भातृसंगठनहरु बलियो भए कांग्रेस बलियो

-कृष्ण आचार्य

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशनको वहस चलिरहेको छ ।

प्रत्येक चारबर्षमा हुनुपर्ने महाधिवेशनको तत्काल मिति तोक्न नेतृत्वलाई दबाब बढीरहेको छ । आउँदो फागुनसम्ममा महाधिवेशन गरिसक्नुपर्ने विधानगत ब्यवस्था भएपनि केन्द्रिय समितिबाट यसबारेमा निर्णय हुन संकेत देखिएको छैन् ।

यही साउन ७ गते बोलाइएको केन्द्रिय समितिको बैठकमा महाधिवेशनका बारेमा चर्को आवाज उठाउने एकथरी केन्द्रिय सदस्यहरुको तयारी छ । तर पार्टी सभापति शेरबहादुर देउवा र उनका पक्षधर नेताहरु यसबारे मौनजस्तै छन् ।

कार्यसमितिको कार्यकालको म्याद एकबर्ष थप गर्न पाउने व्यवस्था विधानमै भएकाले यसबारे तत्काल निर्णय गरिहाल्ने मुडमा सभापति देउवा देखिएका छैनन् । बरु एकबर्ष म्याद थपेर महाधिवेशनको तयारी गर्ने मनस्थितिमा देउवा देखिएका छन् ।

महाधिवेशनको म्याद तोक्ने बहस चलिरहेका बेला भातृ संगठनहरुको व्यवस्थापनमा भने नेतृत्वले चासो नदेखाएको आरोप लागिरहेको छ । पार्टीको महाधिवेशनमा भातृसंगठनहरुको भूमिका महत्वपुर्ण हुने भएपनि भातृसंगठनहरुको अवस्था लथालिङ्ग भएको गुनासो छ ।

कांग्रेसले महाधिवेशनको कुरा उठाउँदै गर्दा कतिपय भातृसंगठन भने अभिभावकवीहिन भएको महशुस गरिरहेका छन् । कांग्रेसका १३ भातृसंगठन मध्ये अधिकांश नेतृत्वविहीन जस्तै छन् । समयमै अधिवेशन गर्न नसकेर लथालिङ्ग भएका छन् ।

जस अन्तर्गत नेपाल महिला संघ, तरुण दल, नेपाल विद्यार्थी संघ, दलित संघ, नेपाल किसान संघ, भूपु सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, मुस्लिम संघ, तामाङ संघ, मगर संघ र ठाकुर समाजमध्ये अधिकांशले नयाँ नेतृत्व पाउन सकेका छैनन् ।

कांग्रेसका मुख्य सचिब कृष्ण पौडेलका अनुसार यिनीहरुमध्ये चार भातृ संस्थाहरुको महाधिवेशनका लागि समय रहेको तथा अधिवेशन सम्पन्न भइसकेको र बाँकी नौं भातृसंगठनहरुको महाधिवेशनका विषयमा यही ७ गतेको केन्द्रिय समितिको बैठकले निर्णय गर्नेछ । सचिब पौडेलले भने, ‘सकेसम्म दशैं अगावै बाँकी भातृसंगठनको अधिवेशन सम्पन्न गर्ने योजना रहेको छ ।’

नेवि संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले भन्छन्, ‘हरेक नेपाली राजनीतिक परिवर्तन र सुशासन कायम गर्न मेरुदण्डको भूमिका निर्वाह गर्ने विद्यार्थी तथा युवाहरुको साझा संस्था नेवि संघलाई नेतृत्वले हलुका रुपमा लिनु दुर्भाग्य हो,’ उनले भने,‘भातृसंगठनको भूमिका पार्टी महाधिवेशनमा निकै महत्वपूर्ण हुने भएकाले तुरुन्त स्थानीय स्तरदेखि नै संगठन निर्माणमा भातृसंगठनलाई बलियो बनाउनुपर्छ ।’

नेपाल किसान संघका अध्यक्ष भानु सिग्देल भन्छन्, ‘केन्द्रले ठोस निर्णय लिन नसक्दा भातृसंगठनहरुको पुनर्निर्माण हुन नसकेको हो, पार्टी आन्तरिक कलहमा नै अल्झिरहनु दुःखद छ ।’

शीर्ष नेताहरुले गुट उपगुटको राजनीति छाडेर एकत्रित हुनुपर्ने उनको सुझाव छ । उनले भने, ‘नेपाल किसान संघको विगत १२ बर्षदेखि अधिवेशन हुन नसक्नु भागबन्डा र गुट उपगुट प्रमुख कारक हो ।’

नेपाल महिला संघको पनि हालत उस्तै छ । भागबन्डा र गुट उपगुटका कारण संगठन कमजोर देखिएको छ । नेपाल महिला संघ, पाल्पाको सचिब सुनिता अधिकारी नेतृत्व पूर्वाग्रही ढंगबाट अगाडी बढ्दा यस्तो समस्या आएको बताउँछिन ।

नेतृत्वले पार्टी र कार्यकर्ताप्रति जिम्मेवार भएर संगठन सुदृढीकरणमा जोड दिनुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘विधानमा एकवर्ष म्याद थप्न पाउने व्यवस्था छ भनेर चुप लागेर बस्नुभन्दा अहिले स्थानीय स्तमा संगठन बलियो बनाएर महाधिवेशनको कार्यलाई गति दिनु पर्दछ ।’

टिप्पणी थप्नुहोस्