नेपालमा समकक्षता लिने विद्यार्थीको संख्या १० हजार बढी

-कृष्ण आचार्य

काठमाडौं । नेपालका विकट र भारतसँग सिमाना जोडिएका कतिपय स्थानका विद्यालयहरुमा शैक्षिक सत्रको अन्त्यसम्ममा पनि पाठ्यपुस्तक पुग्दैनन् ।

फलस्वरुप बिद्यार्थीहरुले पाठ्यपुस्तक देख्न पनि नपाइ परीक्षा लेख्नुपर्ने बाध्यता छ । सरकारले बर्षेनी पाठ्यपुस्तक समयमै पुर्‍याउने र दुरदराजसम्म शिक्षाको पहुँच विस्तार गर्ने कुरा भाषण र नीति तथा कार्यक्रममा जोडतोडले उठाए पनि कार्यान्वयन भने भएको पाइदैन ।

भारतसँग सिमाना जोडिएका गाउँहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने पीडा त हँदैछ तर नजिकै विद्यालय नहुँदा भारतीय विद्यालयमा गएर शिक्षा हाँसिल गर्नुपर्ने अर्को ठूलो समस्या देखिदै आएको छ ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरको आंकडा अनुसार कक्षा १० र १२ का झन्डै १० हजार विद्यार्थी बार्षिक रुपमा आफुले भारतीय बिद्यालयमा पढेको शैक्षिक प्रमाणपत्र नेपालमा मान्य बनाउन आउने गरेका छन् ।

पाठ्यक्रम विकास केन्द्रको इक्युभ्यालेन्ट अर्थात समकक्षता बिभागका प्रमुख रामचन्द्र खनियाँ सिमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका निम्ती पायक पर्ने स्थानमा विद्यालय नभएकाले भारतीय विद्यालय पढ्नुपरेको स्वीकार्छन् ।

यस्तै कतिपय परिवारनै रोजगारीका लागि उता गएकाले भारतकै विद्यालयमा अध्ययन गराई नेपाल सरकारसमक्ष मान्यता दिलाउन आउने गरेको उनी बताउँछन् ।  विशेष गरी तराइ–मधेसका सिमाक्षेत्रका सरकारी विद्यालयहरु अन्य क्षेत्रका बिद्यालय भन्दा तुलनात्मक रुपमा कमजोर देखिएकाले पनि भारतकै विद्यालयहरु नेपालीको रोजाइमा पर्ने गरेको छ ।

प्रमुख खनियाँ भन्छन्, ‘यो समस्या सामाधान गर्न सबै पक्षबाट हातेमालो गरेर सरकारी बिद्यालयहरुको स्तर उन्नती गर्नमा जोडदिनु अपरिहार्य भएको छ ।’

समकक्षताका लागि अन्य देशबाट पनि आउने गर्दछन तर विशेषगरी भारतीय बिद्यालयहरुबाट आउनेको संख्या बढी हुने गरेको उनले बताए । यतिबेला समकक्षता लिने विद्यार्थीको संख्या कम हुँदै गए पनि पहिल्यै अध्ययन पुरा गरेका विद्यार्थीहरु आउने गरेका छन् ।

समकक्षता अनिवार्य

समकक्षता गर्नुपर्ने नियम पहिले देखिनै थियो तर राम्रोसंग कार्यन्वयन भने भएको थिएन, तर अहिले आएर सरकारले अनिवार्य रुपमा शैक्षिक प्रमाण–पत्र इक्यूभ्यालेन्ट(समकक्षता) गर्नुपर्ने नियम जारी गरेको छ ।

कुनैपनि निकाय तथा ओहोदामा पेस गरिने प्रमाणपत्र समकक्षता नभए मान्य हुँदैन । पहिले पहिले सरकारी ओहोदामा रहेर काम गरेका कर्मचारीहरुको प्रमाणपत्र नेपाल भन्दा बाहिरको हुने गरेकाले पेन्सन साथै दरबन्दीको नियम मिलाउन आउने गरेका गरेका छन् । नयाँ विद्यार्थीहरु थप अध्ययन पुरा गर्न समकक्ष्यता लिन आउने गरेको कार्यालय स्रोतले जनाएको छ ।

समकक्ष्यता लिन पनि सम्बन्धित बिद्यालय तथा विश्वविद्यालयले प्रदान गरेको प्रमाण-पत्र अनुसार, विद्यार्थीले अध्यन गर्दाको समयमा कायम भएको उत्र्तिणाङ्ग अनुसार गर्ने गरिन्छ र उनीहरुको कागजपत्र सही भए नभएको सम्बन्धित विद्यार्थीको दर्ता नम्बरबाट हेर्ने गरिएको छ ।

कतिपय अवस्थामा बिशेस परिस्थिति आउने भएको कारणले त्यसको समाधानको लागि विशेष समितिमार्फत छलफल गरी समकक्ष्यता दिने गरेको पाइन्छ ।

प्रमुख खनियाँका अनुसार समकक्षता लिन आउने विद्यार्थीहरु नीतिप्रति अझै पनि अस्पस्ट रहेकाले सचेतना फैलाउनु आवश्यक छ । कुनै पनि विद्यार्थी काम भएन भनेर फर्किन नपरोस भनेर आफूहरुले आवश्यक कागजातहरुको रित पुरा गरी आउन सुझाव दिने गरेको उनको भनाइ छ ।

टिप्पणी थप्नुहोस्