एमाले र माओवादीबीच फिक्का हुँदै गएको सहवासको माधुर्य

-नरेन्द्र विमल

स्कूल विभागको प्रमुखको हुने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको रडाकाले पूर्व एमाले र पूर्व माओवादीबीच सहवासको माधुर्य फिका हुँदै गरेको संकेत गरेको छ । करिव दुई वर्षअघि संघ र प्रदेशको चुनावको ठिक अघि एमाले र माओवादी एकीकरण शुरुवातको औपचारिक घोषणा भएको थियो । पहिले संघ र प्रदेश चुनावमा गठबन्धनले करिब दुई तिहाइ बहुमत ल्याएर सरकार गठन गरेपछि गत जेठमा पार्टी एकता भएको थियो । त्यसपछि नवगठित दलले तीन महिनामा संगठित एकता सम्पन गरी पार्टी एकताको सन्देश तल्लो तहसम्म दिने गरी गत भदौमा राष्ट्रव्यापी अभियान चलाउने बताएका थिए । नेताहरुले पटक पटक भाका सार्दै अहिले साउनभित्रै एकता सम्पन्न गर्ने र ठ्याक्कै एक वर्षपछि आगामी भदौबाट देशव्यापी अभियान चलाउने बताएका छन् । तर अहिले पनि शीर्ष नेतृत्वले केन्द्रीय सदस्यहरुको कार्यविभाजनलाई अन्तिम रुप दिन सकेको छैन । त्यसका लागि स्कुल विभागको प्रमुखमा पूर्व माओवादी नारायणकाजी श्रेष्ठ र पूर्व एमाले ईश्वर पोखरेलको दावीलाई जिम्मेवार ठहर्या इएको छ । तर एउटा निम्छरो विभागमा गएर अड्किएको विवादले अन्य विषयहरुलाई पनि संकेत गर्छ ।

टेक्टोनिक प्लेट
एमाले र माओवादीबीचको एकता दुई नदीको मिलन जस्तै छैन । दुई नदीको मिलन हुँदा संगमबाट केही तलसम्म नदी एक अर्कोमा मिसिएर एउटा बनेर जान्छ । दुवै दलबीचको एकता दुई वटा टेक्टोनिक प्लेटहरुको मिलन जस्तो छ । जसरी जमिनी सतहमा हेर्दा सबै कुरा ठिकठाकै चलेको देखिन्छ । तर एक र अर्कोबीच निरन्तर रुपमा पृथ्वीको गर्भमा घर्षण भैरहेको छ । शक्ति सञ्चय भैरहन्छ । बेलाबेलामा शक्ति बाहिर निस्कन्छ पुरै सतहमा हलचल उत्पन्न हुन्छ र कतिपय अवस्थामा विध्वंश पनि ल्याउछ । नेकपाभित्र अहिलेको यो विवादले फल्टलाइन स्पष्टसँग देखिएको छ ।

फरक स्कुलिङ
एमाले र माओवादी करिब आधा शताब्दीसम्म फरक फरक समूहमा रहेर एकीकृत भएका हुन् । उनीहरुले त्यसको आधा समय फरक फरक कार्यविधि अपनाएर आफ्नो राजनीतिलाई अघि बढाए । माओवादी सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण राजनीतिमा आएको हो । एमाले संसदीय राजनीतिबाट आएको हो । अहिले दोस्रोका केही वा तेस्रो तहमा रहेका नेताहरुले यसै समयमा आफ्नो स्थान बनाएका हुन् ।

माओवादी र एमाले करिब ५० वर्षदेखि फरक स्कुलिङबाट आएका हुन् । मोहनविक्रम सिंहले पुष्पलाल श्रेष्ठसँग २०२५ सालमा विद्रोह गरेर गठन गरेको पार्टीबाट नेकपा चौम (चौथो महाधिवेशन), नेकपा मसाल हुँदै माओवादी दस वर्षको सशस्त्र संघर्ष पछि शान्तिपूर्ण राजनीतिमा आएको हो । पुष्पलालबाट विद्रोह गरेको अर्को समूह झापाको सशस्त्र विद्रोहबाट २०२८ सालमा वर्गशत्रुको ‘सफाया’ गर्दै नेकपा माले र २०४६ सालको जनआन्दोलनपछि मनमोहन अधिकारीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गरेपछि नेपाल कम्युनिष्ट पार्टी(एमाले) भएको हो । मालेले २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनदेखि नै शान्तिपूर्ण माध्यमबाट समाजवादमा पुग्न सकिने भन्दै संसदीय राजनीति गर्दै आएको थियो । पञ्चायतकालभरि दुवैको लक्ष्य एउटै रहेको थियो । तर पनि फरक फरक धारमा उनीहरुको विकास भएको हो ।

