एकल कमेडी सो मार्फत विरामीलाई सहयोग जुटाउँदै ईशारा

रुपान्तरण संवाददाता

काठमाडौं । केही नेपाली कलाकारहरु आफ्नो लागि मात्र बाँच्दैनन् । अरुलाई बचाउन आफ्नो कला बेच्छन र आफूपनि बाँच्छन् । हाँस्यकलाकार गणेश इशारा यस्ता कलाकार हुन जो अरुलाई बचाउन दौडिरहेका छन् ।

उनको नाम खासै चल्तीको होइन । प्रस्तुतीका लागि उनलाई कुनै धपेडी पनि छैन । तर स्टेजमा पुगेपछि विभिन्न बहानामा दर्शक हसाँउने उनको विचित्रको क्षमता छ । त्यही क्षमता देखाएर उनी यतिबेला गरिब र असहायहरुका लागि एकल प्रस्तुती लिएर दौडिरहेका छन् । सहयोग जुटाइरहेका छन् ।

केही साता अघि मात्र धरान, उदयपुर र भोजपुरमा एकल प्रस्तुति दिएर समाजसेवी वीरमाया राई (सोभोमा) अक्षयकोष निर्माणका लागि खटिएका उनले केही दिन अघि काठमाडौंमा बेजोडको प्रस्तुति दिए । रोविनेश कम्पनीको प्रायोजन गरेको कार्यक्रममा उनको प्रस्तुति हेर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगे ।

सोही अवसरमा कोरियामा संकलित सोनाम पेल्मू तामाङले ७० हजार रुपैंयाँ ईशाराको अभियानलाई हस्तान्तरण गरे । उक्त रकम टिचिङ अस्पतालमा उपचार गरिरहेका लगन गोलेलाई प्रदान गर्ने उनको सोच छ ।

हास्यब्यंग्य प्रश्तुतिमार्फत सामाजिक कार्यमा सक्रिय इशाराले वीरमाया राई (सोभोमा) अक्षयकोषमार्फत अनाथ तथा असाहय बालबालिकाको शिक्षाका लागि एकल कमेडी सो सुरु गरेका हुन । काठमाडौंपछि पोखरा, बुटवललगायतका शहरमा पुग्ने उनले योजना सुनाए ।

समाजसेवामा रुची राख्ने इशाराले यसअघि खोटाङका मृगौला रोगी हस्तबहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ, भोजपुरका राजेन्द्र राईको मृगौला उपचारका लागि कमेडी सो मार्फत आर्थिक सहयोग जुटाइसकेका छन् ।

उनका ‘दुर्गती’, ‘साँढेतन्त्र’, ‘सदन हल र भट्टी पसल उस्तै’, ‘भद्रगोल डटकम’जस्ता गाइजात्रे एल्बम बजारमा छन् । २०५३ सालमा भोजपुरबाट राजधानी भित्रिएपछि हास्य कलाकाकारितामा लागेका उनले करिब डेढ दर्जन म्यूजिक भिडियो निर्देशन पनि गरेका छन् ।

टिप्पणी थप्नुहोस्