भैरहवामा शल्यक्रिया नै नगरी मस्तिष्कघातको उपचार

-राधेश्याम विश्वकर्मा

भैरहवा । विश्व स्वास्थ्य संगठन भन्छ-‘प्रतिवर्ष विश्वमा हुने १ करोड ५० लाख मस्तिष्कघात मध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किन्छन् ।’ त्यसमा ७५ लाख अपाङ्ग हुने गर्छन् भने ५० लाखको ज्यान जान्छ ।

मस्तिष्कमा रक्तनली खुम्चिएर वा र फुटेर मस्तिष्कको भाग निस्क्रिय भई प्यारालाईसिस हुने रोगलाई मस्तिष्कघात भनिन्छ । यसलाई बृद्धावस्थाको रोग पनि भनिन्छ ।

तर अब समयमै अस्पताल लैजान सके रुपन्देहीमै शल्यक्रिया नै नगरी मस्तिष्कघात (स्ट्रोक)को उपचार सम्भव भएको छ । भैरहवामा रहेको न्यूरो एण्ड एलाईड क्लिनिकका सञ्चालक समेत रहेको विख्यात स्नायु बिशेषज्ञ डा. लेखजंग थापाले यसको उपचार औषधी बिधिबाट सम्भव रहेको बताए ।

उनले अहिलेसम्म नेपालमा काठमाडौंमा १ पोखरामा १ र भैरहवामा १ गरी ३ जनाको सफल उपचार गरिएको दावी गरे । न्यूरोलोजिस्ट डा. लेखजंग थापाले थम्बोलाईसिस बिधिबाट यसको उपचार शल्यक्रिया नै नगरि सम्भव हुने बताए ।

अर्को बिधि रगत रोकिएको भागमा तार हालेर जमेको रगत सफा गर्ने भए पनि त्यो बिधि जोखिमयुक्त भएको कारण थम्बोलाईसिस बिधि अहिले उपयुक्त भएको उनले बताए ।

मस्तिष्कघातको लक्षण सन्तुलन बिग्रनु, अनुहार बाङ्गो हुनु, ज्योती मधुरो हुनु, बोली लर्बराउनु, हात कमजोर भए समयमै अस्पताल पुर्‍याउन उनले आग्रह गरे । समयमै अस्पताल पुर्‍याए यसको थम्बोलाईसिस बिधिबाट उपचार गरि बिरामीको ज्यान जोगाउन सक्ने उनले बताए ।

थम्बोलाईसिस बिधिमा सुईको माध्मबाट औषधी नशाद्धारा बन्द भएको नशालाई खौलने काम गर्ने थापाको भनाई छ । यस बिधिबाट मस्तिष्कमा सुकेको भागमा रक्त सञ्चार गराउने गर्दछ । यो उपचार बिधिमा जोखिम न्यून रहे पनि औषधीको भने ६० देखी ८० हजार रुपैंयाँसम्म पर्न जाने उनले बताए ।

यस कारण मस्तिष्कघातको बिरामीलाई जुनसुकै अस्पतालमा पुर्‍याए पनि अस्पतालमा थम्बोलाइसिस बिधिबाट उपचार गर्ने पद्धती रहे नरहेको एक पटक सोधेर मात्र उपचार गराउन उनले बिरामीका आफन्तलाई अनुरोध गरेका छन् ।

डा. लेखजंग थापा आफ्नो पिताको मस्तिष्कघातका कारण यस क्षेत्रमा लाग्न प्रेरणा मिलेको बताउँछन् । उनका पिता उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए । नियमित रुपमा डाक्टर भेट्ने गर्थे ।

तर, डाक्टरबाट राम्रो सेवा नपाएकै कारण उनी छोरालाई भन्थे, ‘बाबु डाक्टर बन्नुपर्छ । डाक्टर भएपछि पनि नर्बिसनु कि राम्रो बोल्नुपर्छ, बोलिले नै बिरामी आधा सञ्चो हुन्छ ।’ यो कुरा डा. लेखजंगको मानसपटलमा गडेको थियो ।

डाक्टर बन्न मणिपालमा भर्ना भएको सुरुवातमै उनका बुबालाई पक्षघात भयो, जुन आफैंमा ‘न्युरोलोजिकल डिस्अर्डर’ थियो । भर्खरै पढाइ सुरु गरेका लेखजंगलाई स्ट्रोक के हो, त्यसले कस्तो रुप लिन्छ थाहा थिएन । डाक्टरले सबै सञ्चो बनाउँछन् भन्ने सोच्थे उनी ।

तर, जब ‘डबल स्ट्रोक’ भयो, उनले बुवालाई बचाउन सकेनन् । मणिपालमा अध्ययनरत उनी भैरहवा गए । र, त्यहीबेला लेखगंजले प्रतिज्ञा गरेका थिए, ‘अब म न्युरोलोजिस्ट बन्छु ।’

नभन्दै उनि नेपालकै टप न्यूरोलोजिष्ट भए । अहिले तिनै लेखजंग थापा भैरहवावासीको सेवाको लागी भैरहवा फर्किएका छन् । ‘मलाई भैरहवा भन्ने बित्तिकै अलग किसिमको अपनत्व महशुस हुन्छ ।’ थापाले भने, ‘न्यूरो अस्पतालमा काम गर्दा पनि भैरहवा भन्ने बित्तिकै आफ्नै ठाउँमा आएको आफ्नै मान्छेसंग भेटेको अनुभुति हुने गरेको छ ।’

चिकित्सकिय अभावमै पितालाई गुमाउनु परेको कारण अब यसैको अभावमा पनि ज्यान नजाओस भन्ने उद्देश्यले थम्बोलाईसिस उपचार बिधिबारे जनचेतनामूलक कार्यमा लागेको उनले बताए ।

अहिले पनि पहाडमा भन्दा तराईमा मस्तिष्कघातको बढी बिरामी रहेका छन् । पहाडको तुलनामा यहा बढी बिरामी रहेकै कारण यस क्षेत्रमा यस बारे बढी सचेतना आवश्यक रहेको उनले बताए ।

टिप्पणी थप्नुहोस्