भन्सार जाँचपास बन्द, सयौं गाडी सीमानामा अलपत्र

  • सम्वाददाता 

नेपालगन्ज । नयाँ आर्थिक बर्षको पहिलो दिनबाटै नेपालगन्ज भन्सार कार्यालयमा रहेका ढुवानी एजेन्ट र उनका प्रतिनिधीहरु आन्दोलनमा उत्रिएपछि तीनदिनदेखि भन्सार जाँचपास ठप्प भएको छ ।

भन्सारका एजेन्ट र उनका प्रतिनिधिलाई पनि भ्याटमा दर्ता हुनुपर्ने नीति सरकारले ल्याएपछि त्यसको विरोधमा काम बन्द गरेर एजेन्ट र प्रतिनिधि दुबै आन्दोलित भएका हुन् ।

उनको आन्दोलनका कारण सीमानामा दुई सय बढी ढुवानीका गाडीहरु रोकिएका छन् भने राजस्व संकलन समेत प्रभावित भएको छ ।

नाकामा आएका ढुवानीका साधनको कागजी प्रक्रिया पुर्‍याएर मालसामान सम्बन्धित ठाउँमा पुर्‍याउन सहयोग गर्दै आएका भन्सार एजेन्ट र उनीहरुका प्रतिनिधिले काम बन्द गरेका कारण नाकामा आएका दुईसय बढि ढुवानीका साधन अलपत्र परेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

जाँचपास हुननसकेका कारण करिब ५० वटा गाडीहरु भन्सार परिसरमा थन्किएको तथा डेढसय जति सीमानामा रोकिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

पेट्रोलियम पदार्थ बोकेका ट्यान्करहरुको मात्र भन्सार भैरहेको जनाउँदै उनले दैनिक ३ करोड भन्दा बढी राजस्व संकलन हुँदै आएको सो भन्सार कार्यालयमा अहिले दैनिक १ करोड मात्र राजस्व संकलन भैरहेको बताए ।

यस्तो अवस्था केही दिन रहने हो भने राजस्व संकलनको लक्ष्य पुरा गर्न समस्या हुने समेत उनले बताए ।

तीनदिनदेखि भन्सार जाँचपास नहुँदा सयौं गाडीहरु सीमानामा अलपत्र पर्दा कतिपय मालसामानको नोक्सानी भएको व्यवसायीले जनाएका छन् । तरकारी र फलफूल बोकेका दर्जनौ गाडीहरु रोकिंदा तरकारी र फलफूल कुहिएर खराब भएको उनिहरुको भनाई छ ।

उता, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यसंग सो बारेमा जानकारी माग्दा उनले अहिले सरकारको नयाँ करनितिको विरोधमा आफुहरु पनि आन्दोलनमा रहेकोले केही गर्न नसक्ने बताए ।

उनले भन्सार ढुवानी एजेन्ट र उनका प्रतिनिधीको आन्दोलनलाई उद्योग बाणिज्य संघको पनि समर्थन र सहयोग रहेको जनाउँदै सरकारले छिटो समस्या समाधान गर्नु पर्ने माग गरे ।

टिप्पणी थप्नुहोस्