एकै छिनको बर्षाले नेपालगञ्जका अधिकांश क्षेत्र डुबानमा

-सिराज खान

नेपालगञ्ज । ढल निकासका लागि निर्माण गरिएका अधिकांश ठुला साना नालाहरु फोहोरले थुनिंदा पानीको निकास बन्द भएपछि सानो पानी पर्दा पनि नेपालगञ्ज डुबानमा पर्ने गरेको छ ।

आइतवार विहान पनि त्यस्तै भयो । विहान करिब सवा नौ बजेतिर सुरु भएको बर्षाले दुई घण्टा पार गर्न नपाउँदै नगरका अधिकांश स्थानहरु जलमग्न हुनुका साथै डुबानमा परेका छन् ।

यस बर्षाको बर्षामा यहाँ डुबान भएको यो दोस्रो पटक हो । यसअघि असार ८ गते परेको पानीले पनि नगरका अधिकांश भागलाई डुबाएको थियो । जसले गर्दा धेरैको घरमा समेत पानी पसेको थियो ।

पानीको निकासका लागि तयार पारिएका नालाहरुको सफाई एक पटक पनि नगरिंदा नाला फोहोरले भरिएकोले निकास बन्द भै नगर डुबानमा परेको अधिकांश स्थानीय बासिन्दाको गुनासो छ ।

करिब दुई घण्टाको निरन्तर बर्षाले नगरको घरबारी टोल, न्यूरोडको सेतुविचोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती, बसपार्क क्षेत्र, धम्बोझी, एकलैनी टोल, बिलासपुर, कोरियनपुर र भृकुटीनगरका अधिकांश क्षेत्रमा पानी भरिएर ती क्षेत्रहरु डुबानमा परेका छन् ।

सबैभन्दा बढी समस्या घरबारी टोल र सेतु विक चोकदेखि त्रिवेणी मोडसम्मका सर्वसाधारणलाई भएको स्थानीय नरेन्द्र शर्माले बताए । उनले सेतु विक चोकका क्षेत्रमा कयौं पसलमा समेत पानी पसेको बताए ।

पटक पटक नाला सफा गर्न आग्रह गरिंदा पनि सुनवाई नभएकोले पानीको निकास बन्द हुँदा यसरी पटक पटक यहाँ डुबान हुने गरेको उनको दुखेसो छ । एकैछिनको पानीमा यस्तो डुबान भैरहेकोले लामो समयसम्म पानी परेमा त धेरै ठुलो क्षति हुनसक्ने आशंका स्थानीयको छ ।

पटक पटक ध्यानाकर्षण गराउँदा पनि नालाको सरसफाई नगरिंदा निकास थुनिएर नगरमा पानी भरिएको घरबारी टोलका स्थानीय राजेन्द्रसिंहले बताए । उनले घरबारी टोलको अवस्था त निकै दयनीय बनेको बताए ।

सुर्खेतरोड, न्यूरोड र अन्य स्थानमा पानीको निकासका लागि बनाईएका ठुला ठुला नालाहरुको सफाई नगरिंदा यस्तो भएको उनको भनाई छ ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण गरिएका नालाहरुको निर्माण पछि एक पटक पनि सरसफाई नभएको र खोलेर नहेरिएको स्थानीयको आरोप छ ।

यसैविच, नेपालगञ्ज उपमहानगरपालिकाले भने नगरमा डुबान हुन नदिन विभिन्न उपायहरु अपनाईएको जनाएको छ ।

उपमहानगरपालिकाका कार्यकारी प्रमुख हरि प्याकुरेलले डुबान रोक्न नालाको सरसफाई शुरु गराउनुका साथै पानी जम्ने स्थानबाट पनि निकास खोल्न लगाइएको बताए ।

टिप्पणी थप्नुहोस्