पार्टीको नेतृत्व परिवर्तन अवश्यम्भावी: महामन्त्री कोइराला

-सिराज खान
नेपालगन्ज । वीपी कोइरालाको ३७ औं स्मृति दिवस मनाउन सोमवार नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला नेपालगन्ज पुगे । नेपालगन्जको राँझा विमानस्थल र सुर्खेतरोडमा रहेको कोइराला निवासमा उनलाई जोडदार स्वागत गरियो ।

सुशिल कोइरालाको निधनपछि नेतावीहिन जस्तै बनेको बाँके काँग्रेसमा कोइराला परिवारका कुनै ठुला सदस्य आएको बेला बेग्लै रौनक देखिन्छ । आजपनि ठीक त्यस्तै रौनक देखियो, विमानस्थलदेखि कोइराला निवास र कार्यक्रमस्थल जिल्ला समन्वय समितिको सभाहलसम्म ।

सयौं नेता कार्यकर्ता आफ्ना केन्द्रिय नेतालाई सुन्न र भेट्न आतुर देखिए । अधिकांशलाई पार्टीका बारेमा महामन्त्रीले के बोल्छन् भन्ने खुल्दुली थियो ।

स्वर्गीय विपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले सोमवार यहाँ आयोजना गरेको ‘विपी चिन्तन, नेपाली काँग्रेस र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री डा. कोइरालाले पार्टीको नेतृत्व परिवर्तन अवश्यम्भावी भएको बताए ।

उनले अहिलेसम्म आफुले पार्टी सभापति देउवाबारे कुनै पनि आलोचना र टिका टीप्पणी नगरेको जनाउँदै तर यस पटक पहिलो पटक केही कुरा राख्नैपर्ने अवस्था आएको बताए ।

पार्टीको नेतृत्व परिवर्तन गर्ने चाहना राख्नेहरु सबै अब छिटै एकतावद्ध भै आफ्नो अभियानलाई तिव्र पार्नु पर्ने कुरामा महामन्त्री कोइरालाले जोड दिए । उनले भने‘–अब यो तालले पार्टी अगाडी जान सक्दैन, वीपी, गणेशमान, कृष्णप्रसाद, गिरिजा र सुशिल कोइरालाले गरेको त्याग र बलिदानलाई निरन्तरता दिन सक्षम नेतृत्व चाहिन्छ’ ।

वीपी पूत्र कोइरालाले स्वर्गीय वीपी कोइरालाका विचार, सिद्धान्त र भावनाहरु आज पनि त्यतिकै सान्दर्भिक रहेको जनाउँदै काँग्रेसलाई बलियो, संगठित र एकतावद्ध बनाउन विचार जस्तै नेतृत्वपनि संगठन सुहाउँदो आवश्यक रहेको बताए ।

पार्टीको महाधिवेशन नजिक आईरहेको जनाउँदै उनले पार्टीलाई विधान, सिद्धान्त र नियम बमोजिम चलाउनु पर्ने बताए । सो अवसरमा उनले विपी कोइरालासंग सम्बन्धित विभिन्न स्मरणहरु सुनाएका थिए ।

‘वर्तमान सरकार पूर्ण रुपमा असफल’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकारबाट अब जनता र देशको भलो नहुने कुरा प्रष्ट भैसकेको दावी गरे । उनले जनताको दुई तिहाई मत पाएर बनेको वर्तमान सरकार सुशासन, शान्ति सुुरक्षा र विकास निर्माण लगायत हरेक क्षेत्रमा असफल भैसकेको बताए ।

‘वर्तमान सरकारका ठुला ठुला सपना सुनेर आजित भैसकेका नेपाली जनताले नेपाली काँग्रेसतर्फ आशावादी भएर हेरिरहेका छन्, तर अहिलेको जस्तो गुटबन्दीमा लागेको, कमजोर र एकता नभएको पार्टीबाट जनताको आशा पुरा हुन सक्दैन’–उनले भने ।

वर्तमान सरकारका अलोकप्रिंय निर्णय र कामहरुका कारण नेपाली जनताले विकल्प खोज्न थालेको जनाउँदै महामन्त्री डा. कोइरालाले यति बेलानै काँग्रेसले जनतामा आफ्नो पकड बलियो पार्नु पर्ने अवसर रहेको बताए ।

सोही अवसरमा बोल्दै नेपाली काँग्रेसका युवा नेता बद्री पाण्डेले वर्तमान सरकारले संघियता, लोकतन्त्र र गणतन्त्र सबैलाई कमजोर पार्ने कार्य गरिरहेको जनाए ।

सरकारले एकदलिय तानाशाही लाद्ने षडयन्त्र गरिरहेको जनाउँदै उनले दिनदिनै जनविरोधी निर्णयहरु गरिरहेकोले काँग्रेसलाई फाइदा हुने बताए । अहिले सरकारकै कारण राष्ट्रियता, स्वतन्त्रता, विकास र आर्थिक उन्नती सबै धरापमा परेको उनले बताए ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न भएको सो विचार गोष्ठीमा नेपाली काँग्रेससका पूर्व सांसद सनत कुमार रेग्मी र महेन्द्र बहुमुखी क्याम्पसका सहायक प्रमुख अर्जुन पोखरेलले विपीको बिचार, सिद्धान्त र जिवनी बारे चर्चा गरेका थिए ।

यसअघि कोइराला निवास पुगेका महामन्त्रीले स्वर्गिय सुशिल कोइराला र डा. अरुण कोइरालाको योगदानलाई पनि स्मरण गरेका थिए । सो अवसरमा उनले बाँके जिल्लालाई अभिभावकत्व दिने समेत बताएका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री