निर्यात न्यून हुँदा ब्यापार घाटा सवा दुई खर्व बढी

-राधेश्याम विश्वकर्मा

भैरहवा । भैरहवा भन्सार कार्यालयबाट मात्र आयात निर्यातको अवस्था हेर्दा आर्थिक बर्ष २०७५/०७६ मा ब्यापार घाटा २ खर्व २५ अर्ब बढी देखिएको छ ।

मुलुककै दोस्रो ठुलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयबाट बस्तु आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा ब्यापार घाटा बढ्दै गई रहेको छ ।

नेपालका लागी प्रायः बस्तुहरु मुख्यगरी भारतबाट आयात हुने गरेका छन भने त्यसको तुलनामा नेपालबाट भारत लगायत तेस्रो मुलुकमा निर्यात हुने बस्तुहरुको परिमाण न्यून रहेको छ ।

भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक बर्षमा ४ अर्व ४५ करोडको बस्तु निर्यात भएको देखिन्छ । यसैगरी भैरहवा भन्सार नाका हुँदै २ खर्व २९ अर्व ४ करोड सामाग्री नेपाल भित्रिएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमल कुमार भट्टराईका अनुसार नेपालमा ९८ दशमलव ०६ प्रतिशत आयात हुने गरेको छ भने १ दशमलव ९४ प्रतिशत मात्र निर्यात रहेको छ । यसरी गत आर्थिक बर्षमा मात्रै २ खर्व २५ अर्व रुपैंयाँ ब्यपार घाटा देखिएको छ ।

यद्यपी, आर्थिक बर्ष २०७४/०७५ को तुलनामा गत आर्थिक बर्षमा निर्यात केही बढे पनि समग्रमा नेपालको व्यापार घाटा ९८ प्रतिशत बढी रहेको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालबाट भारततर्फ सबैभन्दा सेन्थेटिक यार्न निर्यात हुने गरेको छ । त्यसपछि दोस्रोमा रद्दी एवम कबाड सामाग्री निर्यात हुने गरेको छ । नेपालका बिभिन्न स्थानबाट संकलन गरिएको काम नलाग्ने कबाड सामाग्रीहरु यस नाका हुँदै निर्यात हुने गरेको छ ।

भैरहवा भन्सार कार्यालयले चालु आर्थिक बर्षमा निर्याततर्फ सबैभन्दा बढी राजश्व सेन्थेटिक यार्नमा देखिएको बताएको छ । यसैगरी बोरा झोला अन्य कपडा पदार्थ समेत निर्यात हुने गरेको छ ।

गत आर्थिक बर्षमा रद्दी कागज मात्र ३३ करोड ८४ लाख बराबरको तथा अन्य रेशाको कपडा ३६ करोडको निर्यात भएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भैरहवा भन्सार हुँदै मुख्यगरी कबाड, बिभिन्न मसला लगायतका बस्तुहरु नेपालबाट भारत लगायत अन्य मुलुकहरुमा निर्यात हुने गरेको बताए ।

नेपालले गत आर्थिक बर्षमा भारतबाट सबैभन्दा बढी मोटरसाईकल भैरहवा भन्सार कार्यालयबाट भित्रयाएको छ । आर्थिक बर्ष २०७४/०७५ मा मोटरसाईकलबाट ८ अर्व ४९ करोड राजस्व असुली गरेको भैरहवा भन्सारमा आर्थिक बर्ष २०७५/०७६ मा ४४ दशमलव ७० प्रतिशतले बढेर १२ अर्व २९ करोड राजस्व संकलन गरेको छ । गत आर्थिक बर्षमा भैरहवा भन्सारबाट मात्र १ लाख ४५ हजार ८ सय ७९ वटा मोटरसाईकल नेपाल आएका छन् ।

यस्तै जिप, कार र भ्यानहरु ७ हजार २ सय ८१ वटा नेपाल भित्रयाई कार्यालयले १० अर्व ३५ करोड २७ लाख राजस्व असुली गरेको छ । नेपाल बढी भित्रिनेमा एमयस बिलेट पनि रहेको छ । गत आर्थिक बर्षमा ४ लाख ३० मेट्रिक टन बिलेट भित्रिएको यसबाट ४ अर्ब ५१ करोड राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकबाट देखिन्छ ।

