थापाथली अखडाका बाबाहरु समस्यामा

ललितपुर । जङ्गबहादुर राणाले काठमाडौँको थापाथलीमा करीब ३० रोपनी क्षेत्रफलमा निर्माण गरेको कालमोचन (थापाथली सत्तल) मा तीन अखडा छन् । जङ्गबहादुरको पालामा सबै सेवा सुविधा रहेको कालमोचनमा हाल समस्या नै समस्या छन् ।

कालमोचनमा सन्यासी, बैरागी र उदाशी गरी तीन अखडा छन् । ती अखडामा छुट्टाछुट्टै सम्प्रदायका बाबाहरु र छुट्टै संस्कार हुन्छ ।

सम्प्रदाय छुट्टै भए पनि तीनवटै अखडाको समस्या भने उस्तै छ । विभिन्न ठाउँबाट आएका साधुसन्तका लागि लक्षित गरी राणाले निर्माण गरेका सत्तल हाल अव्यवस्थित बनेका छन् ।

राणाले विभिन्न स्थानबाट आएका साधुसन्तका लागि आशय लिने ठाउँका रुपमा स्थापना गरेको स्थानमा हाल काठमाडौँमा विभिन्न व्यवसाय गर्ने तराई मूलका मान्छे बस्ने क्रममा वृद्धि भएको छ । व्यापारी र अखडाको जिम्मा पाएका महन्तको मिलेमतोमा भाडामा दिँदा साधु समस्यामा परेका हुन् ।

एक त पुराना सत्तल भूकम्पका कारण जीर्ण बनेका छन् भने बस्न मिल्ने कोठा भाडामा दिँदा साधुसन्त एकै कोठमा कोचिएर बस्नु परेको गुनासो गर्छन् ।

साउन महीनाका लागि भारतका विभिन्न अखडाबाट आएका बाबा (जोगी) बस्ने ठाउँ नपाउँदा सत्तलको छेउछाउमा पाल राखेर बसेका छन् । बस्नका लागि पाल बनाए पनि खानेपानी र शौचालय नहुँदा उनीहरु समस्यामा परेका छन् ।

‘सत्तलमा रहेका पानीका सबै धारा सुकेर पानी आएको छैन, शौचालयका लागि वाग्मती पुल पारी रहेको सार्वजनिक शैचालयमा जानुपर्छ भारतबाट आएका अजय बाबाले गुनासो राख्दै भने, ‘शौचालयमा समेत पालो गरी बस्दा समस्या भएको छ । हाम्रो देशमा सरकारले नै बाबाहरुको सबै व्यवस्थापन गर्छ । नेपाल आउँदा बस्ने ठाउँसमेत नपाउँदा दुःख लागेको छ ।’

सत्तल भाडामा लगाएको भनी साधुको गुनासोपछि केही समय अगाडि गुठी संस्थानले भाडामा बस्नेलाई हटाएको पनि थियो तर हटाएको केही समयपछि पुनः उनीहरु सत्तलमै बस्न आएको साधु बताउँछन् ।

जङ्गबहादुरको पालमा सबै सेवा सुविधा दिएर विभिन्न अखडामा भएका बाबाहरुलाई राख्ने प्रचलन थियो । राणाको समय सकिएपछि अखडालाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको सन्यासी अखडाका महन्त रमानन्द गिरी बताउँछन् ।

पुर्खा र गुरुले सुनाएअनुसार अखडामा नै सबै सेवा सुविधा दिएर राखिन्थ्यो रे अखडाबाट बिहान बेलुका धुवाँ आएको नदेखेमा राजासापले किन धुवाँ नआएको, केही समस्या भयो कि भनेर आफैँ अखडामा आउनु हुन्थ्यो रे तर अहिले हामीले यस्तो समस्या भयो भनेर गुठीमा कुरा गर्दा समेत सुनुवाइ हुँदैनन्। पहिला र अहिले हामीलाई सरकारी र गुठी संस्थानबाट हेर्ने नचरमा नै धेरै फरक भएको छ ।

‘अखडामा पानी छैन, शौचालय छैन, पुराना सत्तलबाट पानी चुहिन्छ । वरपर लगाइएको तार जाली सबै चुडियो । गुठी संस्थानमा निवेदन दिएको वर्षे भयो तर पनि सुनुवाइ भएको छैन, उनले भने, ‘लामो समयदेखि अखडामा बस्दै आएका साधुलाई गुठीबाट केही सुविधा छैन ।’

वर्षमा एकपटक शिवरात्रिको समयमा तीन दिनका लागि मात्रै भोजनको व्यवस्था हुन्छ । अन्य दिनका लागि हामी आफैँले व्यवस्थापन गर्नुपर्छ । गुठीबाट पाउने सुविधा पनि पुरानै प्रचलनमा छ । गुठीको पैसाले दैनिक पूजा गर्नसमेत गाह्रो हुने उनी बताउँछन् ।

गुठीबाट आएको रकमले दैनिक पूजा खर्चसमेत नधान्ने भएपछि भाडामा बस्न आउनेका लागि कोठा दिइएको हो । हाम्रो अखडामा बस्ने सबैसँग सल्लाह गरेर नै दिइएको हो, गुठीले दिएको रकमले नपुग्ने भएपछि भाडाबाट आएको रकमले अखडा चलाएको उनले बताए ।

गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वरका सूचना अधिकारी सरोज थपलिया गुठीले पुरानो चलनलाई हटाउन नसकेको दाबी गर्छन् ।

गुठीलाई आधुनिक रुपमा विस्तार गर्न नसक्दा, राज्यले गुठीलाई प्राथमिकतामा नराख्ना समस्या भएको छ ।

उनका अनुसार थापाथलीको अखडादेखि टेकुसम्मका सम्पदामा उच्चस्तरीय वाग्मती ढल सुधार आयोजनाको सहयोगमा बोरिङबाट पानी निकाल्ने सहमति भएको छ ।

सहमतिअनुसार अब छिट्टै बोरिङ खन्ने प्रक्रियाको शुरुआत हुनेसमेत उनले जानकारी दिए । कालमोचन क्षेत्रमा रहेका पुराना धारा, इनार हाल सुकेका छन् । केही समयसम्म पानी आउने ढुङ्गे धारा पुरिँदा अखडामा बसेका बाबाहरुले ट्याङ्करको पानी किनेर प्रयोग गर्ने गरेका छन् । रासस

टिप्पणी थप्नुहोस्