१५ अर्बको लगानी, बालुवामा पानी

-सिराज खान
नेपालगन्ज । बाँकेका किसानहरुका लागि बहुप्रतिक्षित सिक्टा सिंचाई आयोजनाको निर्माण कार्य शुरु भएको १५ बर्षको अवधीमा सरकारले गरेको १५ अर्ब रूपैंयाँको लगानी बालुवामा पानी सरह भएको छ ।

आयोजना सम्पन्न गर्नका लागि हालसम्म १५ अर्ब रुपैयाँ खर्चगरिसकेपनि जिल्लाका किसानले सो आयोजनाबाट सिंचाईका लागि एक थोपा पनि पानी पाएका छैनन् । उनिहरुलाई अझै पनि आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

सो आयोजनाको मूल नहरमा केही समयमै पानी बग्ने र सो वरिपरिका किसानले खेतमा सिंचाई गर्न पाउने भनि गत केही बर्षदेखि बर्षेनी आयोजनाले घोषणा गर्दै आएपनि अझै सो नहरमा सिंचाईका लागि पानी बगेको छैन ।

३ बर्षअघि नै सिक्टाको नहरको अगैयास्थित हेड वक्र्सदेखि १७ किलोमिटर सम्मको नहरमा तथा २ बर्ष अघि १७ देखि ३५ किलोमिटरसम्मको नहरमा पानी बगाइने भनि किसानलाई जानकारी गराईएको थियो ।

तर, हालसम्म पनि आयोजनाले निर्माण गरेको मूल नहरमा पानी नआउँदा स्थानीय किसानले तयार भएको नहर हेरेर आकाशे पानीको भरमा खेती गर्नु परेको किसानहरुको गुनासो छ ।

स्थानीय किसान दिपक ओलीका अनुसार गत ५ बर्षदेखि नहरमा पानी आउला र चारैतिर खेतमा हरियाली होला भन्ने सपना हेर्दै आएपनि अझै सो चाहना पुरा हुनसकेको छैन ।

सरकारले १५ अर्ब रुपैयाँ खर्च गरिसकेपनि नहर वरिपरिका किसानले एक थोपा समेत पानी नपाएकोमा सो क्षेत्रका अधिकांश किसान आक्रोशित छन् । बर्षा नहुँदा धान रोप्न धेरै ढिलाई हुने भएपनि किसानले सुख्खा नहर हेरेरनै चित्त बझाउनु परेको अवस्थामा अहिले पनि परिवर्तन हुनसकेको छैन ।

यस्तो अवस्था कहिलेसम्म रहने हो भनि सरकारसंग अधिकांश किसानले प्रश्न गरिरहेका छन् । सरकारले गरेको लगानी अनुसार किसानले प्रतिफल पाउन नसकेको अधिकांश किसानको गुनासो छ ।

नहरको राम्ररी परिक्षण नै नगरेर हस्तान्तरण गरिएकोले पानी परिक्षण गर्ने क्रममा पटक पटक नहरनै भत्किंदा किसानको चिन्ता झनै बढेको छ ।

१५ बर्षको अमूल्य समय खर्चेर १५ अर्ब लगानी भैसक्दा पनि सुख्खा नहर हेरेरनै आकाशे भरमा खेती गर्नु लाजमर्दो कुरा भएको किसानहरु बताउँछन् ।

अर्बौ लगानी गरेर बनेको नहरको वरिपरिका सयौं विगाहा खेतबारी सुख्खा रहनु र किसानले एक एक थोपा पानीका लागि पनि आकाशको भर पर्नु पर्ने बाध्यताको अन्त कहिले हुने हो भनि सोही क्षेत्रका अर्का किसान नरेन्द्र पौडेलले प्रश्न गरेका छन् ।

नहरको हेड वक्र्सदेखि १७.७ किलोमिटरसम्मको पहिलो खण्ड ३ बर्ष अघिनै र १७.७ किलोमिटरदेखि ३५ किलोमिटरसम्मको दोस्रो खण्डको निर्माण पुरा गेरेर ठेकेदार कालिका कन्स्ट्रक्सन कम्पनीले ३ बर्ष अघिनै हस्तान्तरण गरिसकेपनि हालसम्म समेत सो नहरमा पानी बगेको छैन । २०६१/६२ देखि निर्माण सुरु भएको सो आयोजनामा हालसम्म हेडवक्र्ससहित करिब १५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

सुरुको लक्ष्यअनुसार झन्डै १२ अर्ब रुपैयाँ लागतमा उक्त आयोजना सम्पन्न हुने अनुमान थियो । तर, दोस्रो गुरुयोजनामार्फत लागत खर्च र कामको परिमाण बढाएर सरकारले आर्थिक वर्ष ०७६–७७ भित्रमा सिक्टाको सम्पूर्ण काम सक्ने लक्ष्य लिएको छ ।

