एक साताभित्र पार्टी र सरकारले गति लिने नेता भट्टराईको दावी

-सिराज खान
नेपालगन्ज । नेकपाका युवा नेता योगेश भट्टराईले पार्टीको एकता प्रक्रियामा विभागहरु वितरणको विषयलाई चियाको कपमा तुफान बनाईएको बताएका छन् ।

उनले भने–विभाग वितरणका कुरालाई विपक्षी र एकता विरोधीहरुद्धारा अनावश्यक रुपमा उछाल्ने प्रयास गरिएको छ, सो विषयमा स्कूल विभागलाई विना कारण विवादको विषय बनाईएको छ । त्यहाँ कुनै पनि विवाद छैन ।

प्रेस संगठन बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्टराईले पार्टीका सबै विभाग महत्वपूर्ण रहेको जनाउँदै केही विभागलाई लिएर विवाद रहेको देखाउने षडयन्त्र भएको बताए ।

अहिले पार्टीको स्कूल विभाग बढी चर्चामा आएकोले सो विभागका लागि चर्चामा आएका नेताहरु घनश्याम भुषाल र रामकार्की मध्ये जो सुकैलाई राख्दा पनि फरक नपर्ने नेता भट्टराइले जनाए ।

ती दुबैलाई नदिने हो भने सो विभागमा पार्टीका पूर्व अध्यक्ष झलनाथ खनाललाई राख्दा पनि केही फरक नपर्ने उनको तर्क थियो ।

पार्टीको एकता टुंग्याउन निकै ढिलाई भएको जनाउँदै उनले सो बाट देश, पार्टी र सरकारलाई नोक्सानी भएको बताए । एकता सम्पन्न गर्नका लागि १४ महिनाको समय लागेकोमा उनले त्यसको आलोचना समेत गरे ।

अबको एक साताभित्र नेकपाको सबै एकता प्रक्रिया सम्पन्न हुने जानकारी गराउँदै त्यसपछि पार्टी र सरकारले गति लिने उनले बताए ।

‘यो एकताको काम एक बर्ष पहिले नै पुरा भै सक्नु पर्ने थियो, तर यसमा धेरै समय लाग्यो, धेरै समय लाग्दा शंका आशंकाहरु उत्पन्न हुनुका साथै ठुलो क्षति पनि भयो’–उनले भने ।

मन्त्री बन्ने दौडमा सबैभन्दा अगाडी उनको नाम रहेको बारेमा सोधिएको एक प्रश्नको जवाफमा उनले भने– सरकार चलाउने र त्यसका लागि उपयुक्त टिम बनाउने जिम्मेवारी प्रधानमन्त्रीको हो, यस बारेमा प्रधानमन्त्रीले नै निर्णय लिनु हुनेछ, अहिलेसम्म मलाई सांसद भन्नुस मन्त्री बनाइयो भने मन्त्री भन्नुहोला ।

एक अर्को प्रश्नको जवाफ दिंदै उनले वर्तमान सरकारले समृद्धि र विकासका लागि तिव्र गतिमा काम गरिरहेको बताए ।

सरकारको कामलाई हेरेर नै नेकपालाई जनताले अर्को निर्वाचनमा अहिलेको भन्दा ठुलो दल बनाउने दावी उनले गरे ।

पार्टीले निर्वाचनको बेला गरेका प्रतिवद्धताहरु पुरा गर्नेतर्फ सरकार अग्रसर रहेकोले जनताको समर्थन नेकपालाई नै रहने उनले बताए ।

मेडिकल कलेजहरुको अवस्था बारे अनुगमन गर्ने समितिमा रहेका उनी नेपालगन्ज मेडिकल कलेजको अनुगमन र निरिक्षणमा यहाँ आएका थिए । देशभरीका २२ वटा मेडिकल कलेजको अनुगमन गरिएको उनले बताए ।

टिप्पणी थप्नुहोस्