प्रदेश सरकारलाई सक्दो प्रयोग गर्नुः मन्त्री पौडेल

-संवाददाता

भैरहवा । प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले कृषिमा लगानीका लागि उपयुक्त क्षेत्रको खोजी गरिरहेको बताएकी छन् ।

उनले ब्यवयायिक कृषिको लागि प्रदेश सरकारलाई सकेसम्म प्रयोग गर्न अनुरोध समेत गरेकी छिन् ।

मन्त्री पौडेलले यो वर्ष देखि प्रदेश ५ मा पुष्पखेतीको सुरुवात गरिएको जानकारी दिइन् । उनले कमसेकम प्रदेश ५ मा अन्य स्थानबाट फूल ल्याउन नपरोस् र यहाँ उत्पादित फूल अन्य स्थानमा निर्यात गर्न सकियोस भन्ने उद्देश्यले पुष्प व्यवसायिलाई तालिम प्रदान गरिएको बताइन् ।

१५ महिनाको अवधिमा ३१ वटा सहकारीले गाउँमा उत्पादित वस्तुलाई शहरमा ल्याइ बजारीकरणमा जोड दिएका छन, उपभोक्ता र किसानबीच सम्बन्ध स्थापित गर्ने र किसानलाई बिचौलियाको चंगुलबाट बचाउन सहकारीको भुमिका महत्वपूर्ण हुने उनले बताईन ।

श्री नेपाल बहुमुखी सहकारी संस्था लिमिटेडले भैरहवाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ स्थित गोनहियामा व्यवसायिक कृषि परियोजना शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्रीले सबै सहकारीहरुलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरिन ।

उनले राम्रा काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । राम्रालाई प्रोत्साहन र पुरस्कार तथा नराम्रोलाई दण्ड सजायको व्यवस्था हुनुपर्छ, उनले भनिन् ।

१ करोड ७१ लाख पूँजी रहेको संस्थाले ५८ लाखको लागतमा गोनहियामा व्यवसायिक कृषि परियोजना शुभारम्भ गरेको हो । शेयरसदस्यबाट संकलन गरिएको रकममार्फत व्यवसायिक कृषि परियोजना शुभारम्भ भएको हो ।

५ विगाह जग्गामा कागती ३ हजार, मेवा २ हजार, केरा २ हजार र फलफूलका विरुवाहरु ५ हजार रोप्ने योजना रहेको सहकारीका पूर्व अध्यक्ष तथा व्यवसायिक कृषि परियोजनाका संयोजक बाबुराम भट्टराईले बताए ।

सहकारीका शेयर सदस्यहरुलाई उत्पादनसंग जोड्न परियोजनाको शुभारम्भ गरिएको भट्टराईले जानकारी दिए । सहकारीले आउँदो तिहारमा सयपत्री फूलहरु उत्पादन गरेर बेच्ने लक्ष्य रहेको उनले बताए ।

टिप्पणी थप्नुहोस्