अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैनः प्रधानमन्त्री

तस्विरः प्रधानमन्त्रीको निजी सचिबालय

-रुपान्तरण संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्राकृतिक प्रकोप उद्धार राहत दुईवटा संस्थाले २५ लाख रुपैंयाँ हस्तान्तरण गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले १० लाख र व्यापारिक समूह केडिया ग्रुपले १५ लाख रुपैंयाँ हस्तान्तरण गरेका हुन् ।

राहत रकमको चेक बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरोको चपेटामा परेका जनतालाई सहयोग गर्नका लागि रकम हस्तान्तरण गरेकोमा ट्रेड युनियन र केडिया ग्रुपलाई धन्यवाद दिए ।

‘प्राकृतिक विपत्तीमा परेका जनताहरुलाई तपाईंहरुले दिएको रकमले उद्धार र राहातमा ठुलो सहयोग पुग्दछ’, ओलीले भने,‘मानवीय सहयोगको यस कार्यका लागि तपाईंहरुलाई हार्दिक धन्यवाद छ ।’

राहत रकम बुझाउन गएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको प्रतिनिधि मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अब सृजना र योगदानको समय आएको बताए ।

‘कतिपयले माग राख्नु अघि नै आन्दोलन गर्न सुरु गर्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले लोकतन्त्र ल्याइसक्यौं । लोकतान्त्रिक प्रणाली बसालिसक्यौं । अब आफ्ना माग सुनुवाइ गर्न आन्दोलन गर्नु पर्दैन ।’ अब सृजनशिल काम र देशका लागि योगदान गर्ने समय आएको प्रधानमन्त्री ओलीको भनाई छ ।

ओलीले सरकार सुशासन र विकासका निम्ती प्रतिवद्ध रहेको उल्लेख गरे । सरकारको यस अभियानलाई साथ दिन कर्मचारीहरुलाई प्रधानमन्त्रीले आग्रह पनि गरेका छन् । ‘सरकारका हात खुट्टा भनेका कर्मचारी नै हुन्’ उनले भने, ‘त्यस कारण कर्मचारीहरु सेवामुखी भए भने जनतामा सरकारप्रतिको सकारात्मक सन्देश पनि जान्छ ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री