सिराहमा एकै दिन छुट्टाछुटै घटनामा तीन बालबालिकासहित पाँचको मृत्यु

लहान । सिरहाको छुट्टाछुटै स्थानमा शनिबार एकै दिन भएका विभिन्न घटनामा ३ बालबालिकासहित ५ जनाको मृत्यु भएको छ। विषालु सर्पले डस्दा सिरहा नगरपालिका–१२, सारश्वर निवासी प्रमोदकुमार साहकी ५ वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको छ।

आफ्नै घरअगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा डसेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, विषालु सर्पको टोकाइबाट सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी २२ वर्षीय तिलक बरालको मृत्यु भएको छ।

सर्पले टोकी घाइते भएका बराललाई उपचारका लागि बन्दीपुरस्थित नेपाली सेनाको शेरगण सुरक्षा गुल्म सर्पदंश उपचार केन्द्र बन्दीपुर भर्ना गरिएकामा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पोखरीमा डुबेर सिरहाको अर्नामा गाउँपालिका र कल्याणपुर नगरपालिकामा दुई बालबालिकाको मृत्यु भएको छ। अर्नामा गाउँपालिका–१ स्थित पोखरीमा खेल्ने क्रममा डुबेर स्थानीय नन्दलाल पालकी ५ वर्षीया छोरी साक्षीकुमारी पालको मृत्यु भएको प्रहरीले जनाएको छ।

उता सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित महुलियाटोलमा रहेको पोखरीमा डुबेर स्थानीय महमद मसरफ हुसेनका ३ वर्षीय छोरा मोहम्मद अफरोस हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आफ्नै घरको अगाडि खाल्डोमा खेल्दाखेल्दै पानीमा डुबेर सिकिस्त भएका हुसेनलाई उपचारका लागि मिर्चैया प्राथमिक स्वाथ्य केन्द्र अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो।

करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–४ स्थित भर विश्वकर्मा सप्लायर्स ग्रिल उद्योगका सञ्चालक मनिषकुमार विकको मृत्यु भएको छ। ग्रिल उद्योगमा काम गर्ने क्रममा विद्युतको तार सर्ट भई करेन्ट लाग्दा सञ्चालक सर्लाहीको बागमती नगरपालिका–८, सोल्टी निवासी २० वर्षीय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। रासस

टिप्पणी थप्नुहोस्