वैदेशिक रोजगारमा जाने युवा कसरी ठगिन्छन् ?

काठमाडौं । अधिकांश युवा आफ्नो रोजगारदाताका बारेमा जानकारी नलिई वैदेशिक रोजगारमा जाने गरेका पाइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार सार्वजनिक गरेको ‘आप्रवासी कामदारहरूको अधिकारको अवस्थाः आप्रवासी कामदार भर्ना अभ्यास र न्यायमा पहुँच’ विषयको अनुसन्धान प्रतिवेदनअनुसार अझै पनि ९६.०७ प्रतिशत युवा आफू कुन वैदेशिक रोजगारदाताको सम्पर्कमा जान लागेको भन्ने विषयमा जानकारी नरहेको पाइएको छ ।

प्रतिवेदनमा स्थानीय एजेण्टले वैदेशिक रोजगारीमा जान आतुर व्यक्तिलाई विश्वास दिलाउन काम तथा सुविधाका बारेमा प्रायः झुटा कुरा बताउने गरेको उल्लेख गरिएको छ ।

म्यानपावर व्यवसायीले ५२.९४ प्रतिशत युवालाई गन्तव्य मुलुकका बारेमा जानकारी नदिने गरेका पाइएको आयोगका सदस्य सुदीप पाठकले बताए ।

तलब र सुविधा भने प्रायःलाई आकर्षक नै हुन्छ भनेर एजेण्टले झुक्याएर वैदेशिक रोजगारीका लागि युवालाई प्रेरित गर्ने गरेको पाइएको छ ।

सरकारले पछिल्ला वर्ष वैदेशिक रोजगार क्षेत्र सुधारका लागि एक दर्जनभन्दा बढी कार्यक्रम लागू गरे पनि दैनिक सयौँको सङ्ख्यामा आप्रवासी कामदार र तिनका परिवारले विभिन्न प्रकारका समस्या भोग्नु परिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा एजेण्ट वा वैदेशिक रोजगार एजेन्सीमार्फत गएकामध्ये ७६.७४ प्रतिशतले भर्ना वा रोजगारीका क्रममा कुनै वा सबै समस्या भोग्नु परेको बताएको उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार २०७६ जेठ मसान्तसम्म औपचारिक रुपमा श्रम स्वीकृति लिई कूल ४५ लाख ९९ हजार ५६७ जना वैदेशिक रोजगारीमा गएका छन् ।

यस्तै आयोगको अनुसन्धान टोलीले गरेको अनुसन्धानमा ५५.६३ प्रतिशतले तलबसम्बन्धी समस्या झेल्नु परेको उल्लेख गरिएको छ ।

तेस्रो मुलुक रोजगारीमा गई फर्की आएकामध्ये अनुसारको तलब, खाना खर्च वा अतिरिक्त कामको पारिश्रमिक नपाएको वा तलबै नपाएको, समयमा भुक्तानी नपाएको, रकम कटौती वा रोक्का गरिएको ५५.६३ प्रतिशत रहेका छन् ।

यसैगरी श्रम स्वीकृतिमा गएकामध्ये ३६.६२ प्रतिशतले आफूलाई भर्ना गर्दा एउटा काम भनिएको तर गन्तव्यमा पुगेपछि रोजगारदाताले अर्को काम लगाएको वा करारपत्रमा भनिएको भन्दा फरक काम गर्नु परेको बताएको प्रतिवेदनमा भनिएको छ ।

आयोगले गरेको प्रतिवेदनमा संस्थागत श्रम स्वीकृतिमा गई फर्केकामध्ये ५६.३९ प्रतिशतले आफूलाई अतरिक्त समय (ओभरटाइम)मा काम लगाइएको तर त्यसको भुक्तानी नदिइएको बताएको अनुसन्धानकर्ता रामेश्वर नेपालले जानकारी दिए ।

यस्तै अतिरिक्त समयको पारिश्रमिक दिए पनि श्रम मापदण्डमा तोकिएकोभन्दा अधिक कार्यघण्टा काममा लगाएको पाइएको छ ।

रोजगारी करारपत्रमा झुक्याउने

यसैगरी रोजगारदाताले रोजगारीमा जानेलाई करारपत्रमा समेत झुक्याउने गरेको पाइएको छ ।

श्रम स्वीकृतिमा गई फर्केका ६२.६८ प्रतिशतले आफूलाई पहिला भनिएको भन्दा तलब, काम, ओभरटाइम, खाना वा करारका कुनै न कुनै सर्त फरक भएको बताएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगको अनुसन्धानबाट एकभन्दा बढी करारपत्र दिने अभ्यास रहेको पाइएको उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीमा गएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई व्यक्तिगत एजेण्टले मध्यस्थता गर्ने गरेको उल्लेख गरिएको छ । जसले गर्दा एजेण्टमार्फत वैदेशिक रोजगारमा जाने युवाले थप समस्या बेहार्नु परेको प्रतिवेदनमा बताइएको छ ।

एजेण्टले अनौपचारिक तवरले प्रशस्त मात्रामा कामदार तेस्रो मुलुकमा रोजगारीमा पठाउने गरेको अनुसन्धानमा क्रममा आयोगले पत्ता लगाएको छ ।

प्रतिवेनदमा खासगरी महिलालाई ‘अहिले काठमाडौँको एअरपोर्टबाट जान पाइँदैन’ भनेर भारतको बाटोबाट खाडी मुलुक र इराकमा लगेको देखिएको उल्लेख छ ।

युरोप र अमेरिका लगिदिने भनेर ठूलो रकम असुल्ने तथा अलपत्र पार्ने गरेका घटना पनि देखिएका प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी प्रतिवेदनमा ५७.१८ प्रतिशतलाई आफू ठगिएका बारेमा तथा उजुरी गर्ने निकायका बारेमा थाहा नभएको बताइएको छ ।

२५.८४ प्रतिशतले भने उजुरी गर्ने निकायका रुपमा सम्बन्धित देशको दूतावासका नाम लिएका थिए ।

आयोगका अध्यक्ष अनुपराज शर्माले उक्त प्रतिवेदन सार्वजनिक गर्दै आप्रवासी कामदारको मानवअधिकार हननसमेत भइरहेको बताए ।

उनले आप्रवासीलाई न्यायको पहुँच पु¥याउन राज्यका सबै निकाय लाग्नुपर्नेसमेत बताए । उक्त कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले आप्रवासीका समस्यामध्ये मानवअधिकारको समस्या ठूलो रहेकाले रक्षा गर्नुपर्ने बताए ।

आयोगका अर्का सदस्य मोहना अन्सारीले राजनीतिक दलले पनि वैदेशिक रोजगारदातामा संलग्न भएकाले वैदेशिक रोजगारका नाममा मानव बेचबिखन गर्ने गरेका बताए ।

यसैगरी आयोगका सदस्य सुदीप पाठकले आप्रवासी र तिनका परिवारको मानवअधिकारका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्म भुसालले सबैसँग समन्वय गरेर मर्यादित श्रम बनाउन लागिरहेको बताए ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले वैदेशिक रोजगारलाई कडाइका साथ चेकजाँच गर्ने बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले आफू पनि वैदेशिक रोजगार ऐन संशोधन गरेर वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने पक्षमा रहेको बताए । -शरद शर्मा(रासस)

टिप्पणी थप्नुहोस्