रोकिएन असारमा बढी भुक्तानी

-राधेश्याम विश्वकर्मा

भैरहवा । अन्य बर्षहरु जस्तै यस बर्ष पनि असारमै अधिकांस योजना सम्पन्न भएका छन भने सबैभन्दा बढी भुक्तानी पनि असार महिनामै देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार चाल आर्थिक बर्षमा असार महिनामा मात्र ३२ दशमलव ३९ प्रतिशत भुक्तानी दिएको देखिएको छ ।

रुपन्देहीको पूंजिगत खर्चतर्फ कुल बजेट ७ अर्व ६२ करोड २६ लाख २७ हजार मध्ये कुल भुक्तानी ८३ दशमलव ०७ प्रतिशत अर्थत ६ अर्व ३३ करोड १७ लाख ९९ हजार ८ सय ८१ रुपैयाँ भएको छ ।

खर्च मध्ये पनि असार महिनामा मात्रै २ अर्व ४६ करोड ९३ लाख ८३ हजार २ सय ३६ रुपैया अर्थात ३२ दशमलव ३९ प्रतिशत भुक्तानी भएको छ भने बाँकी रहेको ५० दशमलव ६७ प्रतिशत बाँकीको ११ महिनामा भुक्तानी देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवामा प्रमुख कोष नियन्त्रक चन्द्रप्रसाद भुषालले बताए ।

रुपन्देही जिल्लाले चालु आर्थिक बर्षमा खर्च भन्दा करिब ३ गुना बढी आम्दानी गरेको छ । जिल्ला भरिलाई छुट्टयाईएको चालु र पूंजिगत बजेट भन्दा बढी जिल्लाले आम्दानी गरेको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले चालु आर्थिक बर्षको अन्तिम दिन रुपन्देहीको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो ।

कार्यालयका प्रमुख कोष नियन्त्रक भुषालले यस बर्ष रुपन्देहीमा ९९ अर्व ३५ करोड ७५ लाख २ हजार ९२ रुपैया राजस्व संकलन गरेको बताए ।

यसको तुलनामा जिल्लामा चालु र पूंजिगत गरि ३४ अर्व ३७ करोड ६६ लाख ९० हजार ५ सय ९ रुपैया अर्थात कुल बजेटको ९२ दशमलव ३७ प्रतिशत खर्च गरेको छ ।

कुल खर्च मध्ये पनि चालु तर्फ २८ अर्व ४ करोड ४८ लाख ९० हजार ६ सय २७ रुपैयाँ भएको छ भने पूंजिगत तर्फ ६ अर्व ३३ करोड १७ लाख ९९ हजार ८ सय ८१ रुपैयाँ खर्च भएको भुषालले जानकारी दिए ।

आम्दानी तर्फ भने रुपन्देहीमा सबै भन्दा बढी भैरहवा भन्सार कार्यालयले राजस्व संकलन गरेको छ । भन्सारले ८१ अर्व ८४ करोड ८३ लाख ३४ हजार ६ सय ७४ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।

बर्षको अन्तिम दिन दिउसो २ बजेसम्म जिल्लामा ९९ अर्ब राजस्व संकलन भएपनि यो बढेर १ खर्व हुन सक्ने अनुमान छ ।

यसैगरी बढी राजस्व संकलन गर्नेमा आन्तरिक राजस्व कार्यालय, अध्यागमन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, रुपन्देही जिल्ला अदालत लगायत रहेको प्रमुख कोष नियन्त्रक भुषालले जनाए ।

रुपन्देहीमा रहेका १६ वटै स्थानिय तहले सत प्रतिशत खर्च गरेको भने जिल्लाका अन्य ठूला आयोजनाहरुको खर्च पनि सन्तोषजनक रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

रुपन्देहीको कुल बजेट ३७ अर्व २१ करोड ७३ लाख ८६ हजार ९ सय ९५ रुपैया रहेकोमा यसको ९२ दशमलव ३७ प्रतिशत अर्थात ३४ अर्व ३७ करोड ६६ लाख ९० हजार ५ सय ९ रुपैया खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवा अन्र्तगत ९४ वटा संघीय कार्यालय, १६ स्थानिय तह र ५ वटा प्रादेशिक कार्यालय गरि १ सय १४ वटा कार्यालयहरु रहेका छन् ।

टिप्पणी थप्नुहोस्