ओलीमा सत्ता संचालन गर्ने क्षमता छैनः आरके मैनाली

नेपाली राजनीतिमा स्थापित नाम हो राधाकृष्ण(आरके) मैनाली । वि.स.२०२८ सालको झापा विद्रोहबाट वाम राजनीतिमा उदाएका मैनाली नेकपा मालेका संस्थापक नेताको रुपमा चिनिन्छन् । मैनालीले २०४६ सालमा भएको जनआन्दोलनमा वामपन्थी शक्तिको नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका छन् । राजनीतिक परिवर्तनका लागि १६ वर्ष जेलजीवन विताएका मैनालीले २०५१ सालमा कृषि तथा भुमिसुधार, २०५४ मा स्वास्थ्य र २०६१ मा शिक्षा मन्त्री भएर काम गरिसकेका छन् ।

तत्कालीन मालेबाट राजनीति शुरु गरेका मैनाली पछि एमाले हुँदै गणतन्त्र स्थापना भएपछि तत्कालीन नेकपा माओवादीमा समेत प्रवेश गरेका थिए । पुनः तत्कालीन नेकपा एमालेमा फर्किएका उनी अहिले सक्रिय राजनीति भन्दा बाहिर छन् । उनै मैनाली वर्तमान ओली सरकारमा सत्ता संचालनको क्षमता नभएको विश्लेषण गर्छन् ।

सरकारको प्रवृत्ति

प्रधानमन्त्रीको सबै भनाई मलाई सही लाग्दैन । जस्तो गुठी विधेयक फिर्ता लिएको कुरा उहाँलाई ढिलो जानकारी भयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीले नभनिकन एउटा मन्त्रीले विधेयक फिर्ता लिन सक्छ भनेर पत्याउने कुरा होइन । फेरी अहिलेको लिडरसिपमा ओलीजीलाई नसोधी काम गर्ने त्यो हैसियतका त मन्त्री नै छैनन् । उहाँ झुठो भनेर यही सावित हुन्छ ।

पछिल्लो पटक भारतीय दुतावासको चिठी मलाई आएन, गुम्राहामा राख्ने प्रयास भयो भन्नुभयो । यो पनि मलाई सत्य लाग्दैन । किनभने जसले गल्ती गर्‍यो, त्यसलाई कारवाही त गर्नुपर्ने हो त्यो पनि हुन सकेको छैन । भएको चाहिँ के हो भने उहाँलाई त्यो चिठी बाहिर आउँछ जस्तो लागेन, राष्ट्रवादी देखिरहनका लागि झुठको साहारा लिनुपर्‍यो । भारतबाट चिठी आएर विषादी परिक्षण रोक्नुपर्दा उहाँ झुकेको प्रष्ट हुन्थ्यो । उहाँले कर्मचारीलाई दोष लगाएर आफू उम्किन झुठको साहारा लिनुभयो ।

मैंले ओलीजीलाई मजाले चिनेको छु, कुरा धेरै गर्ने काम नगर्ने उहाँको पहिले देखिकै बानी हो । अहिले राज्यले गर्नुपर्ने धेरै कामहरुलाई लहलाउँदा कविता जस्तै धेरै कुरा त गर्नुभएको छ । उहाँले गरेका कुराहरु काम नलाग्ने त होइनन् तर अहिले तत्कालन गर्न नसकिने कुराहरु हुन् । यहाँ चुनाव भएकै छैन । रसुवागढीमा गएर रेलका कुरा उठाउँनाले उहाँलाई दुर्दशी नेता र राज्यले गर्नैपर्ने काम भने भन्ने देखिन्छ । तर, उहाँले भनेका कुरा समयमै संभव हुँदैन ।

