भोेक मेटाउने अभियानः २५ रुपैंयाँमै भरपेट खाना

-राधेश्याम विश्वकर्मा

भैरहवा । भैरहवा हिजोआज समाजमा ब्यक्तिलाई आफ्नै बारेमा सोच्दैमा फुर्सद छैन । मै मात्र कसरी कमाउ ?, कसरी खाउ ?, भन्ने सोचमा ब्यक्तिको जीवन व्यथित भई रहेको छ । गरिब, विपन्नको अवस्था बारे सोच्न कसैलाई फुर्सद नभएको समयमा भैरहवाका एक युवा सबैको भोक मेटाउने अभियानमा लागेका छन् ।

एक छाक शाकाहारी खानाको मूल्य कति पर्छ ? सामान्य होटलमा न्यूनतम एक सय रुपैयाँ देखि तारे होटलमा अधिकतम एक हजार रुपैयाँसम्म । यदी कसैले २५ रुपैयाँमै  शाकाहारी खाना दिन्छु भन्यो भने धेरैलाई पत्याउन मुस्किल पर्छ ।

तर भैरहवाका यी युवाले यस्तै अपत्यारिलो कामको सुरुवात गरेका छन् । पेशाले कन्स्ट्रक्सन इञ्जिनियर रहेका रवि कुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको सम्झनामा श्रमिक र निम्न आय भएका वर्गलाई लक्षित गरी बिहानको एक छाक शाकाहारी खाना २५ रुपैंयाँमै खुवाई रहेका छन् ।

मायादेवी च्यारिटेबल फाउण्डेशन अन्तर्गत अन्नपूर्ण भोजनालय मार्फत २५ रुपैंयाँको शाकाहारी खानामा दाल, भात, तरकारी वा रोटी, तरकारी वा कहिले खीर, तरकारी त कहिले परौठा आदि परिकार पालैपालो खुवाउने फाउण्डेशनले जनाएको छ । खासगरी अस्पताल, सरकारी स्कूल र धेरै मजदुरहरुले काम गर्ने स्थानहरुमा फाउण्डेशनले मिनी ट्रक मार्फत घुम्ती सेवा सुरु गरेर खाना खुवाउने गरिएको छ ।

युनिभर्सल मेडिकल कलेज, भीम अस्पताल, लुम्बिनी रण अम्बिका आँखा अस्पताल, धेरै विद्यार्थी पढ्ने सामुदायिक स्कूलहरुमा यस्तो सेवा दिनेछ । ‘अस्पताल ,मजदुर, रिक्सा चालकहरु हुने ठाउँमा बिहान र सरकारी स्कूलहरुमा दिउँसो खाजा खाने समयमा सेवा दिने यसले न्यून आय भएका र विद्यार्थीलाई राहत पाइनेछ फाउण्डेशनका अध्यक्ष समेत रहेका रौनियारले भने ।

सुरुमा एउटा ट्रकबाट घुम्ती सेवा दिने र भदौदेखि सिद्धार्थनगरका तीनवटा वडाका निश्चित स्थानमा टेण्ट टाँगेर खाना खुवाउने उनको योजना छ । आवश्यकता र माग अनुसार भविष्यमा पाँचवटा मिनी ट्रक मार्फत घुम्ती सेवालाई निरन्तरता दिने र सिद्धार्थनगरका सबै वडा हुँदै रुपन्देही जिल्लाभर सेवा विस्तार गर्ने लक्ष्य रहेको रौनियार बताउँछन् ।

बजार मूल्य भन्दा निकै सस्तो दरमा खाना खुवाउन कसरी सम्भव भयो त भन्ने प्रश्नमा रविले आफ्नी स्वर्गीय आमा मायादेवीको प्रेरणा र पर्यटन मन्त्री रविन्द्र अधिकारीको अल्पायूमै निधन भएपछि ‘मरेर लानु के नै रहेछ र’ भन्ने लागेर यो कामको थालनी गरेको खुलाए ।

वि.स. २०६७ सालमा आमा निधन हुँदा उनको नामको २५ लाख रुपैंयाँ बैंकमा जम्मा गरेका रविले हरेक वर्ष आफ्नो कमाइको पाँच लाख थप्दै गएपछि अहिले करिब ६० लाख रकम पुगेको बताए ।

उक्त रकम मायादेवी च्यारिटेबल फाउण्डेशनको नाममा राखेर त्यसैबाट २५ रुपैंयाँमा खाना खुवाउने योजना बनेको उनले बताए । ‘एक छाक गुणस्तरीय शाकाहारी खानाको लागत कम्तीमा करिब ५० रुपैंयाँ पर्दो रहेछ’– रौनियारले भने–‘खाना खानेहरुबाट २५ रुपैंयाँ लिन्छौं, बाँकी २५ रुपैंयाँ फाउण्डेशनबाट खर्च गर्छौं ।’ यसरी सस्तोमा खाना खुवाउने कामको सुरुवात गर्न भारतको दिल्ली र गुजरातमा पुगेर अध्ययन गर्नुका साथै दुई वर्षको तयारी गरेको रौनियारले बताए ।

२५ रुपैंयाँ मूल्यको खाना रिक्सा मजदुर वा अस्पतालमा आएका गरीब परिवारका सदस्यले मात्र होइन जुनसुकै वर्गकाले पनि खान पाउने छन् । ‘कार चढेर आउने व्यक्तिले पनि हाम्रो सेवा लिन सक्छन, र उनीहरुले यो अभियानमा स्वेच्छिक जिन्सी सहयोग गर्न सक्छन’ रौनियारले खुलाए ।

फाउण्डेशनले २५ रुपैंयाँमा उपलब्ध गराउने खानाको १३ औं श्रृंखलामा शुक्रबार पूर्व स्वास्थ्य मन्त्री दिपक बोहराले सहभागिता जनाएका छन् । उनले फाउण्डेशनले उपलब्ध गराएको खाना घरकै खाना जस्तो शुद्ध र मिठो भएको प्रतिक्रिया दिए ।

सरकारले गर्नुपर्ने काम आमाको सम्झनामा भैरहवाका युवाले गरेकोमा उनले धन्यवाद दिए । ‘सन्तान त धेरै थरि हुन्छन तर आमाको लागि रविको माया उसको कामबाट देखिएको छ,’ बोहराले भने ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री