उपभोक्ता ठगिनेक्रम रोकिएन, अनुगमन फितलो

-राधेश्याम विश्वकर्मा

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आर्थिक बर्ष २०७५/०७६ मा ७२ वटा बजार अनुगमन गरेको सार्वजनिक गरेको छ ।

कार्यालयले संख्यामा उल्लेख्य अनुगमन गरे पनि गुणात्मक रुपमा भने रुपन्देहीको अनुगमन ज्यादै फितलो रहेको पाइएको छ । फितलो अनुगमनका कारण उपभोक्ता मारमा पर्दै गएको गुनासोहरु आएका छन् ।

बजारमा तरकारीको मूल्य आकाशिएको छ, खाद्यान्न उत्पादन बारे जानकारी दिने कुनै प्रकारको स्तर नै छैन । उपभोक्ताहरु कोडको आधारमा कपडाको मूल्य तिर्नु परेको छ । सामाग्री खरिद गरि सोको बिल माग गरे त्यो पनि पाइन्न् ।

अझ भारतबाट चोरी निकासी गरि नेपाली ब्राण्डिङ्ग गरि विक्री बितरण गर्नेको संख्या उस्तै वृद्धि हुदै गइरहेको छ । भैरहवाको गल्लामण्डी, बैंकरोड, हाटबजार, मिष्ठान भण्डार लगायतका क्षेत्रमा उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने मात्र हैन उनीहरुलाई चरम रुपमा ठगिंदा समेत प्रशासन निरीह बन्ने गरेको स्थानीयस्तरमा जनगुनासो छ ।

जिल्ला प्रशासन कार्यालय भने कर्मकाण्डी रुपमा संख्यात्मक अनुगमनमै रमाइरहेको आरोप खेपिरहेको छ । जनगुनासो आइरहेका बेला प्रशासन कार्यालयले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि आफुले गरेको प्रगति सार्वजनिक गरेको छ ।

जसमा बजार अनुगमन मात्र बर्षभरिमा ७२ पटक गरेको उल्लेख छ । बजार अनुगमन गरे पनि कार्यान्वयन सोचे जस्तो नभएको कार्यालयकै स्वीकारोक्ति छ । सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले फितलो कानुनका कारण कठिनाई भएको बताए ।

उनले न्यून जनशक्तिको कारण प्रर्याप्त कारवाही गर्न नसकेको स्वीकारे । ‘दोषीलाई पनि न्यून सजायको प्रावधान छ, जसको कारण उनीहरु उम्किने गरेका छन्,’ शर्माले भने ।

तर अब भने बजार अनुगमनकै लागी छुट्टै टिम बनाएर परिमाणमूखी काम गर्ने उनले बताए । यसले देखिने गरि र परिवर्तन आउने काम गर्ने सहायक प्रमुख जिल्ला अधिकारीको दावी छ ।

बार्षिक प्रगति सार्वजनिक गर्ने सिलसिलामा कार्यालयले गत आर्थिक बर्षमा २६ हजार १ सय ८१ नागरिकता बनाएको जानकारी दिएको छ । यस्तै कार्यालय मार्फत १८ जनाले नागरिकता त्याग गरेका छन भने ६ जनाको नागरिकता रद्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले बताए ।

रुपन्देही जिल्लाबाट सिफारिस लिएर ७ हजार २९ जनाले राहदानी बनाएका छन । यस्तै द्रुत सेवाबाट १ हजार १ सय ३३ जनाको राहदानी सिफारिस गरिएको छ । ६ हजार ९ सय ९९ जनाले राहदानी प्राप्त गरेको कार्यालयको तथ्याकंबाट देखिएको छ ।

गत आर्थिक बर्ष ३ सय ९४ वटा मुद्दा दर्ता भएकोमा ३ सय १२ वटा फछर्यौट गरि सकिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । जिल्लामा १ सय ९८ जनाको हातहतियार नवीकरण गरिएको र ३ जनाको हतियार नामसारी गरिएको उनले बताए । कार्यालयमा हेल्लो सरकार मार्फत ४३ वटा गुनासो प्राप्त भएकोमा ४३ वटा नै फछर्यौट गरिएको छ ।

गत आर्थिक बर्षमा कार्यालयले आईएसओ ९००१ः२०१५ प्रमाणित भएको थियो । उत्कृष्ट कार्य गरे बापत यो प्रमाण दिने गरिएको छ । यस्तै कार्यालयलाई ब्यवस्थापन गर्न कार्यालयले स्वचालित टोकन प्रणाली लागु गरेको भने सेवाग्राहीको सुविधालाई हेर्दै निःशुल्क चिया, पानी, वाईफाई, टेलिभिजन, प्राथमिक उपचार, स्तनपानको ब्यवस्था लगायतको ब्यवस्था गरेको छ ।

टिप्पणी थप्नुहोस्