दोषीमाथि कारवाही गरि समाजमा कानुनी शासनको व्यवस्था गर्न समय सापेक्ष दण्डनीति निर्माण गरिएको हुन्छ । कानुन भन्दा माथि कोही हुँदैन भन्ने मान्यताका आधारमा हेर्दा डाक्टरहरु पनि कसुर गरेको ठहर भएमा दण्डको भागिदार हुन्छन ।

जनकपुर अन्चल अस्पतालका डा. विजयकुमार सिंह र रम्भा गोइत जस्ता न्युनतम चिकित्सकीय आचरण र व्यवहार नगर्ने डाक्टरहरु नभएका होइनन जसले ८ भदौ ०७५ मा धनुषा जिल्लाकी १२ वर्षिया बलात्कृत बालिकाको मेडिकल रिपोर्ट नै गलत बनाए । बलात्कारीलाई जोगाउन खोजे ।

नेपाल मेडिकल काउन्सिलले डाक्टरद्वयको व्यवसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट बन्चित गराउने गराउने निर्णय गर्यो । त्यस्तै एक महिना अघि ओमअस्पताल एण्ड रिसर्च सेन्टर र गंगालाल हृदय केन्द्रमा भएका दुई छुट्टाछुट्टै घटनामा पनि काउन्सिलले अनुसन्धान गरिरहेका जनाएको छ ।

घटना २०७२ सालको हो । अलका अस्पताल, जावलाखेलमा कार्यरत स्त्री रोग विशेषज्ञ डा. नूतन शर्मालाई नेपाल मेडिकल काउन्सिलले तीन महिनाका लागि चिकित्सकीय अभ्यासमा रोक लगायो । भ्रुण हत्या गर्ने उद्देश्यले प्रेरित भई लिंग पहिचान गरेको उजुरीमा काउन्सिलले छानवीन गरेको थियो । कसुर गर्नेले कसुरको मात्रा अनुसार सजाय पाउनु पर्छ । डाक्टरले कसुर गर्नुको आशय के हुन सक्छ ?

अपराधको गाम्भीर्यता कसुरदारको चरित्र लगायतका विभिन्न तत्वहरुले निर्धारण गर्छन । जे भएपनि दण्डको भय र त्रासले पुनः गल्ती वा लापरवाहीन गर्नेतर्फ सचेत र सजग बन्न दण्डले नै प्रेरित गरिरहने कारण दण्ड आवश्यक पनि मानिन्छ ।

व्यवस्थापनमा कमजोरी

स्वास्थ्य संस्थाको व्यवस्थापन पक्षमा हुने कमजोरीहरुले स्वास्थ्य संस्थामा समस्या देखिने गरेको छ । अर्कोतर्फ, चिकित्सकहरुमा पनि पेशागत इमान्दारी न्यून देखिन्छ । २३ असार ०७६ मा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको बिषयमा भएको उच्चस्तरीय छलफलमा गृहमन्त्री थापाले स्वास्थ्यकर्मीलाई पेशाप्रति निष्ठावान, गम्भीर र जिम्मेवार बन्न आग्रह गरे ।

अहिले देशका सबै क्षेत्रमा दलाली, बिचौलिया, मुन्द्रे, अपराधीकरण जस्ता प्रवृति बढ्दै गएको उल्लेख गरे गृहमन्त्रीले । उनले भने, घटनाको राजनीतिकरण हुनन दिनु, दलालहरुको समाप्तिका लागि समयमै सम्बन्धित पक्षले सूचना उपलब्ध गराई स्वास्थ्य संस्थाको सुरक्षामा सहयोग गर्नु पर्छ ।’

गृहमन्त्री थापाले स्वास्थ्यकर्मी तथा संस्थामा हुने घटनाहरुलाई नियन्त्रण गर्न स्वास्थ्य र गृह मन्त्रालयले आपसी समन्वय र सहकार्य गरेर आगामी दिनहरुमा कार्य गर्ने बताए ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव स्वास्थ्यकर्मीले विरामीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताउँछन । उनले भने, ‘स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले पनि पेशागत इमान्दारीका साथ सेवा गर्न सदैव तत्पर रहन पर्छ । ’

टिप्पणी थप्नुहोस्