भारतबाट नेपालतर्फ बिशेष गरी जिप, कार र भ्यान बाहेक मोटसाईकल, एमएस विलेट, हाईस्पिड डिजल, ग्लेज टाईल, सिङ्ग तथा डबल क्याव पीकअप गाडी, ट्रक, मिनी ट्रक, पेट्रोल लगातका बस्तु आयात हुने गरेका छन ।

गत बर्षहरुमा अत्याधिक आयात भएको सिमेन्ट क्लिङकर, चिनि, मदिरा बनाउने स्प्रिट लगायतको आयात भने घटेको छ । आर्थिक बर्ष २०७४/०७५ मा चिनीमा मात्र ६ करोड बढी राजस्व असुल गरेको भन्सारमा २०७५/०७६ मा ९२ प्रतिशत चिनिको आयात घटी करिब ५१ लाख मात्र राजस्व असुली भएको छ ।

भैरहवा भन्सार लक्ष्यभन्दा सँधै पछाडी

भैरहवा भन्सार कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा पनि लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन । मुलुककै दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालय गत केही बर्ष देखी लक्ष्य अनुसारको राजस्व संकलनमा असफल हुँदै आएको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा कार्यालयलाई ९३ अर्व ९५ करोड ९७ लाख ७३ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले ८७ दशमलव ६० प्रतिशत अर्थात ८२ अर्व ३१ करोड रुपैयाँ मात्र संकलन गरेको छ ।

गत बर्ष ७० अर्व ८ करोड राजस्व संकलन गरिएकोमा यो बर्ष राजस्व बढेर ८२ अर्व भन्दा बढी पुगेको छ । राजस्व संकलनकै हिसाबका गत बर्ष भन्दा यस बर्ष बढी भए पनि लक्ष्य बढी दिएको र राजस्वका श्रोतहरु घट्दै गएको तथा छोटी भन्सारलाई पनि मूल भन्सार सरह कायम गरेको हुँदा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको कार्यालयका दावी छ ।

गत बर्ष ७० अर्व राजस्व संकलन भए पनि चालु आर्थिक बर्षमा त्यसमा ३४ दशमलव ०६ प्रतिशत बढाएर ९३ अर्व ९५ करोड प¥याइएको भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलले बताए ।

मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीको समयमा वीरगञ्ज लगायतका ठूला भन्सार कार्यालयहरु बन्द भए पनि भैरहवा भन्सार कार्यालय सुचारु रहेको थियो ।

अन्य भन्सार कार्यालयबाट भित्रिने समान भैरहवा हुँदै नेपाल प्रवेश गरेपछि भैरहवा भन्सार कार्यालयको राजस्व असुली ह्वात्तै बढेको थियो । त्यसपछि आयात घटे पनि राजस्व असुली दर बढ्दै जाँदा भैरहवा भन्सार कार्यालय लक्ष्य अनुसारको राजश्व असुली हुनै सकेको छैन ।

मासिक रुपमा पनि चालु आर्थिक बर्षमा कार्यालयले असोज महिनामा मात्र लक्ष्य अनुसारको राजश्व प्राप्त गरेको थियो । असोज महिनामा राजस्व असुली लक्ष्य ६ अर्व ५७ करोड ७१ लाख ८३ हजार लक्ष्य रहेकोमा कार्यालयले ९ अर्व ६८ करोड २३ लाख १३ हजार रुपैंयाँ गरेको थियो । अन्य कुनै पनि महिनामा कार्यालयले तोकेको राजश्व उठाउन सकेन ।

चालु आर्थिक बर्षमा १ खर्व ६ अर्व रुपैंयाँ बराबरको राजश्व असुल गर्ने सरकारले लक्ष्य दिएको छ । जुन अहिले उठेको राजश्व भन्दा २९ प्रतिशत बढी छ ।

टिप्पणी थप्नुहोस्