पानीजहाजकै कुरा गर्दा एकवर्ष पछाडी हनुमान नगरमा टिकट काट्ने निम्ता समेत दिनुभयो । सायद पुस १८ गते टिकट काट्न जानु भनेर संसदको रोष्टममा उभिएर मिती नै तोक्नुभयो । यो हावादारी कुरा हो । पानीजहाज भारतबाट आउने हो । भारतमा त उहाँको हुकुममा त चल्दैन । कविता लेख्ने, कथा लेख्ने अर्थात् साहित्यकारको हिसावले उहाँ बोल्नुभयो । देशको कार्यकारी प्रमुखले त्यो हैसियतमा बोल्नु हुँदैन । कुटनीतिक क्षेत्रमा समेत हल्का हुँदा उहाँ आफैं डिप्रेस हुने अवस्थामा पुग्नु भएको छ ।

क्षमताको अभाव
उहाँमा मौसमी राष्ट्रवाद हावी भएको छ । राष्ट्रवाद शव्दलाई प्रयोग गरेर आफू राजनीतिक सिंढी चढ्ने कुरा मात्र उहाँमा छ । महाकालीमा पनि उहाँ लाग्नै भएको हो । त्यो सन्धिले पानिमा हामी ठगीएको अहिले पनि सत्य हो । त्यतिवेला उहाँले ठगीएको कुरा नमानेर विदेशीको हितमा उफ्रिनु भयो । त्यसलाई पनि राष्ट्रवाद नै ठान्नुभयो । नाकावन्दी ताका उहाँमात्रै होइन संयुक्त सरकारका अन्य नेताहरुले पनि उहाँलाई साथ दिएकै हुन् । सारा नेपाली जनताले सरकारलाई साथ दिए । यहाँ विरोध कसैले गरेनन् । निर्वाचनका समयमा त्यहीं हतियार प्रयोग गर्नुभयो ।

वास्तवमा उहाँलाई मानिसहरुले जुन हैसियतमा सोचें त्यो अनुसारको क्षमता, हैसियत, चिन्तन त्यस अनुसारको अडान हुँदै होइन । नभए अहिले विषादीको सम्बन्धमा एउटा पत्र आउने वित्तिकै कर्मचारीलाई गाली गलौंज गरेर बसिरहनु पर्दैन थियो । डिप्लोम्याटिक रुपमा वार्ता गरेर दुबैतर्फ विषादी परीक्षण गर्ने वातावरण सृजना गर्नुपर्ने हो । तर उहाँले ढाँटेर पत्रै आएको छैन भनेर फिर्ता लिनुभयो । उहाँको उद्देश्य चाहिँ ढाटेरै भए पनि राष्ट्रवादी छविलाई देखाइरहनु थियो । तर, पत्र बाहिर आएसँगै कुरा खुस्कियो ।

मेरो देखाईमा उहाँमा कुरा गर्ने तर काम गर्न सक्ने क्षमता नभएको , क्षमताविहिन मान्छे हो । यो प्रवृत्ति उहाँमा पार्टीमा जुनियर हुँदै सरकारसम्म आइपुग्दा पनि उहाँले आफ्नो क्षमताको विकास गर्न सक्नु भएन । पार्टीमा जुनियर मान्छे नै सिनियर हुन्छ । एउटै सिनियर आजिवन पार्टीमा बसिरहने त होइन । यसको अर्थ उहाँ जुनियर या सिनियर हुनुभएकोमा मेरो आपत्ति होइन । तर, जिम्मेवारी थपिंदै गएपछि आफ्नो क्षमतामा पनि सिनियारीटी ल्याउनु पर्छ । क्षमताको विकास गर्दै काम गर्ने शैलीमा पनि बढोत्तरी गर्नुपर्छ । पार्टीमा पनि उहाँ एउटा सानो झुण्डलाई सम्हालेर बस्नु भएको छ । सरकारमा पनि त्यहीँ सानो झुण्ड हावी भएको छ । पार्टीका अधिकांस अनुभवी साथीहरु उहाँको साथमा छैनन् । उहाँले पार्टी नै चलाउन नसकेको अवस्था छ । पार्टी चलाउन नसक्नेले सरकार चलाउन सक्दैन । उहाँलाई गाह्रो यही परेको हो ।

