विकासका लागि आएको दुई अर्ब बढी रकम फ्रिज

-सिराज खान
नेपालगन्ज । एकातिर विकास बजेट नआएको भन्दै जनताले सो का लागि विरोध र आन्दोलन गरिरहेका हुन्छन् भने अर्कोतिर विकासका लागि भनेर सरकारले पठाएको अर्बौ बजेट खर्च हुन नसकेर फ्रिज भैरहेको अवस्था छ ।

बाँकेमा पनि यस पटक त्यस्तै भएको छ । जिल्लाको विकासका लागि भनेर प्रदेश र संघिय सरकारले पठाएको बजेट मध्ये दुई अर्ब भन्दा बढी रकम कामै नहुँदा फ्रिज भएको छ ।

आर्थिक बर्ष २०७५/०७६ मा प्रदेश र संघीय सरकारले बाँकेको विकास निर्माणका लागि छुट्याएको बजेट मध्ये २ अर्ब १८ करोड २५ लाख रुपैयाँ खर्च नभई फर्किएको कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जले जनाएको छ । खर्च गरिएको रकम मध्येको ठुलो हिस्सा पनि असार महिनामै हतार हतारमा खर्च गरिएको पाईएको छ ।

संघीय सरकारले आव २०७५/०७६ मा बाँकेको पूँजिगत (विकास) खर्चका लागि ८ अर्ब ९८ करोड ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ७ अर्ब ३१ करोड ६ लाख रुपैयाँ मात्रै खर्च भएको छ । जुन विकास बजेटको ८१.४० प्रतिशत हो ।

सोही प्रकारले प्रदेश सरकारले बाँकेका लागि छुट्याएको विकास बजेटको ६० प्रतिशत पनि खर्च हुन सकेको छैन । प्रदेश सरकारले बाँकेका लागि आव २०७५/०७६ मा पूँजिगत (विकास) खर्च तर्फ १ अर्ब ३२ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ७६ करोड ९१ लाख रुपैयाँ अर्थात ५८.२० प्रतिशत मात्र खर्च भएको छ ।

विकास खर्चको ठूलो हिस्सा असारमा नै खर्च भएको कोलेनिकाले जनाएको छ । संघीय बजेटको पूँजिगत तर्फको २ अर्ब ३२ करोड ७५ लाख रुपैयाँ असारमा नै खर्च भएको कोलेनिका नेपालगन्जले जनाएको छ । त्यस्तै प्रदेश तर्फको ४४ करोड १७ लाख रुपैयाँ असारमा खर्च भएको देखिन्छ ।

आर्थिक बर्ष २०७५/०७६ का लागि प्रदेश सरकारले १ अर्ब ९६ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा चालु र पूँजीगत गरी ६५.७४ प्रतिशत खर्च भएको हो । चालु तर्फ छुट्याएको ६५ करोड २३ लाख मध्ये ५२ करोड १८ लाख रुपैयाँ खर्च भएको तथ्यांक कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख राम चन्द्र शर्माले जानकारी दिएका छन् ।

गत आवमा प्रदेश अन्तर्गतका कार्यालयहरु ढिलो खुल्नु र पर्याप्त कर्मचारी नहुँदा खर्च कम भएको हो । कार्यालय र कर्मचारी दुवै समयमा व्यवस्थापन नहुँदा विकासे कार्यका लागि ठेक्का, टेण्डर नै समयमा हुन नसक्दा प्रदेश बजेट बाँकेमा कम खर्च भएको बताईएकोे छ ।

संघीय सरकारबाट बाँकेका लागि कुल १७ अर्ब ३६ करोड ६७ लाख बजेट छुट्याएको थियो । जसमा चालु र पूँजीगत गरी ८६.४५ प्रतिशत खर्च भएको छ । चालु तर्फ ८ अर्ब ३८ करोड ५९ लाख बजेट छुट्याइएकोमा ७ अर्ब ७० करोड २३ लाख रुपैयाँ खर्च भएको छ ।

अघिल्ला आवमा संचालित विकासका कामहरुको भुक्तानी यसबर्ष भएको, यसबर्ष समयमै विकासका कामहरु भएकाले संघीय सरकारको विकास खर्चले ८० प्रतिशत नाघेको हो ।

टिप्पणी थप्नुहोस्