मुख्य सडकमा राखेका बुद्धका मूर्ति रातारात तोडफोड

काठमाडौं । पर्यटकलाई आकर्षित गर्न भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका मूर्ति बुधबार राति तोडफोड भएपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ ।

नेपाली काङ्ग्रेसले रुपन्देहीको तिलोत्तमा नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएका गौतमबुद्धको मूर्तिहरु तोडफोड गर्नेलाई यथाशीघ्र कानूनी कारवाहीको माग गरेको छ ।

काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बिहीबार विज्ञप्तिमार्फत विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान् गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको उल्लेख गर्दै सो निन्दनीय एवं आपत्तिजनक कार्य गर्ने दोषीलाई करवाही गर्न माग गरेका छन् ।

लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले ६ लेनको सडक डिभाइडरमा बुद्धका मूर्ति राखेको थियो ।

२२ वटा मूर्तिमध्ये अज्ञात समूहले गराति ५ वटा तोडफोड गरेको हो । बुटवल सुनौली सडक खण्ड ६ लेनमा बिस्तार भएको छ । तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्ध मुर्ति राखेर सडकको सुन्दरता बढाउने अभियान अन्तर्गत मूर्तिहरु राख्ने अभियान थालेको थियो ।

यता, सरकारका प्रवक्ता सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गौतमबुद्धको प्रतिमा तोडफोड भएको घटनाले धार्मिक सद्भावमा खलल नपुग्ने जनाएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले एउटै घटनाले धार्मिक सहिष्णुता र सद्भावमा खलल हुन नसक्ने बताए । बुद्ध प्रतिमाहरु तोडफोड गर्नेको खोजी भइरहेको भन्दै उनले दोषीहरुलाई कानुनको दायरामा ल्याइने बताए ।

टिप्पणी थप्नुहोस्