सरकारी बेवास्ताले होटल व्यावसाय धरापमा

-सिराज खान

नेपालगञ्ज । बाँके जिल्लाको होटल व्यावसायलाई धरापमा पार्ने कार्य सरकारी बेवास्ता र अव्यवहारिक नीति नियमले गरेको व्यावसायीहरुको आरोप छ ।

होटल व्यावसायी संघ बाँकेले आइतवार नेपालगञ्जमा आयोजना गरेको ‘व्यावसायिक वर्तमान समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यावसायीहरुले सो आरोप लगाएका हुन् ।

कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका उद्योगी व्यावसायी अगुवाहरुले सरकारको बेवास्ता र गैरजिम्मेवार नीतिले नै बाँकेका सबै उद्योग व्यवसाय धरापमा पर्दैै गएको गुनासो गरे ।

होटल व्यावसायी संघ बाँकेका अध्यक्ष भिम कंडेलको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जलाई बेवास्ता गरेर प्रदेशको राजधानी बुटवल बनाइएको हुँदा बाँकेको होटल व्यवसाय धरापमा परेको बताए । उनले नेपालगञ्जलाई जानीजानी पछाडी पार्न खोजिएको आरोप लगाए ।

सोही प्रकारको गुनासो नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले पनि गरे । उनले यहाँको विमानस्थललाई अन्तराष्ट्रिय बनाउनु पर्ने मागलाई पनि सरकारले बेवास्ता गरेको बताए ।

कार्यक्रममा प्रदेशसभाका सभासदहरु आइपी खरेल, मोहम्मद याकुब अन्सारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीर बहादुर ओली, होटल व्यावसायि संघ बाँकेका पूर्व अध्यक्ष दिपेन्द्र जोशी, नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, होटल व्यावसायी संघ बाँकेका अध्यक्ष भिम कँडेल लगायतले वर्तमानका व्यावसायिक समस्या र तिनका समाधानका बारेमा आआफ्ना धारणाहरु राखेका थिए ।

उनीहरुले नेपालगञ्जलाई आर्थिक केन्द्र बनाउन उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने र यो ऐतिहासिक शहरलाई पश्चिम नेपालकै पर्यटकीय प्रवेशद्धार बनाउनु पर्ने माग गरेका थिए ।

सोही अवसरमा बाँकेमा भर्खरै सरुवा भएर आएका जिल्ला प्रहरी प्रमुख एसपी विर बहादुर ओली र जिल्ला ट्राफिक प्रमुख प्रहरी निरिक्षक पविन्द्र बमलाई स्वागत सम्मान गरिएको थियो ।

टिप्पणी थप्नुहोस्