एमालेको नेतृत्वमा देशको पूर्वी क्षेत्रको राजनीतिमा पहाडे बाहुनहरुको बाहुल्य रहेको छ । अहिलेसम्म पार्टीको मूल नेतृत्व नारायणी नदी पार गर्दै पश्चिततर्फ लाग्न सकेको छैन । त्यसैगरी माओवादीमा पूर्वका नेताहरु संख्या कम छन। नारायणी पश्चिममा उनीहरुको बाहुल्य रहेका छ । एमालेको मजबुत पकड पूर्वका पहाडी जिल्ला र देशको पूर्वी भागमा छ । २०४८ सालदेखि यताका सबै निर्वाचनहरुले यसको पुष्टी गरेको छ । पञ्चायतकालदेखि नै यसको प्रभाव त्यही क्षेत्रमा रहेको थियो । एमालेले पहिलो आम चुनावपछि मात्रै सुदुर पश्चिमसम्म संगठन निर्माण गरेको हो । त्यसको ठिक फरक माओवादीको प्रभाव क्षेत्र पश्चिम तथा मध्य पश्चिमको पहाडी क्षेत्रमा रह्यो । पूर्वका राई तथा लिम्वु जनजातिमा एमालेको पकड भए जस्तै माओवादीको मगर, गुरुङ र पश्चिम तराईका थारु छन् । फरक फरक भौगोलिक अवस्थिति, संस्कृति, चेतनाको स्तर भएका समुहको सहकार्यमा घर्षण हुनुलाई स्वभाविक मानिन्छ । नेकपाभित्र यो अलि बढी रहेको छ । त्यसैले सहकार्यको व्यवस्थापन निकै चुनौतिपूर्ण हुनेछ ।

श्रेष्ठताको दावी

वैचारिक र सांगठनिक रुपमा आफू श्रेष्ठ रहेको दावी दुवैले गर्ने गर्दछन्। नेपालमा जनवादी क्रान्ति सम्पन्न भइसकेको निष्कर्ष निकालेका एमाले र माओवादीको वैचारिक नीति समाजवादको स्थापना हो ।

नेकपा स्थायी समितिका सदस्य घनश्याम भुसालसहितका नेताहरुले एमालेको बुटबलमा सम्पन्न आठौं महाधिवेशनमा प्रस्तुत गरेको पुरक प्रतिवेदनमा नेपाली समाजको बारेमा गरेको व्याख्यालाई दुवै दलले स्वीकार गरेर अहिलेको नयाँ लक्ष्य निर्धारण गरेका हुन् । माओवादीको हेटौंडा महाधिवेशन र एमालेको नवौं महाधिवेशनले यो मतलाई पूर्ण रुपमा स्वीकार गरेका हुन । तर एमालेले अहिले पनि जनताको बहुदलीय जनवादको मोहलाई छाड्न सकेको छैन । यसले पूर्व माओवादी र पूर्व एमालेबीच फल्टलाइन बनाइ राख्नेछ ।

तत्काल अर्थात महाधिवेशनसम्मका लागि जनताको जनवाद विषयमा दुवै पक्षबीच सहमति भएपनि अध्यक्ष केपी शर्मा ओली मात्रै होइन पूर्व महासचिव ईश्वर पोखरेलसहित एमालेका पूर्व नेताहरुले यस विषयलाई उठाउदै आएका छन् । यसले माओवादीलाई झसक्क झस्काउने गरेको छ । एमाले नेताहरुले जनताको बहुदलीय जनवादलाई माओवादीले स्वीकारेको बताउने गरेका छन् । दीर्घकालीन सशस्त्र विद्रोह छाडेर शान्तिपूर्ण राजनीतिमा आएको माओवादीले २१ औ शताब्दीको जनवादलाई अपनाएको थियो । माओवादीहरु जबजको च्याप्टर क्लोज भैसकेको बताउँछन् ।