संसदमा पनि त्यस्तै छ । उहाँले विपक्षी दललाई खेलाझम्टी गरिरहनुपर्ने अवस्था नै छैन । साना साना कुरामा टिप्पणी गर्दै हिड्नुपर्दैन । चटकी गर्ने खालको भाषण गर्दै हिड्नु पर्दैन । यसले दिनदिनै उहाँको स्तर गिराएको छ । सरकारमा आएपछि धेरै पावर लिएर क्रियाशिल हुन सकिन्छ भन्ने बुझाइ उहाँमा हावी भयो । दश पन्ध्रवटा क्षेत्र आफूले नै प्रयोग गर्ने भएर गुप्तचर लगायतका क्षेत्रहरु आफ्नो मातहतमा लिएर आउनुभयो । तर, पावर धेरै एकिकृत गर्दैमा सशक्त व्यक्ति बन्न सक्दैन । त्यसलाई चलाउन सक्नु पर्‍यो नि । विश्वविद्यालयको कुलपति पनि आफैं हुनुपर्ने आफ्नै मान्छे पठाउनुपर्ने, अदालत पनि आफ्नै कमाण्डमा चलाउनु पर्ने, सेनालाई पनि आफैं चलाउन पाउनुपर्ने नियम बनाउँदै अगाडी जान खोज्नु भएको छ । यसरी त देश अझ ठूलो संकटमा जान्छ । उहाँमा क्षमता विकास भन्दा पनि पगरी मात्र लिने हतारो छ । चाटुकारी धार्मिक विश्वविद्यालयको चारवटा पिएचडी लिएर आफैं पतन हुने क्रम जारी छ ।

हराएको पारदर्शिता
उहाँको ओठे जवाफभित्र पारदर्शिता छैन । आफू जिम्मेवार भएर कुन कुरा बोल्ने कुन नबोल्ने, कति बोलेर पचाउने कति नबोलेर पचाउने त्यो छुट्याउने क्षमता उहाँसँग हुँदै भएन । क्षमता नभएपछि पारदर्शिता पनि भएन । संसद भनेको गणितिय खेल हो । त्यसमा उहाँ दुई तिहाई हुनुहुन्छ । तर, सामान्य मतले गर्नुपर्ने काम पनि उहाँले गर्न सक्नु भएको छैन । निर्णय कार्यान्वयन गर्न नसकेर बाटोमा हिंड्दा मनमा आउने कुराहरु बोल्यो, प्रशासनलाई गाइड गर्न नसक्यो अनि दिनदिनै खस्किने त भइहाल्यो नि । यसले त सरकारमाथि नै जनविश्वास गुमेको छ । कमजोर हुँदै गएको छ ।

कम्युनिष्ट आचरण
सिद्धान्तको आचरणमा उहाँ समाजवाद रुपान्तरणको शैलीमा अगाडी बढ्नु भएन । देशलाई राजनीतिक र आर्थिक खाका साथ डोहोर्‍याउने योजना उहाँमा छैन । देशमा गरिबी हटाउने कार्य भएको छैन । विदेश जाने नेपालीको सङ्ख्यामा कमि आउन सकेको छैन । भ्रष्टाचार देशमा घटेकै छैन । भ्रष्टाचारको जड उहाँको सरकारको समयदेखि शुरु भएको हैन । तर, एकै पटक शुन्यमा नपुगे पनि सय बाट नब्बेमा त ल्याउनु पर्‍यो । उल्टो सयबाट माथि जान खोजेको छ । कुनै पनि कर्मचारीले डर धाक राखेर उहाँको कुरा पत्याएको छैन । सरकराले पठाएको मान्छे नै भ्रष्ट छ । उचित मान्छेलाई उचित स्थानमा पठाइएको छैन । ललिता निवासमा भएको प्रकरण नै हेरौं न । वाइडवडी प्रकरण हेरौं । आयल निगम प्रकरण हेरौं । हल्ला ठूलो आयो । त्यतिकै हराएर गयो । देखिएको कुरालाई केहीदिन उठायो अनि त्यतिकै छाडीदियो, यो सबै पैसाको खेल हो । जसले पार्टी गुट र भोलीको लागि चुनाव जित्नु परेको छ । यसले त सरकर मात्र होइन देश नै संकटमा पुगिसक्यो । सिस्टमलाई पनि संकटले घेरिसक्यो ।

