युरोपमा फुटबल खेलाडीको किनबेच सुरु

काठमाडौं । युरोपका चर्चित फुटबल क्लबहरुबीच खेलाडी किनबेच सुरु भएको छ । केही चर्चित खेलाडीहरुले क्लब फेरवदल पनि गरिसकेका छन् ।

घरेलु लिगको सिजन सुरु हुने मिति नजिकिँदै जाँदा क्लबहरुले खेलाडी किनबेचलाई तिब्रता दिएका हुन् ।

इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्फ अर्को प्रिमियर क्लब एभर्टन गएका छन् । एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेको बताइएको छ ।

सिटीसँगको सम्झौता एक वर्ष बाँकी छँदै २९ वर्षीय खेलाडी डेल्फ नयाँ गन्तब्यतर्फ लागेका हुन् । एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् भने सिटीबाट २२ खेल खेलेका छन् ।

उता इङ्लिस डिफेन्डर ह्यारी म्याग्वेरे लेष्ट सिटी छोड्ने अवस्थामा पुगेका छन् ।

म्याग्वेरेलाई कीर्तिमानी रकममा अर्को प्रिमियर क्लब म्यान्चेस्टर युनाईटेडले भित्र्याउन सहमति जुटेको बताइएको छ ।

एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मन बार्सिलोनामा अनुबन्धित भएका छन् । सम्झौता अनुसार जुन ३०, २०२४ सम्म रहनेछ र क्लब छाड्नका लागि ८० करोड युरो तोकिएको बार्सिलोनाले विज्ञप्तिमार्फत् जनाएको छ ।

टिप्पणी थप्नुहोस्