आयोजनाको सम्पूर्ण काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने सरकारी अनुमान छ । हालसम्म सिक्टाको करिब ५८ प्रतिशत काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।

पटक पटक नहर भत्किंदा समस्या

आयोजनाको निर्माण पुरा भैसकेको मूल नहर नै परिक्षण गर्ने क्रममा पटक पटक भत्किएपछि सिंचाइका लागि नहरमा पानी बगाउने योजना अझै पनि कागजमै सिमित छ ।

सामान्य परिक्षणकै क्रममा ठाउँ ठाउँमा नहर भत्किने गरेकोले नहरमा पानी बग्ने तथा सो पानीबाट खेती गर्ने प्रतिक्षामा रहेका जिल्लाका किसान निराश बनेका छन् ।

राप्तीसोनारी गाउँपालिका ८ र ९ वडाको बीचमा पर्ने चंगाई खोलास्थित सिक्टाको पश्चिम (दायाँ) मूल नहर तथा अन्य विभिन्न स्थानमा समेत परिक्षणका क्रममा पछिल्लो पटक नराम्रो तरिकाले नहर भत्किएपछि निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको थियो ।

कुल ५० क्युमेक्स क्षमता रहेको मूल नहर परीक्षणका लागि ४ क्युमेक्स मात्र पानी छाडेको अवस्थामा भत्किएकोले त्यो भन्दा बढी पानी छोड्दा नहरनै भताभुंग हुने देखिएको छ ।

तीन वर्षअघि २०७३ असार १४ मा पनि परीक्षणकै क्रममा ढकेरीस्थित झिझरी खोलानजिक मूल नहर भत्किएको थियो । मूल नहरको १७.७ सय किलोमिटरदेखि ३५ किलोमिटर खण्डको बीचमा पर्ने उक्त खण्डमा घुलनशील माटो (डिसपर्सिभ सोयल) प्रयोग भएका कारण पटक–पटक भत्किने गरेको विज्ञहरुको निष्कर्श छ ।

पटक पटक नहर भत्किएपछि सो को छानविनका लागि गठन गरिएका छानविन समितिहरुले नहर निर्माण गर्दा राम्ररी माटो परिक्षण नगरेर घुलनशिल माटो भएकै ठाउँमा नहर निर्माण गरिएकोले सो समस्या आएको ठहर सहितको प्रतिवेदन सरकारलाई बुझाएका थिए ।

नहरलाई परिक्षण नगरेरै निर्माण कम्पनीबाट हस्तान्तरण गरिनु पनि सो आयोजनामा समस्या आउने एक प्रमुख कारक रहेको सो क्षेत्रका अधिकांश बासिन्दाको भनाई छ । भत्किएको नहरको मर्मत अब आयोजनाले नै गर्ने गरी तयारी शुरु गरेको आयोजना प्रमुख कृष्ण प्रसाद नेपालले बताएका छन् ।

डुडुवा शाखा निर्माणको ठेक्का रद्द

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्‍याउने गरी निर्माण गर्न लागिएको सोही आयोजना अन्तर्गतको डुडुवा शाखाको निर्माणमा निर्माण कम्पनीले हदैसम्मको लापरवाही गरेपछि सो ठेक्का रद्द गरिएको छ । नयाँ तरिकाले फेरी ठेक्का दिने प्रक्रिया शुरु गरिएको आयोजनाले जनाएको छ ।

कोस्टल/पप्पु जेभीले २० जुन २०१६ मा २८ महिनाभित्र निर्माण पूरा गर्ने गरी डुडुवा शाखा नहरको ठेक्का लिएको थियो । तर, १९ महिना बितिसक्दा जम्मा २ प्रतिशत मात्र काम गरेर निर्माण कार्यलाई अलपत्र पारिएपछि ठेक्का रद्द गरिएको थियोे ।

आयोजनाका अनुसार यो सबैभन्दा ठूलो शाखा नहर हो । डुडुवा शाखाबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिकाका मनिकापुर, हिरमिनिया, राँझा, डुडुवा गाउँपालिकाको कम्दी, बैजनाथ गाउँपालिकाको वनकट्टी, खजुरा गाउँपालिकाको मानपुर, इन्द्रपुरलगायत क्षेत्रमा सिंचाइ सुविधा पुर्‍याउने योजना छ । नहर निर्माणका लागि ९८ करोड रुपैंयाँमा सम्झौता गरिएको थियो ।

यसैविच अगैया-बैजापुर-नरैनापुर–कटकुइयासम्मको साढे ५३ किलोमिटर नहरको काम भने अहिले तिव्र रुपमा भैरहेको आयोजनाले जनाएको छ ।

 

टिप्पणी थप्नुहोस्