गाउँपालिका अध्यक्षलाई भ्रष्टाचारको आरोप, पुष्टी गर्न चुनौति

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष बच्छुलाल केवटले वडा अध्यक्षहरुले लगाएको भ्रष्टाचारको आरोप पुष्टी गर्न चुनौति दिएका छन् ।

जिल्लाको गैड्हवा गाउँपालिकामा स्थानिय प्रतिनिधिहरु विच विवाद हुँदा त्यहाँको गाउँसभा नै प्रभावित भएको छ । वडा अध्यक्ष र गाउँपालिका अध्यक्षबीच बजेट बाँडफाँडको कुरा नमिल्दा गाउँपालिकाको गाउँसभा नै अनिश्चित बनेको छ । जनप्रतिनिधिहरु दुई खेमामा बिभाजित भई पत्रकार सम्मेलन नै गरी एक अर्काप्रति आरोप प्रत्यारोप लगाई रहेका छन् ।

गाउँपालिका अध्यक्ष बच्छुलाल केवटले गाउँपालिका एकलौटी ढंगले चलाएको तथा भ्रष्टाचार गरेको आरोप सहित वडा अध्यक्षहरुले गरेको पत्रकार सम्मेलनको खण्डन गर्न गाउँपालिका अध्यक्षले पनि पत्रकार सम्मेलनको आयोजना गरे ।

गाउँपालिकामै पत्रकार सम्मेलनको आयोजना गरि अध्यक्ष केवटले वडा अध्यक्षहरुले माग गरे अनुसार बजेट नपाउँदा अर्नगल आरोप लगाउँदै हिंडेको बताए ।

गाउँपालिकाले नियमित नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरे पनि वडामा जाने बजेट बाँडफाँड बारे कुरा नमिल्दा पारीत हुन नसकेको बताए । उनले प्रत्येक वडाले २ करोडको दरले वडामा बजेट माग गरेको र यो कुनै पनि हालतमा सम्भव नभएको बताए ।

‘एउटा वडालाई १ करोड १० लाख बराबर बाँडने र प्रत्येक वडाले कम्तिमा ४० लाखको ठूलो योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेका छौं,’ केवटले भने ।

वडा अध्यक्षहरुकै यही माग पुरा गर्न नसक्दा भ्रष्टाचार गरेको आरोप खेप्नु परेको उनले पत्रकार सम्मेलनमा गुनासो गरे । ‘कुनै पनि योजना वा कार्यक्रममा कमिसन माग गरेको वा अन्य कुनै भ्रष्टाचार गरेको प्रमाण पेश गरे जुनसुकै कारवाही भोग्न तयार छु’, केवटले भने ।

उनले कर्मचारीको अभावको कारण अहिलेसम्म पनि गाउँपालिकाको हिसाब गर्न नसकेको स्विकार गरे । एक आर्थिक बर्षमा चार वटासम्म प्रमुख प्रशासकीय अधिकृतको हेरफेर र लेखा हेर्ने कर्मचारीको अभावको कारण खर्च हिसाब गर्न नसकिएको उनले बताए ।

‘असारको अन्तिममा योजनाको भुक्तानी गर्ने कि हिसाब गर्ने ?’ भन्दै उनले अबको १० दिन भित्र सबै हिसाब सार्वजनिक गर्ने प्रतिवद्धता जनाए ।

यस अघि बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले गाउँपालिका अध्यक्षले मनोमानी र एकलौटी ढंगले काम गरेको आरोप लगाएका थिए ।

९ वटा वडा रहेको गाउँपालिकाका ७ वटा वडा अध्यक्ष कार्यपालिका सदस्य तथा न्यायिक समितिका सदस्यहरुले गाउँपालिका अध्यक्ष बच्छुलाल केवटले वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहमति बिपरीत गाउँपालिकाको निर्णय नै नगरी गाउंपरिषद् गरेको आरोप लगाएका थिए ।

वडा अध्यक्षहरु रामअजोर यादव, नरेन्द्र प्रताप सिंह, सुरेन्द्र सिंह कुर्मी, प्रदीप कुमार चौधरी, तुलबहादुर पुन, चन्द्र प्रसाद गौचन लगायतले गाउँपालिका अध्यक्ष केवटले आफुहरुको सहमति विना गाउँ परिषद् गरी एकलौटी रुपमा बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।

टिप्पणी थप्नुहोस्