संघीयता र गणतन्त्र
संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र हिजोको एमालेको एजेण्डा होइन । यो कांग्रेसको पनि एजेण्डामा पर्दैन । इमानदारितापूर्वक भन्ने हो भने सबै एजेण्डाहरु तत्कालिन माओवादीको हो । विडम्वना माओवादी आफ्नै कारणले ‘व्याक’ भयो ।  पहिले २०४६ सालमा गिरिजाबाबुको एजेण्डा बहुदललाई स्थापित गर्ने त थिएन । गणेशमान जि र कृष्णप्रसाद भट्टराईको जोड बहुदलमा थियो । तर, गिरिजाबाबुले त्यसलाई आत्मासाथ गरेर बहुदलीय लोकतन्त्रलाई स्थापित गर्ने भन्दा पनि उहाँको आफ्नै इगोका कारण बहुमतको सरकार नै असफल हुँदै आयो । अहिले पनि यस्तै भइरहेको छ ।

सत्तामा भएको नेकपामा माओवादी पनि छ तर फ्रन्ट लाइनमा’ छैन । अग्रभागमा त नेकपा एमाले छ । जुन उसको एजेण्डा नै हैन । एजेण्डा बाहिर चल्दा घोषणा गरेजस्तै सजिलो गरेर लागू गर्न समस्या परेको छ । गणतन्त्र घोषणा गरेपनि काम गराइको शैली हिजोको राजाको जस्तै छ । राष्ट्रपतिको शैली पनि त्यस्तै छ, प्रधानमन्त्रीको शैली पनि उस्तै छ । कतिसम्म भने राष्ट्रपतिले आफैं छाता ओडेर हिंडेको पनि सत्ता पक्षधरलाई ठूलो समाचार बनेको छ । राष्ट्रपतिले म यती सोझो भए भनेर प्रमाणित गर्नुपर्ने स्थिती आएको छ । सम्पूर्ण गतिविधिहरु सामन्तवादी सोंचबाट उठेको छ, समाजवादी चिन्तनबाट उठेको छैन । प्रम ओलीले संघीयता आउनु पूर्व र आइसकेपछि पनि आफूलाई संघीयता, गणतन्त्रवादीको रुपमा आफूलाई प्रष्ट्याउन सक्नु भएको छैन ।

आगामी दिन
डेढ वर्षको समयमा सरकारले जनतालाई शुभ सन्देश दिएको छैन । गणतन्त्र पश्चात्को पहिलो शक्तिसम्पन्न निर्वाचित सरकारले राम्रो काम गर्दा यो सिस्टम नै स्थापित हुन्छ । यसले राम्रो काम गर्न सकेन सरकार मात्र होइन सिस्टम नै वदनाम हुन्छ । तीन तहमै एउटा पार्टीको वर्चस्व भएको समयमा पनि देशमा परिवर्तनका रुपरेखा नकोरिएपछि सरकारसँग दृष्टिकोणको अभाव देखिन्छ । अर्थ, विदेश, कुटनीति यहाँसम्म कि कार्यकारी प्रमुखको बोली पनि डामाडोल छ । राजनीतिक अस्थिरता आउन थालेका छन् । विदेशीहरुले द्वन्द्धको न्याय माग गरेका छन् ।

प्रचण्डपथमा लाग्दै नेत्र विक्रम चन्द ‘विप्लव’हरु भुमिगत भएका छन् । हिजो एमाले, त्यसपछि माओवादी संसदीय बाटोमा आएका हुन् । त्यसरी नै विप्लवलाई पनि शान्तिको बाटोमा ल्याउने प्रयास कसैले गरेकै छैनन् । अहिले त सत्तामा पनि वामपन्थी विपक्षमा पनि वामपन्थी, हतियार बोक्ने पनि वामपन्थी छ । यसले देशमा गम्भिर संकट निम्त्याउँछ । देश र सिस्टमलाई उकालो लगाउने अवस्था छैन ।
(रुपान्तरणका लागि रोमन आचार्यसँगको कुराकानीको आधारमा)

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री