हरेक बर्षासँगै किन डुब्छ विराटनगर ?

-प्रल्हाद गुरागाई

विराटनगर । असार अन्तिम सकिन लाग्दापनि पूर्वी क्षेत्रमा बर्षा नभएपछि किसान चिन्तित थिए । बर्षभरिको अन्न जोहो गर्न धौधौ हुने भएपछि मोरङको रंगेलीमा किसानले दुईसाता अघि भ्यागुताको बिहे गराए । संयोग नै मान्नु पर्छ, फुर्सादिला किसानले असार २१ गते शनिवार भ्यागुताको विवाह गराएको भोलिपल्ट देखि बर्षाले उग्र रुप लियो ।

निरन्तरको बर्षा असार ३१ मा आएर मात्र मत्थर भयो । तर बर्षासँगै आएको भेल बाढीले धेरै जनधनको क्षति गरिससेको थियो । सो अवधिमा बर्षाको कारण प्रदेश नम्बर १ मा १५ जना भन्दा बढीले ज्यान गुमाई सकेका थिए । धेरै स्थानमा पहिरोले घर पुरेको थियो । खोलाको बाढीले गरिखाने खेतवारी बगाएको थियो ।

पूर्वको दुर्गम र पहाडी क्षेत्र मात्र होइन, केही महिना अघि मात्र प्रदेशको राजधानी बनेको विराटनगर महानगरपालिकाले यो समस्याले झेल्ने पर्यो । राजधानी हुँदा होस् वा नहुँदा विराटनगरले सदियौं देखि भोग्दै आएको थियो ।

दुई बर्ष अघि परेको अविरल बर्षाले विराटनगरलाई निक्कै प्रभावित परेको थियो । त्यो बेला हवाई सेवा अबरुद्ध भएको थियो । नगर क्षेत्रमा रहेका सरकारी अड्डामा पानी जमेर सेवाग्राही प्रभावित बनेका थिए । सरकारी स्वास्थ्य संस्था कोशी अञ्चल अस्पतालमा पानी पसेर तलाउ बनेको थियो ।

ठिक दुई बर्षपछि विराटनगरले उस्तै समस्या भोग्यो । यो पल्ट पनि धेरै सरकारी अड्डामा पानी पस्यो । सेवाग्राही प्रभावित बने । विराटनगर भएर बग्ने केशलिया र सिंगिया खोलामा बाढी आयो । त्यो बाढीले धेरैलाई सुकुम्बासी समेत बनायो । विराटनगर महानगरपालिका अनुसार बर्षाका कारण धेरैको घरमा पानी पस्यो ।

रोचक बिषय त के छ भने, केही महिना अघि भब्यता पूर्वक सम्पन्न भएको साफ महिला फुटबल खेलाइएको खेल मैदान शहीद रंगशालामा मुख्यमन्त्री फुटबल प्रतियोगिताको फाइनल खेलको आयोजना गरिएको थियो । तर बर्षाले रंगशाला डुवानमा परेपछि आयोजना स्थल सारेर सुनसरीको धरान लगियो ।

आखिर हरेक बर्ष बर्षासँगै किन डुब्छ त, विराटनगर हामीले यो जिज्ञासा विराटनगरका पुराना बासिन्दा दीपक लोहनीसँग राख्यौं । उनले भने, ‘यो मानव निर्मित समस्या हो । पहिले यस्तो समस्या थिएन, अहिले समस्याले उग्ररुप लिन थालेको छ ।’

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यो बर्षको बर्षाले विराटनगरका वडा नं ८ को सुकुम्बासी बस्ती,वडा १२ को बखरी, मुसहर र ऋषिदेव वस्ती, वडा नं १५ को पारिजात र मुसहर टोल, वडा नम्बर ६ को ब्रम्हपुरा र रामपुर डुबानमा परे । त्यस्तै वडा नं १६ र वडा नं ७ मा समेत घर घरमा पानी पस्यो ।

जानकारहरुका अनुसार विराटनगरमा यो बर्षा र बाढी पहिलो थिएन् । २०२८ सालमा लगातार २२ दिनसम्म झरी परेको थियो । २०३६, २०४४ सालमा पनि बर्षाले दुःख दिएको थियो । तर दुःख अहिलेको जस्तो थिएन

पछिल्लो समय अब्यवस्थित घर निर्माण, प्राकृतिक निकासको अभाव र निर्माण भएका सडक र नालामा उचित ध्यान नदिँदा समस्या आएको दीपक लोहनीको भनाई छ । उनीले रुपान्तरणसँग भने, ‘नदी नाला भनेका मानव सभ्यता भन्दा धेरै माथि छन् । हामीले त्यहि नदी नाला माँस्न थाल्यांै ।’

विराटनगरको पानी निकास हुने पुराना बस्ता पैनी, दुधुवा खोल्सा र घोघा पैनी अहिले मासिएका छन् । ४९ फिटको घोघा पैनी मानव अतिक्रमणको शिकार भएर अहिले कतै ३० फिट त, कतै ५ फिटमा झरेको छ ।

महानगरले भने विकास निर्माणको काम पूर्णरुपमा सम्पन्न नभएका कारण समस्या आएको बताएको छ । विराटनगरमा एशियाली विकास बैङ्कको सहयोग शहरी विकास कार्यक्रम जारी रहेको छ । सो कार्यक्रम सम्पन्न भएपछि यस्तो समस्या नआउने महानगरको भनाई छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश १ का सचिव ई.मनोज घिमिरे विराटनगर डुबाउनुमा मुख्य कारण ‘क्रिटकल स्लोप’ देख्छन् । अब्यस्थित शहरीकरण, प्राकृतिक ड्रेनहरुको विनास र बनेका संरचनाहरु सुचारु नहुँदा समस्या देखिएको घिमिरेको बुझाई छ । ‘प्राकृतिक ढलको विनास भयो । भएको खोला नाला सफाईमा ध्यान गएन । खोला ब्यवस्थापन भएन । कतै थुन्ने त कतै बाँध्ने काम भयो ।’ घिमिरेले भने, ‘उत्तरबाट दक्षिणको वहावले दिशा लिन सकेन र समस्या बल्झियो ।’

विराटनगर महानगर शहरी विकास परियोजनाका प्रमुख ईं भरत न्यौपाने विकास निर्माणका काम सम्पन्न भएको स्थानमा समस्या नभएको जीकिर गर्छन । न्यौपानेले वडा नम्बर १, २, ३, ४, ५, ६, ९, १० लगायतका क्षेत्रमा कुनै समस्या नभएको बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री