‘यो मात चढेको साँझ’मा तनुजा

-संवाददाता

काठमाडौं । भाद्र ६ गते देखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जाइरा’को आइटम गीत रिलिज भएको छ ।

शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ ।

यो गीत पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो । उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो ।

गीतमा बरिष्ठ गीतकार किरण खरेलले शब्द छ भने शिव शंकरको संगीत छ । ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि‍एरेञ्ज गरेका छन् ।

शाही नेपाल चलचित्र संस्थानद्वारा निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलिज भएको थियो ।

‘यो मात चढेको साँझ’मा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन् । कोरियोग्राफर गोबिन्द राई हुन् । तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्यको लागि छनोट गरिएको थियो ।

‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् । पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस चलचित्रमा भने आफुलाई एक्सन प्रधान देखाएकी छन् । यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा नम्रताको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो ।

प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री