निर्मलालाई न्याय छैन

बलात्कार र हत्याको एकबर्ष

  • सागर शर्मा

कञ्चनपुरकी किशोरी निर्मलाको बलात्कार र हत्या भएको एकवर्ष पुग्न तीन दिन अगाडि गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर जे जस्तो धारणा ब्यक्तगरे त्यसले धेरैलाई विच्क्याउने काम गरयो ।

प्रारम्भदेखि नै निर्मला घटनाको अनुसन्धानमा राज्यको सुरक्षा संयन्त्रका जिम्मेवार अधिकारीहरु शंकाको घेरामा रहेको अवस्था छ । केही त कारवाहीमा नै परिसके । केही अदालतमा मुद्दा खेपीरहेका छन् । अनुसन्धान भने, निर्मला मारिएको २०७५ साउन १० मा जहाँबाट शुरु भएको थियो अहिले पनि त्यहीँ छ ।

पत्रकारले निर्मला घटनाको अनुसन्धानबारे सोधेको प्रश्नमा साउन ७ गते गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई साक्षी राखेर उनले भने ‘यस किसिमको अपराध नौलो हैन र पहिलो पनि हैन । यस किसिमका घटना यो भन्दा अगाडि पनि थिए, भोलि पनि भै रहन्छन ।’

अपराधमाथि पूर्ण निणन्त्रण सम्भव छैन । एक ब्यक्तिका लागि एक प्रहरी खटाउन पनि सम्भव छैन । राज्यले नचाहँदा पनि अपराध हुन्छन् । अपराध घट्नु राज्यको असफलताको मापनको आधार हैन । राज्यको गम्भीरताको मापनको आधार हो – अपराध भइसकेपछिको अनुसन्धान ।
यौन पिपासुको नजरमा परेर एक निर्दोष किशोरीको ज्यान गयो । ज्यादै दुःखद घटना हो । यो घटनामा राज्य पूर्ण जिम्मेवार पनि हैन । अहिलेसम्म सार्वजनिक भएका तथ्यले राज्यको संरक्षणमा यो क्रुर अपराध भएको देखाउँदैन पनि । सरकारको आलोचना निर्मलाको बलात्कार र हत्या रोक्न सकेन भनेर भएको पनि हैन ।

राज्य आलोचित बनेको हो उसको बेसुरको अनुसन्धान पद्धति देखेर । उसको प्रतिवद्धतामा, नागरिकको न्याय पाउने अधिकार बहाली नभएको र क्रुर अपराध गर्ने अपराधी कानुन अनुसारको सजायबाट मुक्त भएकोमा समाजले राज्यको चर्को आलोचना गरेको हो । एक वर्षसम्म पनि निर्मला घटनाको दोषीको पहिचान हुन नसक्नुको मुख्य कारण राज्यको अनुसन्धान पद्धति, अनुसन्धानको जिम्मेवारी पाएका अनुसन्धान अधिकारीको हेलेचेक्राई र उनीहरुमा भएको गम्भीरताको कमी नै हो ।

निर्मलाको बलात्कार र हत्यामा जो संलग्न थिए तिनको पहिचान हुन नसक्नुको मुख्य कारण छोरी हराउनासाथ सुरक्षा संयन्त्रका अधिकारीसँग गुहार माग्न पुगेकी आमाको निवेदनमाथि सुनुवाइ नहुनु, घटनास्थलको पूर्ण सुरक्षा गरी प्रमाण संकलन नगरिनु, प्रमाणमाथिको छेडखानी, न्याय माग्न सडकमा बिना हतियार उत्रिएका नागरिकको ज्यानै जानेगरी भएको दमन, संकलित प्रमाणको सुरक्षामा अपनाइएको लापरवाही – यो घटना रहस्यमै रहनुको प्रमुख कारक हुन् ।

दवाव कमगर्न हचुवाको भरमा पक्राउ गर्ने, पक्राउ परेकालाई यातना दिने, जवर्जस्ती अपराध कबुल गर्न लगाएर निर्दोषलाई जेल र संलग्नलाई उन्मुक्तिदिने राज्य संयन्त्र नै एक वर्षसम्म निर्मला घटनाको रहस्य खुल्न नसक्नुको मुख्य जिम्मेवार हो ।

निर्मला जस्तो घटना भोलि पनि हुनसक्छ । गृहमन्त्रीले चाहेरमात्रै यस्ता घटनाको नियन्त्रण हुनसक्दैन । यो सत्य हो । मुख्य चासोको विषय हो, के सम्भावित घटनामा पनि निर्मला घटनाको जस्तै फितलो अनुसन्धान हुनेछ ?

नेपालमा कानूनतः अपराध अनुसन्धानको जिम्मेवार निकाय नेपाल प्रहरी हो जो रामबहादुर थापा बादल मन्त्री रहेको गृह मन्त्रालय मातहत छ । त्यसैले नेपाल प्रहरीले निर्मला घटनामा जे जस्ता गम्भिर त्रुटीहरु गरयो गृहमन्त्री थापाले नचाहेर पनि त्यसको जिम्मेवारी उनकै काँधमा पुग्छ । जिम्मेवार निकायका अधिकारीले निर्मला घटनाको अनुसन्धानमा जे जस्ता त्रुटीहरु गरे त्यो भोलि दोहोरिन्छ कि दोहोरिन्न ? जसरी प्रमाण नष्ट गर्ने काम भयो र प्राप्त प्रमाणको संरक्षण हुन सकेन के भोलि हुने पनि यस्तै हो ?

निर्मलाको पुण्य तिथि नजिकै रहेको बेलामा गृहमन्त्रीले जे जस्ता शब्दको प्रयोग गरेर यो गम्भिर घटनाको सामान्यीकरणको प्रयास गरे यसले निर्मला जस्तो घटना दोहारिने संकेत मात्र गरेन, अनुसन्धान पनि निर्मलाको घटनामा झै नै हुने देखायो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री