एमालेको सांगठनिक संरचना निर्माण र सञ्चालन व्यवस्थित भएपनि कार्यकर्ताहरुमा आफ्नो पक्षको जुझारुपन बढी भएको माओवादीको दावी छ । पूर्व एमालेहरुले माओवादीलाई संगठनात्मक रुपमा कमजोर भएको बताउने गरेका छन । चुनावदेखि नै माओवादी र एमालेबीच क्रमशः चालीस र साठी प्रतिशतको भागबन्डालाई प्रमुख आधार बनाएर एकीकरणलाई सम्पन्न गर्न खोजिएको छ । तर पूर्व माओवादी नेताहरुले फेसबुक, ट्विटर जस्ता सामाजिक संजालहरुमा एमालेसँग आफ्नो पार्टीको विलय नभएर समान हैसियतमा एकीकरण भएको कुरालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अभिव्यक्त गर्ने गरेका छन् ।

पूर्व एमालेभित्रको ठुलो पङ्ती पार्टी एकीकरणले आफ्नो भाग खोसिएको र चाँडै नेतृत्वको उच्चतहमा पुग्ने बाटो बन्द गरिएको ठान्छन । जसमा सबैभन्दा अग्रपङ्तीमा पूर्व महासचिव पोखरेल रहेका छन् । दुई पटक महासचिव भएका पोखरेलले एमालेभित्र आफूलाई अध्यक्ष ओलीको उत्तराधिकारीको रुपमा उभ्याउने कोसिस गर्दै आएका थिए । पोखरेल ओलीको आर्शिवादमा अध्यक्ष हुन चाहन्थे । एकीकरणको कुराले त्यो संभावनालाई करिव करिव बन्द गरिदिएको छ । पोखरेलले पाउँदै आएको महासचिव समेत खोसिएको छ । उनले बेलाबेलामा पार्टीले लिँदै आएको विषयको विरुद्धमा बोलेर पार्टीभित्र ठूलै तरग उत्पन गराउने गरेका छन् । पोखरेल उदाहरण मात्रै हुन । माओवादीसँगको एकीकरणको कारण आफू पछि परेको ठान्ने पूर्व एमाले संख्या ठूलो छ ।

नेकपाका नेताहरुले लामो समयदेखि एकीकरणको प्रयास गर्दै आएको बताए पनि यसको पहिलो उदेश्य कांग्रेसलाई प्रतिस्पर्धामा उछिन्नु रहेको छ ।

संविधान जारी गर्ने समय र भारतले गरेको नाकाबन्दी पछि अध्यक्ष ओलीको लोकप्रियता चरमचुलीमा रहेको समयमा भएको स्थानीय चुनावमा समेत एमालेले अपेक्षाकृत रुपमा मत पाउन सकेको थिएन । स्थानीय तहको चुनावमा स्थानीय तहको प्रमुखमा एमालेले जिते पनि समग्रमा अध्यक्षको मतमा कांग्रेस अगाडि थियो । देशभित्र वामपन्थीको मत अत्याधिक हुँदाहुँदै पनि चुनावमा नेपाली कांग्रेसको वर्चस्व कायम रहँदै आएको छ । यही मतको आधारमा सत्तामा पुग्नका लागि एमाले र माओवादीबीच एकीकरण भएको थियो ।

एमालेलाई प्रमुख प्रतिस्पर्धीका रूपमा रहेको कांग्रेसलाई उछिन्न माओवादीसँग गठबन्धन आवश्यक थियो । तर एमालेका नेताहरु भाग खोसिएकोमा असन्तुष्ट रहँदै आएका छन् ।

नयाँनयाँ प्रयोग गरेर शक्तिमा रहिरहने रणनीतिकार पुष्पकमल दाहालका लागि यो एकता आवश्यक थियो । तर संगठनिक एकीकरण नदेखिदै बाहिर देखिएको फल्टलाइनले आगामी दिनमा राष्ट्रिय राजनीतिमा हलचल उत्पन्न गराइ राख्ने संकेत प्रसस्त देखिन्छन् ।

टिप्पणी थप्नुहोस्