राजनीतिमा जस्तै वीपीको साहित्यिक योगदान

पोखरा । नेपाली राजनीतिमा सबैले सँधै लिने नाम मध्येको एक हो बिपी कोइराला । विश्व राजनीतिमा नै चर्चित कोइरालाको जीवनको अर्को महत्वपूर्ण पाटो हो साहित्य ।

नेपाली साहित्यमा उहाँको योगदानलाई अत्यन्त महत्वका साथ लिइन्छ । नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने महत्वपूर्ण श्रेय पनि बिपीलाई नै जान्छ ।

राजनीतिक क्षेत्रमा गरिएको योगदानको विशेष चर्चा हुने गरे पनि उहाँले साहित्यका क्षेत्रमा दिएको योगदानको भने त्यही रूपमा चर्चा नगरिएको साहित्यका अनुसन्धाताहरू बताउँछन् ।

बिपीको साहित्यिक योगदान पनि राजनीतिक भन्दा कम नभएको विन्ध्यवासिनी संस्कृत विद्यापीठ पोखरामा नेपाली साहित्यमा प्राध्यापनरत अम्बिकाप्रसाद भट्टराईले बताए ।  बिपीले राजनीतिक क्षेत्रमा पुर्‍याउनुभएको योगदान जस्तै साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदान पनि बिर्सन नमिल्ने उनले बताए ।

“बिपी कोइरालाले नै नेपाली साहित्यमा पहिलो पटक यौन मनोविज्ञान भित्र्याउनुभएको हो,” भानु वाङ्मय प्रतिष्ठान पोखराका सचिवसमेत रहेका भट्टराईले थपे “पश्चिमी दार्शनिक सिग्मण्ड फ्रायडको यौन मनोविज्ञानलाई उहाँले नेपाली आख्यानका क्षेत्रमा भित्र्याउनुभएको हो ।”

तत्कालीन समयमा कालजयी साहित्य सिर्जना गरी नेपाली साहित्यमा नवीनतम चिन्तन, आयाम, परम्परा एवं र शैली भित्र्याउनुलाई अत्यन्त महत्वका साथ लिइएको छ ।

भट्टराईका अनुसार साहित्य स्वतन्त्ररूपमा लेखिनुपर्छ भन्ने स्पष्ट मान्यतालाई आत्मसात गरेका बिपी स्वयंले आफूलाई राजनीतिमा समाजवादी र साहित्यमा अराकजतावादी हूँ भनेर स्वीकारेका छन् ।

स्वच्छन्दपन नै साहित्यको विशिष्टता भएको बताउने बिपीले आफ्नो एक अभिनन्दन समारोहमा ‘साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ’ भन्दै गर्नुभएको चर्चालाई पनि महत्वका साथ हेर्ने गरिएको छ ।

राजनीतिकरूपमा विशिष्ट छवि बनाउन सफल बिपीका साहित्य राजनीतिक विचारबाट मुक्त भए नभएको भन्ने सम्बन्धमा भने साहित्यकार एवं अनुसन्धाताहरूका आ–आफ्नै तर्क छन् ।

बिपीको साहित्यमा राजनीतिक गन्ध नदेखिए पनि उहाँको ‘एक रात’ कथामा राजनीतिकर्मीको पीडालाई सामान्यरूपमा व्यक्त गरिएको कतिपयको तर्क छ ।

त्यस्तै कतिपयले भने सोझो अर्थमा उहाँका साहित्यमा राजनीतिक गन्ध नदेखिए पनि व्यङ्ग अर्थमा ठाउँ/ठाउँमा राजनीति मिसिएको बताउँछन् ।

बिपीका साहित्यमा ठाउँ/ठाउँमा राजनीति पाइएको बताउने बिपी साहित्यका अनुसन्धाता प्रा डा भुपति ढकाल ‘कमल’ सोझो रूपमा भने कुनै किसिमको राजनीतिक प्रभाव नदेखिनु उहाँकोे विशिष्टिकृत साहित्यिक पहिचान भएको बताउँछन् ।

‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासमा विचार पक्ष’ शीर्षकमा विद्यावारिधि गरेका ढकालले सोझो अर्थमा कुनै किसिमको राजनीतिक प्रभाव उहाँको साहित्यमा नदेखिएको बताए ।

“साहित्य कहिल्यै पनि सोझो बाटोमा हिँड्दैन, अर्थात सोझो अर्थमा लेखिँदैन,” उनले भने “बिपीका प्रत्येक साहित्यिक रचनामा सोझोरूपमा राजनीति नदेखिए पनि घुमाउरोरूपमा भने ठाउँ ठाउँमा मिसिएको पाइन्छ ।”

कोइरालाका ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’, ‘हिटलर र यहुदी’, ‘मोदीआइन’ र ‘बाबु, आमा र छोरा’ उपन्यास छन् । उहाँका दोषी चश्मा र श्वेतभैरवी कथा सङ्ग्रहका साथै ‘आफ्नो कथा’, ‘आत्मवृत्तान्त’ र ‘जेल जर्नल’ जीवनीमूलक कृति प्रकाशित छन् । कोइरालाका नेपाली र हिन्दी भाषामा गरी ३० वटा कथा छन् ।

ढकालले ‘हिटलर र यहुदी’का साथै ‘मोदीआइन’ मानवतामूलक उपन्यास भएको बताए । यी उपन्यासमा मानवताका विविध पक्षबारे चित्रण गरिएको उल्लेख उनले ‘सुम्निमा’ उपन्यास संस्कृतिमा आधारित रहेको र ‘नरेन्द्र दाइ’ र ‘बाबु, आमा र छोरा’ उपन्यास नारीमूलक रहेको बताए ।

बिपीले नेपाली साहित्यका क्षेत्रमा अतुलनीय योगदान गर्नुभएको बताउँदै उनले बिपीको राजनीतिक योगदानका साथै साहित्यिक योगदानलाई पनि सँगसँगै सम्झनुपर्ने धारणा राखे । -वासुदेव पौडेल(रासस)

टिप्पणी थप्नुहोस्